दिगो फोहोर व्यवस्थापनका लागि नेपालगन्जमा सरोकारवालाबीच वृहत् छलफल, सामूहिक सहकार्यमा जोड

नेपालगञ्ज,९ साउन ।

नेपालगञ्ज उपमहानगरपालिकामा दिगो फोहोर व्यवस्थापनको लक्ष्यसहित विभिन्न सरकारी तथा गैरसरकारी निकाय, व्यवसायिक संघ–संस्था र नागरिक समाजका प्रतिनिधिबीच वृहत् छलफल सम्पन्न भएको छ।
बास नेपालको आयोजनामा ‘स्थानीय नेतृत्व र नागरिक संलग्नता’ विषयक कार्यक्रमअन्तर्गत आयोजित छलफलमा नेपालगञ्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापनलाई दीर्घकालीन, प्रभावकारी र दिगो बनाउने उपायबारे व्यापक विमर्श गरिएको हो।
कार्यक्रममा यातायात व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज उपमहानगरपालिका समिति, होटल व्यवसायी संघ, गैरसरकारी संस्था महासंघलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारी निकाय, निजी क्षेत्र र समुदायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको धारणा राखेका थिए।


कार्यक्रमका प्रमुख अतिथि तथा पूर्व प्रतिनिधिसभा सदस्य डा. धवल शम्शेर राणाले आफू नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख रहँदा फोहोर व्यवस्थापन र प्लास्टिकमुक्त नेपालगञ्ज अभियानलाई योजनाबद्ध रूपमा अघि बढाएको स्मरण गर्नुभयो। विभिन्न कारणले ती प्रयासले अपेक्षित सफलता हासिल गर्न नसकेको उल्लेख गर्दै उहाँले त्यसप्रति चिन्ता व्यक्त गर्नुभयो।
उहाँले हाल द कोका–कोला फाउन्डेसनको सहयोगमा नेपालगञ्जमा दिगो फोहोर व्यवस्थापनसम्बन्धी अभियान पुनः सुरु भएकोमा खुसी व्यक्त गर्दै यसको सफल कार्यान्वयनका लागि सबै सरोकारवाला निकाय र नागरिकलाई सक्रिय सहयोग गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा वातावरणविद् हरिप्रसाद सुवेदीले फोहोर व्यवस्थापनसम्बन्धी प्रस्तुतीकरण गर्दै फोहोर व्यवस्थापनको दिगो समाधान पूर्वाधारभन्दा बढी नागरिकको व्यवहार परिवर्तनमा निर्भर रहने बताउनुभयो। उहाँले व्यक्तिमा सरसफाइप्रति जिम्मेवार बानीको विकास नभएसम्म फोहोर व्यवस्थापन प्रभावकारी हुन नसक्ने उल्लेख गर्दै व्यवहारिक अभ्यास र अन्तरक्रियात्मक खेलमार्फत सहभागीहरूलाई सचेत गराउनुभएको थियो।
छलफलका क्रममा यातायात व्यवसायी संघ, होटल व्यवसायी संघ, गैरसरकारी संस्था महासंघलगायतका प्रतिनिधिहरूले नेपालगञ्जलाई स्वच्छ र सफा सहर बनाउने अभियानमा आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
बासका परियोजना अधिकृत रबिन्द्र बोहराले सञ्चालन गर्नुभएको कार्यक्रममा बासका निर्देशक हेमराज भट्टले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो।
‘हरित नेपालगञ्ज सामुदायिक फोहोर रूपान्तरण परियोजना’ अन्तर्गत आयोजित कार्यक्रमको समापन बासका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माले गर्नुभएको थियो। उहाँले दिगो फोहोर व्यवस्थापनका लागि स्थानीय सरकार, निजी क्षेत्र, नागरिक समाज र आम नागरिकबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउन यस्ता संवादले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

दिगो फोहोर व्यवस्थापनका लागि नेपालगन्जमा सरोकारवालाबीच वृहत् छलफल, सामूहिक सहकार्यमा जोड

पुनः खुल्यो अवरुद्ध: कर्णाली राजमार्ग

दिगो फोहोर व्यवस्थापनका लागि नेपालगन्जमा सरोकारवालाबीच वृहत् छलफल, सामूहिक सहकार्यमा जोड

घुयँत्राे:”जनताले भोट दिए सरकार बनाउन, नेताले खोजे

Leave a comment

Your email address will not be published. Required fields are marked *