जुम्लामा स्याउ बोर्ड गठन हुने: कृषि मन्त्री शाह

गोल्डेन बुढा
जुम्ला ,३ मंसिर ।
जुम्लामा मंसिर महिनाको चिसो हावा र हल्का सूर्यको उज्यालोबीच करिडोर कार्यालयको फराकिलो हलमा उत्साह र अपेक्षाको मिश्रण देखिन्थ्यो। कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विनोद कुमार शाहले रिबन काट्दै उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम (RHVAP) को उद्घाटन गरे, र यससँगै कर्णालीको कृषि भविष्य नयाँ दिशा तर्फ अघि बढ्ने संकेत पाए।

कर्णाली, जहाँ परम्परागत खेतीपाती कठिन र सीमित साधनमा निर्भर छ, अब उच्च मूल्य उत्पादनको केन्द्र बन्ने बाटोमा छ। मन्त्री शाहले यस अवसरमा भने, “कर्णालीमा कृषि सम्भावना अपार छ। तर नीति मात्र पर्याप्त छैन। सहकार्य, जिम्मेवारी र स्थानीय तहको सक्रियताले मात्र नयाँ कृषि युग सुरू गर्न सक्छ।” उनका शब्दमा स्पष्ट थियो, कि अब नीति र योजना मात्र होइन, स्थानीय स्तरमा क्रियान्वयन नै मुख्य भूमिका खेल्नेछ। स्याउ विकास बोर्डको मुख्य कार्यालय जुम्लामै स्थापनाको आश्वासन दिए।
स्याउ उत्पादनलाई कर्णालीको अन्तर्राष्ट्रिय ब्रान्डमा उकास्ने योजनाबारे संकेत गरे। यस्तै प्रदेशसभा सदस्य देवेन्द्र बहादुर शाहीले RHVAPलाई कर्णालीको दीर्घकालीन कृषि पहिचान निर्माण गर्ने प्लेटफर्मको रूपमा स्वागत गरे। “अब हाम्रो स्याउ र अन्य मौलिक उत्पादनले बजारलाई बोलाउने दिन टाढा छैन,” उनले भने। उनले स्याउ विकास बोर्डलाई तत्काल सक्रिय बनाइ उत्पादनदेखि बजारसम्मको सम्पूर्ण चक्र व्यवस्थित गर्न आग्रह गरे।करिडोर कार्यालयका प्रमुख सन्तोष भारतीका अनुसार परियोजना प्रारम्भिक चरणमा चन्दननाथ नगरपालिका र पाँच गाउँपालिकामा लागू हुनेछ। उत्पादन भ्यालु चेन विकास, आधुनिक प्रविधि हस्तान्तरण, किसान समूह सुदृढीकरण र बजार पहुँच विस्तार परियोजनाका मुख्य आधार हुन्। प्रारम्भिक चरणमा जिल्लाभर अभिमुखीकरण र तालिम कार्यक्रम सञ्चालन हुने तयारी छ।स्थानीय किसान गाेपाल राेकाया, जसले स–साना तरकारी खेती गर्दै आएका छन्, उत्साहित देखिन्थे। “हामीले अब हाम्रो उत्पादन केवल उपभोगका लागि नभई व्यवसायिक रूपमा अगाडि बढाउने अवसर पाउनेछौं,” उनले भने। यही उत्साह RHVAP मार्फत हजारौं किसान र युवा उद्यमीमा फैलिने अपेक्षा गरिएको छ।परियोजनाले जैविक तरकारी, उच्च गुणस्तरका स्याउ, अर्गानिक फलफूल, दुग्ध तथा पशुपालन क्षेत्रमा आधुनिकीकरण, प्रशोधन, भण्डारण र बजार पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

यसले किसानको आय वृद्धि मात्र नभई युवाका लागि गाउँमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्नेछ।विशेषज्ञहरूले RHVAPलाई कर्णालीको दीर्घकालीन आर्थिक रूपान्तरणको ‘इन्जिन’ ठहर गरेका छन्। लामो समयदेखि कृषिमा निराशा व्याप्त प्रदेशमा यस कार्यक्रमले आशावादको नयाँ सन्देश दिएको छ।कर्णालीको परम्परागत कृषि प्रणालीलाई व्यवसायिक र प्रतिस्पर्धी प्रणालीमा रूपान्तरण गर्ने यो प्रयास केवल योजना मात्र होइन, स्थानीय किसान, सहकारी, निजी क्षेत्र र सरकारी संयन्त्रको साझा सपना पनि हो। जुम्लाबाट सुरु भएको यात्रा सात वर्षभित्र कर्णालीलाई उच्च मूल्य कृषि उत्पादनको राष्ट्रिय हबको रूपमा स्थापित गर्ने लक्ष्यमा केन्द्रित छ।जसरी पहाडका कठोर भू–भागमा छिटो बढ्ने नदीहरू नयाँ बाटो बनाउँछन्, RHVAP पनि कर्णालीको कृषि भविष्यमा नयाँ मार्गनिर्देशन गर्ने विश्वास लिएको छ।उद्यमशीलता, उत्पादन र समृद्धिको मिश्रित धारा लिएर।





