सम्पादकीय : अतिरिक्त समयमा आम्दानी

सुर्खेतको पूर्वी क्षेत्रमा अवस्थित चिंगाड गाउँपालिकाका कर्मचारीहरू आफ्नो दैनिक कार्य समय सकिएपछि कृषिकर्ममा संलग्न हुदै आएका छन् । सामान्यतया कार्यालयको काम बिहान १० बजेदेखि साझ ५ बजेसम्म चल्छ । तर उनीहरूले कार्यालयको समयपछि कृषि कर्ममा हात हालेर एक नयाँ उद्यम सुरु गरेका छन् । कर्मचारीहरू मिलेर स्थानीय जमिन भाडामा लिएका छन् । जुन जमीनलाई उनीहरुले तरकारी खेतीबाट हराभरा बनाएका छन् ।
यसले उनीहरूको जीवनस्तर सुधार्न मद्दत पुर्याउनुका साथै स्थानीय समुदायका लागि रोजगारीको अवसर पनि सिर्जना गरेको छ । कर्मचारीहरूको यस्तो पहलले कृषिको महत्व र उत्पादनशील गतिविधिहरूमा सघाउ पु¥याएको छ । तरकारी खेतीमा संलग्न कर्मचारीहरू विभिन्न स्थानबाट आएका छन् । उनीहरू सबै मिलेर यो उद्यम गर्दैछन् । यस किसिमको सहकार्यले कार्यालयका कामकाजी कर्मचारीहरूलाई एउटा नयाँ दृष्टिकोण र समर्पणको भावना दिएको छ । उनीहरुले सुरु गरेको कृषिकर्म देखाउन नभई कर्णालीका अन्य पालिकाले पनि अनुसरण गर्न लायक छ ।
कार्यालय समयपछिको फुर्सिदिलो समयमा उनीहरुले थालेको कृषिकर्मलाई सबै पालिकामा विस्तार गर्न सकिएको खण्डमा स्थानीस्तरमा पनि कृषि क्षेत्रमा लाग्न चाहनेहरुका लागि प्रेरणा बन्न सक्छ । यसले उर्जावान उमेर सरकारी नौकरीमा बिताएका कर्मचारीलाई अवकाशपछि पनि सक्रिय रहन मद्दत पु¥याउनेमा दुई मत छैन । नेपालको सन्दर्भमा अवकाशपछिको जीवनमा प्राय सरकारी कर्मचारीहरु आर्थिक उपार्जन तथा उत्पादकत्वका क्षेत्रमा कमै जोडिने सन्दर्भमा अवकाशपूर्वको कृषिकर्मले परिवार, समाज तथा विद्यालय तहमा राम्रो प्रभाव पार्न सक्छ ।
समाजको समुन्नतिको मेरुदण्ड राष्ट्रसेवक कर्मचारीहरू हुन् । उनीहरूलाई नियमित जिम्मेवारी बाहेक पनि समाजोपयोगी र उत्पादनमुखी कार्यमा संलग्न गराउन सकिन्छ । कर्णालीको सन्दर्भमा यहाँको कृषिमा आधारित अर्थतन्त्र छ र आयातमा निर्भरता दिनानुदिन बढ्दो छ । त्यस्तो अवस्थामा राज्यका कर्मचारीलाई उनीहरूको अतिरिक्त समयमा कृषि उत्पादनजस्ता रचनात्मक काममा संलग्न गराउने नीति र प्रवृत्तिको विकास गर्नु सके यस्तो समस्याको हल हुन सक्छ ।
कर्मचारीहरू प्रायः निश्चित समयभित्र कार्यालयीय काममा सीमित रहने गर्दछन् । बाँकी समय भनेजति उपयोग भएको पाइँदैन । यदि उनीहरूको अतिरिक्त समयमा स्वेच्छिक रूपमा कृषि उत्पादन, घरेलु उद्योग वा सीप विकासजस्ता क्षेत्रमा संलग्न गरियो भने देशको उत्पादन वृद्धिसँगै उनीहरूको जीवनशैलीमा पनि सकारात्मक परिवर्तन आउन सक्छ ।
यसले आत्मनिर्भरता, कार्यप्रेरणा र सामाजिक उत्तरदायित्वको भावना समेत बढाउँछ । यसमा बढी स्थानीय तहका कर्मचारीलाई जोड्न सकिन्छ । विशेषगरी कृषि क्षेत्रमा दक्ष जनशक्तिको खाँचो छ । कर्मचारीहरूको बौद्धिक क्षमता र व्यवस्थापन सीपले कृषि प्रणालीमा नविनता ल्याउन सकिन्छ । कार्यालय समयपछि थोरै समय तरकारी खेती, फलफूल उत्पादन, मत्स्यपालन वा पशुपालनमा लगानी गर्न सकिने प्रसस्त आधारहरु हामीसँग छन् । यस्तो अभ्यासले सहरमा पनि ‘शहरी कृषि’ को विस्तार र रोजगारीको वैकल्पिक सम्भावना सिर्जना हुन सक्ने सम्भावना ठुलो छ ।
यसका लागि सरकारले प्रारम्भिक प्रशिक्षण, आवश्यक प्राविधिक सहयोग, सहुलियत ऋण र कानुनी स्पष्टताजस्ता पूर्वाधार तयार गरिदिनु पर्दछ । साथै, कर्मचारीहरूलाई प्रेरणा दिन तिनको रचनात्मक प्रयासको मूल्यांकन तथा सम्मान गर्ने नीति लिन सकिन्छ । सिर्जनशीलता, उत्पादनशीलता र समर्पण राष्ट्रिय विकासका आधारशिला हुन् । कर्मचारीहरूलाई अतिरिक्त समयमा कृषि र उत्पादनमूलक क्षेत्रमा आकर्षित गरिनु भनेको देशलाई आत्मनिर्भरता र समृद्धिको यात्रातर्फ डोरयाउनु हो । यस्तो सोच नीति निर्माणदेखि व्यवहारिक कार्यान्वयनसम्म पु¥याउन सकिएमा सरकारी सेवा क्षेत्र एक अभिनव उदाहरण बन्न सक्छ ।






