सम्पादकीय : भारतमा लुटपाट गर्नेलाई उन्मुक्ति किन ?

नेपालबाट भारतका विभिन्न शहरमा नेपालीहरु पछिल्लो समय ठुला चोरीका घटनामा संलग्न हुनेक्रम बढ्न थालेको छ । रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरहरुमा जाने र रोजगारदातालाई विश्वासमा पारेर उनीहरुको सम्पत्ती उठाएर नेपाल छिर्ने युवाहरुका कारण भारतमा नेपालीको छबि धुमिँलिदै मात्र गएको छैन, यसले रोजगारीका लागि उपयुक्त मानिएका भारतीय प्रमुख सहरहरुमा नेपालीहरुलाई दिर्घकालिन रुपमै बन्देज लाग्न सक्ने जोखिम निम्त्याएको छ ।
यति मात्रै होइन उनीहरुकै कारण रोजगारीका लागि भारतका विभिन्न शहरमा पुगेका सोझा नेपालीले भारतीय प्रहरीको ज्यादती भोग्न बाध्य भइरहेका छन् । विशेष गरी पछिल्लो समय कर्णाली तथा सुदुरपश्चिम प्रदेशका युवाहरुको प्रमुख रोजगारीको गन्तव्य भारतको कर्नाटक राज्यस्थित बंैगलोर र तेलङ्गगना राज्यको हैदराबाद, हरियाणा लगायतका शहर बनेका छन् । होटल तथा घरेलु कामदारको माग उच्च रहेका यी शहर नेपालीका लागि दिल्ली र मुम्बईपछि रोजगारीका मुख्य गन्तव्य हुन् । विगतमा भारतको मुम्बई र नयाँ दिल्ली प्रमुख गन्तव्य हुने यहाँका युवाहरु पछिल्लो सयम परिवारसहित यी शहरमा जानेक्रम बढ्दै गएको छ ।
तर रोजगारी गर्न जाने सोझासाझा नेपाली भने पछिल्लो समय बदनियत भएका युवाका कारण कुकुरले नपाएको दुख पाइरहेका छन् । बैंगलोरमा कामको खोजीमा जाने युवाहरु बढेसँगै चोरी र गलत मनासाय लिएर त्यहाँ पुग्ने युवाका कारण सोझासाझाले भारतीय प्रहरीबाट अनावश्यक झमेला व्यहोर्नु अवस्था छ । विगतमा बदमासहरुले दिल्ली र मुम्बईमा पनि यस्तै चोरी, बदमासीका काम गर्दा साधारण नेपालीले निकै दुख पाउने गरेको बताइन्छ ।
सुरुमा साहुँको विश्वास जित्ने र योजनावद्ध तरिकाले सम्पत्ती चोरेर नेपाल फर्किने चोर युवाका कारण भारतीय श्रम बाजारबाट नेपाली श्रमिक लखेटिने अवस्था सिर्जना हुने जोखिम बढेको छ । चोरीमा संलग्न व्यक्तिसँग सामान्य चिनजान भएको अवस्थामा पनि उनीहरुका बारेमा सुराक दिन भारतीय प्रहरीले निकै शारिरिक यातनासँगै दुख दिने गरेको छ । भारतमा हुने चोरीमा दैलेख, कालिकोट र अछाम जिल्ला युवाहरु बढी संलग्न हुँदै आएका छन् । भारतमा चोरी गर्ने कार्यमा संलग्न हुनेलाई नेपालमा कारवाही हुने कुनै व्यवस्था छैन ।
अर्कोतर्फ चोरीमा संलग्न भएकाहरु नेपाल प्रवेश गरिसकेपछि नेपालको कानूनले उनीहरुलाई भारत लैजान दिँदैन । यसकारण पनि तिनै व्यक्तिहरुबाट बारम्बार चोरीका घटना दोहोरिँदै जाँदा यसले दीर्घकालिन रुपमा नेपाल–भारत सम्बन्धमै ठुलो असर पु¥याउने निश्चित छ । भारतबाट चोरी वा लुटपाट भएको जानकारी आए गृह मन्त्रालय वा राजदुतावासमार्फत सामाग्री फिर्ता हुने तर संलग्न व्यक्तिमाथी कानूनीरुपमा कुनै कारवाही नहुने व्यवस्थाले बदनियत भएका व्यक्तिहरु अपराधिक कार्यमा हौसिएको देखिन्छ ।
भारतमा चोरी गर्ने कार्यमा संलग्न भई अरुको सम्पत्ति हत्याउँनेलाई नेपालमा हदैसम्मको कारवाही हुने खालको नीतिगत व्यवस्था गर्न आवश्यक छ । खुला सिमानाका कारण भारतमा मात्रै नभई नेपालमा पनि भारतीहरुले चोरीका घटना घटाउने गरेका छन् । उनीहरुलाई पनि भारतले नेपाल ल्याउन दिँदैन । दुई देशबीच अपराधी आदान प्रदान गर्न स्पष्ट नीतिगत व्यवस्था नहुँदा चोरी तथा लुटपाटका घटनामा संलग्नले उन्मुक्ति पाउनु दुबै देशका लागि चिन्ताको विषय हो । यसमा नीतिगत तहमा रहेकाहरुले बलैमा ध्यान पु¥याउन आवश्यक छ ।






