हराउँदै ऐतिहासिक देवल : जुम्लाको मौन इतिहास

काली बहादुर परियार
जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गाबाट करिब दुई घण्टाको यात्रा गरेपछि गुठिचौर गाउँपालिका–३ हरिवाडा पुगिन्छ। सडक चौडा छ तर हिलाम्य उत्तिकै छ , सडकको कामगर्ने हरु काम गर्दै गरिरहेका छन जे भए पनि रमणीय छ। पाखा पाखामा हरियो लहरे मकै उभिएका छन्, खेतका गरामा धान लहराइरहेका छन्। बर्खे भेलले खोलाको सुस्साहट घन्किदो छ ।
तर, त्यो रमाइलो प्रकृति भन्दा केही पन्छिएर गाउँको एक कुनामा पुग्दा दृश्य अचानक बदलिन्छ। पुराना देवलहरुले आकर्षण गर्छ , नजर उतै लगाउन्छु शान्त, मौन र अलिक अचम्म लाग्ने संरचनाहरू ढुङ्गाले बनेका, अघिल्ला पुस्ताको पसिना बोकेका, सयौं वर्ष पुराना देवल
यी संरचना केवल ढुङ्गाका थुप्रा होइनन्, इतिहासका मौन साक्षी हुन्। तर दुर्भाग्यवश, समय सँगै जीर्ण हुँदै गएका छन् ।
गाउँका ज्येष्ठ बासिन्दाहरू भन्छन । यी देवल पाण्डवले नै बनाएका हुन् । महाभारतकालमा पाण्डवका पाँच दाजुभाइले वनवासमा यात्रा गर्दा यहाँ आएको र यहीँ बास बसेर धर्मस्थल निर्माण गरेको किंवदन्ती सुनाइन्छ ।
पुरानो पुस्ताले अझै गर्वसाथ सुनाउँछ “पाण्डवको पाइला टेकेकै ठाउँ हो हाम्रो गाउँ।”
भनाइ कति ऐतिहासिक छ भन्ने अझै अनुसन्धान आवश्यक छ, तर विश्वासले समाजलाई बाँधेको छ । धार्मिक दृष्टिले मात्र होइन, सांस्कृतिक पहिचानको रूपमा पनि यी देवल स्थानीयको गर्व हुन् ।
कुरा सुने पछि नजिक जान झन कौतुहलता जाग्यो , गएर हेर्दा देवलका ढुङ्गामा कलात्मक आकृतिहरु देखिन्छन् । कुँदिएका देवीदेवताका प्रतिमा, ज्यामितीय आकार, ढोकाको चौकटमा गरिएको बुट्टा सबै पुरातन शैलीका उत्कृष्ट नमुना देखिए ।
यी संरचना केवल पूजा–अर्चनाका थलो नभई पुरातात्त्विक धरोहर हुन् भन्ने प्रमाण यिनै आकृतिहरूले दिन्छन । वास्तुकलाको दृष्टिले हेर्दा, ढुङ्गा काटेर जोड्ने सीप आजको प्रविधिले पनि सजिलै नक्कल गर्न नसक्ने किसिमको छ।
तर, देवलको हालको अवस्था पीडादायी छ । कतै ढुङ्गामा चिरा परेको छ, कतै माथिल्लो भाग झरेर हराइसकेको छ। केही वर्षमै बाँकी भाग समेत खसेर ढुङ्गाको थुप्रोमा परिणत हुने खतरा स्पष्ट देखिन्छ।
गाउँकै जग्गादाता भिम बहादुर भण्डारी भन्छन्
“सदरमुकामदेखि यहाँ पुग्न सजिलो बाटो छ, पर्यटक सहजै आउन सक्छन् । तर कसैको आँखा परेको छैन । न स्थानीय सरकार न पुरातत्त्व विभाग, कसैलाई वास्ता छैन।”
युवाहरू अझ चनाखो देखिन्छन् । राजबिक्रम रावल सामाजिक सञ्जालमार्फत निरन्तर लेखिरहेका छन् । उनको भनाइ छ “पूर्ण पुनर्निर्माण आवश्यक छैन, तर मर्मत सम्भार र घेरबार मात्रै भए पनि सम्पदा सुरक्षित हुन्छ । संरक्षण भयो भने यसबाट पर्यटन व्यवसायमा ठूलो फाइदा हुन्छ।”
अर्का स्थानीय टक्क भण्डारी थप्छन्
“माथिको ढुङ्गाका भागहरु दुई–तीन वर्षदेखि गायब छन । छालाको डलर पनि हराइसकेका छन । यसरी त बिस्तारै सम्पूर्ण संरचना नै हराउँछ।”
यी भनाइहरूले देखाउँछन सम्पदा केवल समयले मात्र होइन, मानिसको लापरबाही र बेवास्ताले पनि हराउँदै गएको हो।
यो समस्या हरिवाडामा मात्र सीमित छैन। गुठिचौर–३ गर्ज्याङ्गकोट, वडा नम्बर ४ दशौंदीमा रहेका अन्य पाण्डव कालीन देवल पनि उस्तै संकटमा छन् । सबैमा समान कथा—उपेक्षा, जीर्णता र हराउँदै गएको गौरव छ त्यस तर्फ ध्यान दिन सकिरहेको छैन ।
स्थानीयको विश्वास छ यदि संरक्षण भयो भने यी देवल पर्यटनको प्रमुख गन्तव्य बन्न सक्छन्।
ढुङ्गामा कुँदिएको कला, पुरातात्त्विक महत्व र धार्मिक विश्वास ले विदेशी पर्यटक आकर्षित गर्न सक्ने शक्ति राख्छ ।
यसलाई तिर्थ पर्यटन अर्थात धार्मिक पर्यटन सँग पनि जोड्न सकिन्छ। जुम्लाको धार्मिक तथा सांस्कृतिक मार्गचित्रमा यी देवललाई केन्द्र बनाइए पर्यटन व्यवसायमा ठूलो सम्भावना रहेको स्थानीयहरू बताउँछन् ।
तर, यतिबेला स्थानीय सरकार मौन छ । न स्थानीय तह सक्रिय छ, न पुरातत्त्व विभागले प्राथमिकतामा राखेको छ , न केन्द्रिय सरकारको दृस्टी पुगेको छ ।
भित्तामा चिरा पर्न थालेका छन्, ढुङ्गा खस्न थालेका छन्, र सबैभन्दा ठूलो कुरा स्थानीय मानिसहरुको मानस पटलमा यसको गौरब बारे बिश्वास हराउन थालेको छ ।
गुठिचौरका यी देवल केवल ढुङ्गा मात्र होइनन्, जुम्लाको इतिहास, संस्कार र पहिचान बोकेका स्मारक हुन्। तर यदि संरक्षण भएन भने, केही वर्षपछि यहाँका मानिसहरूले केवल ढुङ्गाका टुक्रा देखाउँदै भन्नुपर्नेछ—“यतै कतै देवल थियो रे!” समय अझै छ यी देवल संरक्षणमा स्थानीय समुदाय , सरकार र पुरातत्त्व बुभागको बेलैमा ध्यान जान आबश्यक छ ।






