साउने संक्रान्तिमा कर्णालीवासीले घरदैलोमा राँको बालेर लुताे फाले!

गाेल्डेन बुढा

जुम्ला,१ साउन

साउन १ गते अर्थात साउने सक्रान्ति विहीबार जुम्लाका घर-घरमा राँको बालेर मनाइने प्रचलन छ।प्रत्येक घरको छतमा राँको बालेर एक -आपसमा गाली गरेर मनाइने यो चलन अहिलेसम्म कायमै छ । लुतो फाल्ने दिनको रुपमा चिनिने साउने संक्रान्तिमा बिहानै नुवाई धुवाई गरि शरीरमा तेल लगाएर सरसफाई गरिन्छ।धान रोपाईको काम सकिएको अवसरमा जुम्लाका किसानहरुले साउने संक्रान्ति मनाउने गर्दछन।महिना भरी हिलोमा बसेर खेतिपाती गर्नु पर्दा शरीर चिलाउने, खटिरा तथा लुतो आदी आउन सक्ने भएकोले जीउलाई सफा सुग्घर गरी लुतो फाल्ने गरिन्छ।गाउँघरमा आजको दिन अगेनामा कुरीलो र तितेपानी सल्काएर अगेनाबाट एउटा अगुल्टो झिकेर चारै दिशा घुमाउने, लुतो लैजाउ भनि अगुल्टो फयाक्ने गरिन्छ ।

आगोको राकाँ बाल्ने बित्तिकै ठूलो स्वरले घरका सबै परिवारहरुले कराउने छिमेकी गाउँलाई गाली गर्ने चलन पनि छ। साझ लुतो फालिसकेपछि जीउमा घाउ खटिरा आएको छ,भने कुकुरडाइनो जलाएर त्यसको मलम बनाएर लगाउने गरिन्छ । साउन १ गतेकै दिन सूर्यको गति दक्षिण तिर हुने भएकोले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ । छोरी चेलीहरु पोइली घरबाट माइती घरमा आई मिठाेमिठो परिकार बनाएर खाने गरिएको सँस्कृति सम्बन्धी जानकार रमानन्द आचार्य बताउँछन।

साउनमा मासु खानु हुन्न भन्ने परम्परागत चलनलाई तोड्दै अहिले यो संक्रान्तिका अवसरमा मासुको प्रयोग बढी भइरहेको पाइएको छ । दुध, दही खानु पर्छ भन्ने जनविश्वास छ ।घरको ओटालो तथा छतमा लिपपोत गरी राँको हालिन्छ । गाउँमा रहेको रोग व्याधी सबै हटुन भन्नका लागि नजिकैको छिमेकी गाउँलाई गालि गर्ने चलन रहिआएको मानिन्छ।राँको लिएर दोबाटो र चौबाटोमा फयाक्ने गरिन्छ । दिदी बहिनीहरु एकै थलोमा जम्मा भएर स्थानीय देउडा गीत गाउने र रमाइलो गर्ने गर्दछन ।

देउडा खेल्ने ठाउँबवाटै फुलपाती ल्याएर राँको तयार गर्ने र शंख र घण्टा बजाएर लुतो फाँलिदै आएको आचार्य बताउँछन । साउन १ गते यो क्षेत्रमा स्थानीय विदा समेत गर्ने चलन रहि आएकोमा यस वर्ष कर्णाली प्रदेश सरकारले राजपत्र अनुसार साउन १ गते बिदा दिएको थियो। नेपाली भाषाको उद्गम स्थल सिंजा सहित जिल्लाभरी राँको बालेर साउने सक्रान्ति मनाइएको छ।

जुम्लामा परम्परागत रुपमा यो संस्कृतिले एक फरक सभ्यता र उदाहरण स्थापित गर्दै आएको छ।करिब १ घण्टा गाउँका बस्तीहरु झलमलिएका थिए । राँको बाल्ने चलन कर्णालीमा अधिक छ, रमाइलोका साथ साउने संक्रान्ति मनाइन्छ उनले भने । आजकै दिन हनुमानले लंका जलाएको संझनामा राँको बाल्ने चलन रहेको एक तर्फका विद्धानहरूको भनाई छ,भने अर्को तर्फ राँको फाल्ने चलनलाई खस संस्कृतिको उपज हो र खसान क्षेत्रका मानिसहरुले कालो साउनमा केही पनि नहोस भन्नका लागि गरिदै आएको संस्कार हो, भन्ने तर्क पनि गरेको पाइन्छ ।

साउने संक्रान्ति मनाउने बारेमा खानपानमा परिवर्तन आएको भएपनि खासै परिवर्तन आएको छैन । साउनको पवित्र महिनामा दुध दही खानु पर्छ, साउन महिनामा बढी वर्षा हुने र शुद्ध पानी नपाइने भएकोले रोग व्याधीले नछोउन भन्ने कामनाका साथ यो संक्रान्ति मनाइन्छ । साउन महिना भरी पावर्तीले व्रत बसी महादेव पति पाएकोले हिन्दु महिलाहरुको लागि यो महिना पवित्र मानिन्छ। यसैले यस महिना भरी खास गरी विवाहिता महिलाहरुले आफ्नो परिवारको सु स्वास्थ्य, दिर्घायु, र सुख सम्वृद्धिको कामना गर्दै महादेवको व्रत, उपासना, आराधाना गर्ने गर्दछन् । यस पर्वमा उनीहरु हरियो पोते, हरियो नै चुरा र रातो लुगामा सजिएका हुन्छन।जुम्ला सदरमुकाममा नयाँ आधुनिक घरहरु निर्माण भएका कारण टिन र सिमेन्टको छत भएका घरहरुले आँगन र बाटोमा राँको बाल्ने चलनको निरन्तरता पछिल्लो पुस्ताले दिदै आएको छ।

जुम्ला लगायत कर्णालीका अन्य जिल्लामा असारे वर्षात्, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वास छ।विवाहित महिलाहरू आजदेखि साउन महिनाभर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्दछन् । महिलाहरुले हरियो चुरा तथा मेहेन्दी लगाएर साउन महिनालाई पर्वकै रूपमा मनाउँछन् । साउन महिना लागे देखि हिन्दु धर्मका चाडपर्वको लहरसमेत सुरु हुने गर्दछ।

साउने संक्रान्तिमा कर्णालीवासीले घरदैलोमा राँको बालेर लुताे फाले!

उच्च अदालत नेपालगञ्ज इजलासबाट ७५.७४ प्रतिशत मुद्दा

Leave a comment

Your email address will not be published. Required fields are marked *