बाँकेमा नयाँ मतदान केन्द्र थप, तीन स्थानान्तरण

बाँके, ५ मंसिर ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सहज, सुरक्षित र सबैका लागि पहुँचयोग्य बनाउने उद्देश्यसहित बाँकेमा निर्वाचन तयारी तीव्र बनेको छ । जिल्लाको भू–उपयोग, बसोबासको घनत्व र भौगोलिक चुनौतीलाई ध्यानमा राख्दै जिल्ला निर्वाचन कार्यालयले नयाँ मतदान केन्द्र थप गर्नुका साथै केही पुराना केन्द्रहरू स्थानान्तरण गर्ने निर्णय गरेको छ ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार यसपालि एक नयाँ मतदान केन्द्र थपिएको छ भने तीन मतदान केन्द्र स्थानान्तरण गरिएको छ ।
राप्तीसोनारी गाउँपालिका–२ अगैयाका स्थानीयलाई विगतमा शहिद स्मारक मतदान केन्द्रमा पुग्न धेरै टाढा र जोखिमपूर्ण बाटो पार गर्नुपर्ने समस्या थियो ।
चुरे क्षेत्रको असजिलो भौगोलिक अवस्था र यातायात अभावका कारण मतदानमा असर परेपछि ‘मतदान स्थल तथा मतदान कार्यविधि २०८१’ बमोजिम अगैया माविलाई नयाँ मतदान केन्द्रका रूपमा सिफारिस गरिएको शाहीले जानकारी दिए । उनले भने, “अनुगमनका क्रममा ४६३ जना मतदातालाई अत्यन्तै कठिनाइ देखिएकोले नयाँ केन्द्र सिफारिस गरिएको हो ।”
राप्तीसोनारी–२ कै लक्ष्मी माविमा रहेका दुई मतदान केन्द्रलाई यसपालि प्रावि मधुवामा सारिएको छ । यहाँका ६–७ वटै बस्तीलाई लक्ष्मी मावि टाढा र अपायक देखिएपछि स्थानान्तरण गरिएको हो । यस्तै, खजुरा गाउँपालिका–७ मा गुल्जर मदरसामा रहेको मतदान केन्द्रलाई ‘असुरक्षित’ ठहरिएपछि अमृता माविमा सारिएको शाहीले बताए ।
कोहलपुर नगरपालिका–८ र ९ का मतदाताका लागि पनि नयाँ व्यवस्था गरिएको छ । अघिल्लो निर्वाचनमा कृषि विकास बैंकमा राखिएको मतदान केन्द्र हटाई वडा नं. ८ का लागि सरस्वती मावि पिपरी र वडा नं. ९ का लागि वडा कार्यालयलाई नयाँ मतदान केन्द्र तोकिएको हो ।
२०७९ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बाँकेमा १३८ मतदान केन्द्र रहेका थिए । यसपालि एउटा थपिँदै संख्या १४० पुगेको छ । नयाँ व्यवस्था तथा स्थानान्तरणको निर्णयले आगामी निर्वाचनमा सबै मतदातालाई सहज र सुरक्षित रूपमा मतदानमा सहभागी हुन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
बाँकेमा नयाँ मतदान केन्द्र थप, तीन स्थानान्तरण

‘लेखा अधिकृतको दैनिक चुनौती: दरबन्दी नहुँदा ६

Leave a comment

Your email address will not be published. Required fields are marked *