कर्णालीको अर्थतन्त्रमा कृषि  ३१ प्रतिशत हिस्सा, उत्पादन र क्षेत्रफल भने निरन्तर ओरालो

ओम शाही
सुर्खेत, ५ मंसिर ।
कर्णालीको समग्र अर्थतन्त्रमा कृषि क्षेत्रको हिस्सा ३१ प्रतिशत छ । नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सुर्खेतले हालै सार्वजनिक गरेको कर्णालीको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) अनुसार प्रदेशको कुल ग्रार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३१.५० प्रतिशत योगदान रहदा उद्योग क्षेत्रको ९.५८ र सेवा क्षेत्रको ५८.९१ प्रतिशत योगदान छ ।
सेवा क्षेत्रपछिको कर्णालीको अर्थतन्त्रमा योगदान गर्ने कृषि क्षेत्रको उत्पादन र क्षेत्रफल भने निरन्तर ओरालो लाग्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । प्रदेश सरकारले कृषि क्षेत्रमा ठुलो लगानी गर्दै आएको जनाइएपनि तथ्यांक भने उल्टो बाटोमा छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा कर्णालीमा समग्र कृषि बालीले ढाकेको भू–क्षेत्र आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ६.०८ प्रतिशतले घटेको छ ।
सोही वर्ष प्रमुख खाद्य बालीमध्ये धान ५.११, मकै ४.१६, गहुँ ४.८६, कोदो ११.५२ र जौ १.९१ प्रतिशत क्षेत्रफलमा ह्रास आएको छ । यस्तै, तरकारी तथा बागबानी बालीले ढाकेको क्षेत्रफलमा १४.९१ प्रतिशतले ह्रास आएको छ भने फलफूल बालीले ढाकेको क्षेत्रफल २.४० प्रतिशतले वृद्धि भएको छ ।
गत वर्ष २०८१ मा कर्णालीमा समग्र कृषि बालीको उत्पादन अघिल्लो वर्षको तुलनामा ५.०१ प्रतिशतले घटेको छ । जसअन्तर्गत खाद्य, नगदे तथा अन्य बालीको उत्पादन ३.९५ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ । तथ्यांकअनुसार प्रमुख खाद्य बालीमध्ये धान १०.२५, गहुँ १७.३१, कोदो २२.९२ र जौको उत्पादन ८.५५ प्रतिशतले घट्दा मकैको उत्पादन भने ४.२४ प्रतिशतले बढेको देखिन्छ ।
आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्ममा तरकारी उत्पादन ०.८८ र फलफूल खेतीको उत्पादन ३६.४१ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । कर्णालीको कृषि क्षेत्रमा बैंक तथा वित्तिय संस्थाको लगानीसमेत न्यून छ । गतवर्ष बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जाले कुल कर्जाको ८.०२ प्रतिशत हिस्सा ओगटेको छ । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको समग्र कृषि क्षेत्रमा प्रवाहित कर्जा आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ७.७० प्रतिशतले कम हो ।
त्यस्तै, यस वर्ष कर्णाली प्रदेशमा नमूना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत छ । बिजुलीका तार र केबल उत्पादन सम्बन्धी उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९०.० प्रतिशत छ भने, गलैंचा उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम २३.०८ प्रतिशत छ । समीक्षा वर्षमा औद्योगिक कर्जा २०८० कोे तुलनामा १.९४ प्रतिशतले कमी आएको छ । कर्णाली प्रदेशमा प्रवाह भएको समग्र कर्जाको ६.५० प्रतिशत हिस्सा औद्योगिक कर्जाले ओगटेको छ ।
त्यस्तै, सेवा क्षेत्र अन्तर्गत आर्थिक वर्ष २०८१/०८२मा कर्णाली भित्रिने पर्यटकको संख्या १.७२ प्रतिशतले वृद्धि भएको छ । भारत र चीनबाट भित्रिने पर्यटकको संख्या क्रमशः २३.८५ प्रतिशत र २५.७७ प्रतिशतले कमी आएको छ, भने तेस्रो मुलुकबाट भित्रिने पर्यटकको संख्या ९.१३ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक बृद्धि दर चार प्रतिशत हुने अनुमान
आर्थिक वर्ष २०८१/०८२ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर (उपभोक्ताको मूल्यमा) ४.७४ प्रतिशत रहने प्रारम्भिक अनुमान राष्ट्र बैंकको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/०८२ मा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन (उपभोक्ताको मूल्यमा) दुई खर्ब ५६ अर्ब पुग्ने अनुमान छ ।
त्यस्तै, राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कर्णालीको योगदान ४.१९ प्रतिशत रहने प्रारम्भिक अनुमान राष्ट्र बैंकको छ । आर्थिक वर्ष २०८०/८१ मा यस्तो योगदान ४.२९ प्रतिशत रहने संशोधित अनुमान थियो । यसवर्ष मुलुकको समग्र कृषि, उद्योग र सेवा क्षेत्रमा कर्णाली प्रदेशको योगदान क्रमशः ५.२४ प्रतिशत, ३.१३ प्रतिशत र ३.९८ प्रतिशत रहने प्रारम्भिक अनुमान राष्ट्र बैंकले गरेको छ ।
यस वर्ष समयमै धान रोपाइँ भएको, अन्य वर्षे बालीको समयमा पनि मौसम अनुकुलता भएको, आन्तरिक पर्यटनको प्रवद्र्धन भएको, वित्तीय सेवा, वित्तीय पहुँच, डिजिटल भुक्तानी, शिक्षा, स्वास्थ्य, यातायात र सञ्चार क्षेत्रमा क्रमश सुधार हुँदै गएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, रणनीतिक महत्वका सडकहरु विस्तार भइरहेको, सँगसँगै विद्युत प्रसारण लाइन निर्माण, पर्यटन पूर्वाधारको निर्माण, भूकम्प पुनःनिर्माणका कार्य, यातायात, पर्यटन, कृषि, ऊर्जा, सूचना प्रविधि र खानेपानीसँग सम्बन्धित पूर्वाधारहरुको निर्माण भईरहेकोले आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशको समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्नसक्ने राष्ट्र बैंकको प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।
कर्णालीको अर्थतन्त्रमा कृषि  ३१ प्रतिशत हिस्सा, उत्पादन र क्षेत्रफल भने निरन्तर ओरालो

जेनजी प्रदर्शनका क्रममा आगजनी गर्नेलाई मुद्दा दर्ता

कर्णालीको अर्थतन्त्रमा कृषि  ३१ प्रतिशत हिस्सा, उत्पादन र क्षेत्रफल भने निरन्तर ओरालो

बाँकेमा नयाँ मतदान केन्द्र थप, तीन स्थानान्तरण

Leave a comment

Your email address will not be published. Required fields are marked *