हिमालपारीको तिलगाउँमा बाढीको बितण्डा : त्रिपाल नपाएर नागरिकको बिचल्ली हुँदा पनि पुगेन राज्यको दृष्टि

सुर्खेत, ७ जेठ ।
हिम्लाको उत्तरी नाम्खा गाउँपालिका–६, स्थित तिलगाउँ राज्यको पर्खाइमा छ । गएको बिहिबार (जेठ १) स्थानीय तिल्चुङ खोलामा आएको लेदोसहितको बाढीले सिङ्गो गाउँ नै जोखिममा परेको छ । जसका कारण १९ घरपरिवार आकाशमुनिको बासमा छन् ।

बाढी आएको एक साता पुग्न लाग्दा प्रदेश र संघीय सरकार प्रभावित क्षेत्रमा नपुग्दा नागरिकहरु कष्टकर जीवन बिताउन बाध्य छन् । बाढीले तिलगाउँ जोड्ने स्थलमार्ग पूर्णरुपमा बन्द छन् । विस्थापित भएका स्थानीयहरु राहतको पर्खाइमा छन् । बाढी आएको सूचना पाए लगत्तै प्रभावित क्षेत्रमा पुगेर स्थानीयलाई ढाड्स दिइरहेका नाम्खा गाउँपालिका–६, का वडाध्यक्ष पाल्जोर तामाङले तिलगाउँ जोड्ने सडक पूर्णरुपमा बन्द हुँदा खानेपानीका पाइपसमेत ढुवानी गर्न नसकिएको बताए ।

आफूले सूचना पाए लगत्तै माथिल्ला निकायहरुमा बारम्बार राहत तथा उद्दारका लागि अनुरोध गरेको भएपनि अहिलेसम्म स्थानीयहरुले त्रिपालसमेत पाउन नसकेको उनले बताए । बाढीले हिल्सा जाने सडक भत्काउदा चीनतर्फबाट पनि राहत सामग्री ढुवानी गर्न नसकिने अवस्था रहेको उनी बताउछन् । बाढीले खानेपानीका संरचनाहरु भत्काउदा स्थानीयलाई लेदो मिसिएको पानी पिउनुपर्ने बाध्यता स्थानीयलाई छ ।

अध्यक्ष तामाङका अनुसार तत्काल बस्तीमा त्रिपाल र खानेपानीको बन्दोबस्त गर्नुपर्ने भएपनि वडा कार्यालय रहेको हल्जीबाट तिलगाउँसम्म पुरयाउने अर्को कुनै विकल्प नहुँदा समस्या उत्पन्न भएको उनले बताए । स्थानीयस्तरमा ढुवानीका लागि प्रयोग गरिने याकलाई समेत हिँडे्न बाटो नहुँदा खानेपानीका पाइप ढुवानी गर्न नसकिएको उनी बताउछन् ।

‘बाढीले तिलगाउँ जाने बाटो पूर्णरुपमा भत्काएको छ । खानेपानीका संरचनाहरु भत्किएपछि हामीले पाइपको व्यवस्थापन गर्न माग गरेका थियौं । खानेपानी कार्यालयले पाइप पठाएको छ, तर ढुवानी गर्न सकिने अवस्था छैन । अहिले पाइपहरु वडा कार्यालयमा थन्किएका छन् । मान्छेले बोकेर लैजाने अवस्था पनि छैन,’ वडाध्यक्ष तामाङले भने ।

राहतका लागि माथिल्ला निकायमा अुनुरोध गरिएको भएपनि आश्वासन मात्रै पाउने काम भएको उनले बताए । उनका अनुसार गाउँभन्दा माथि झण्डै पाँच हजार मिटरको दुरीमा रहेका दुई वटा तालहरु फुटेर बाढी आएको हो । गाउँमा एक्कासी बाढी आएपछि त्यसको कारण खोज्न वडाध्यक्ष तामाङ आफै पुगेका थिए । स्थलगत पुगेका तामाङले बरफले छोपिएका दुई ताल चिरा परेको भेटेर फर्किएका थिए ।

त्रिपालको पर्खाइमा नागरिक
स्थानीय कुण्डप फुर्वा लामाले रातभर खुला स्थानमा सुत्ने र दिउँसो घर भएको स्थानमा जाने गरेको सुनाए । उनले खुला ठाउँमा सुत्न छानो नहुँदा चिसोमा निकै समस्या झेल्नु परेको गुनासो गरे । यति मात्रै होइन उनीहरुले शुद्ध पिउने पानीसमेत खान पाएका छैनन् ।

‘बाढीले खानेपानीका स्रोतहरु सबै बगाएको छ । भएको पानीमा लेदो मिसिएको छ । गाउँ नजिकै पानी छ तर ल्याउन पाइप छैनन्,’ उनले भने । स्थानीयहरुलाई खाद्य संकटसमेत पर्ने जोखिम छ । यस क्षेत्रका नागरिकलाई हुम्ला सदरमुकामभन्दा पनि उत्तरी छिमेकी देश चीनको ताक्लाकोट पाएक पर्छ ।

यहाँका स्थानीयले यहीँ ताक्लाकोटबाट दैनिकी जोहो गर्ने गरेको उनले बताए । तर अहिले उत्तरी नाका हिल्सा हुँदै ताक्लाकोट जाने बाटो बाढीले पूर्णरुपमा बगाएको छ । यस कारण पनि आफुहरुलाई खाद्य संकट पर्ने चिन्ता रहेको कुण्डुपले सुनाए । प्रि मनसुनको समय भएकाले उनीहरुलाई अबको केही समय घरमा बस्न उपयूक्त नहुने सल्लाह दिइएको छ । ‘पानी पर्ने समय हुन थालेकाले हामीलाई अझै केही समय घरभित्र नजान भनिएको छ,’ उनले भने, ‘घर बस्न लाएक छैनन् ।

बाहिर ओत लाग्ने ठाउँ छैन ।’ स्थानीयहरुले आफुहरुसँग भएका कपडा तथा प्लाष्टिकका पाल प्रयोग गरेर जेनतेन रात गुजारेका छन् । तर ठुलो परिवार हुनेहरुलाई भने निकै समस्या भएको उनले बताए । हालसम्म राहतका नाममा आफुहरुले केही पनि नपाएको उनको गुनासो छ । तत्काल आफुहरुका लागि त्रिपाल, खानेपानी र खाद्यान्न आवश्यक रहेको उनले बताए । अहिलेसम्म गाउँपालिकाको टोली बाहेक अन्य निकाय प्रभावित क्षेत्रमा नआएको उनले सुनाए । बाढीले नागरिकको बिचल्ली हुँदा राज्य बेखबर बनेको आरोप उनको छ ।

बाढीले विस्थापित भएपछि महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकले निकै सास्ती भोग्नु परेको स्थानीयको गुनासो छ । बाढीकै कारण यहाँका नागरिकले गुम्बासमेत जान पाएका छैनन् । यो समूदायका मानिसहरु सुख, दुख जे पर्दापनि गुम्बामा गएर प्रार्थनामार्फत मन शान्त गर्ने परम्परा रहेको सुनाउछिन् लामो समयदेखि लिमि क्षेत्रलाई जलवायुजन्य संकटबाट जोगाउन पैरवी गर्दै आएकी लिमि हल्जी गाउँकी टासी ल्हान्जोम ।

‘बाढीले तिलगाउँ यातायात सेवाबाट बिच्छेद छ,’ उनले भनिन्, ‘त्यहाँका स्थानीयले बाटोकै कारण गुम्बासमेत जान पाएका छैनन् ।’ संघीय सरकारसँग प्रभावित क्षेत्रमा यथासिंघ्र राहतको बन्दोबस्त गरिदिन अनुरोध गर्दासमेत सुनुवाई नभएको उनले बताइन । ‘प्रभावित क्षेत्रमा तत्कालका लागि त्रिपालको आवश्यकता छ । यसका साथै खानेपानीका मुहानसँगै पाइपहरु बगेका छन् । खाद्यान्न संकट निम्तने खतरा उत्तीकै छ । बाटो बन्द हुँदा राहत सामग्री ढुवानी हुन सकेको छैन । संघीय सरकारले हेलिकप्टर पठाउने भनेको भएपनि अहिलेसम्म कुनै प्रक्रिया अघि बढेको छैन,’ ल्हान्जोमले भनिन् ।

उनीसहित हुम्लाबाट प्रतिनिधित्व गर्ने सांसहरुको टोलीले वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीलाई तत्काल जलवायुजन्य प्रकोपमा परेकालाई राहत उपलब्ध गराउन माग गरेका थिए । तर उक्त मागको सुनुवाई नभएको उनले बताइन । उनले सोमबार गृहमन्त्री रमेश लेखकले प्रभावित क्षेत्रका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन दिएको निर्देशनसमेत कार्यान्वयन हुन नसकेको बताइन ।

उनका अनुसार तिलगाउँमा आर्थिकरुपमा विपन्न वर्गका मानिसहरुको बसोबास छ । तिलगाउँ बाढीका पीडितलाई प्रदेश सरकारले आवश्यक राहत वितरणमा ढिलाई गरेपछि सत्ता साझेदार दल नेपाली कांग्रेस असन्तुष्ट बनेको छ । बाढीबाट उच्च जोखिममा परेका बासिन्दाको व्यवस्थापनमा प्रदेश सरकारबाट चासो र चिन्ता नहुँनु दुखद रहेको कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले नागरिकप्रतिको चरम लापरवाहीलाई गम्भीररुपमा लिएको सामाजिक सञ्जालमार्फत बताएका छन् । उनले भनेका छन्, ‘हिमपहिरोबाट प्रभावित हुम्लाको नाम्खा गाउँपालिका–६, तिलगाउँका बासिन्दाको तत्काल उद्दार गरी सुरक्षित बसोबासको व्यवस्था मिलाई थप मानविय र भौतिक क्षति हुन नदिनतर्फ सरकारको ध्यानाकर्षण गराउदछु ।’

यता हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले तिलगाउँका बाढी पीडितका लागि राहत टोली खटिसकेको दावी गरे । उनका अनुसार गाउँपालिकाको नेतृत्वमा मंगलबार नै एक टोली राहत सामाग्री बोकेर तिलगाउँ लागेको हो । ‘तत्काल आवश्यक सामग्री सहित राहत टोली खटिएको छ । तर त्यहाँ पुग्न २÷३ दिन लाग्ला । बाँकी राहत विस्तारै पठाउने तयारी छ’ उनले भने, ‘नाम्खा गाउँपालिका उपाध्यक्षको नेतृत्वमा प्राविधिकसहितको एक टोलीले त्यहाँको वस्तुस्थिती बुझेर सोमबार सदरमुकाम पुगेको छ । यसबारे थप तयारी गर्न ती वटै तहकारी सरकारसँग समन्वय भइरहेको छ ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *