नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा हिँडेका ५२५ जनाको उद्धार

बाँके, २९ मंसिर ।
भारतसँग जोडिएको संवेदनशील सीमा नाका नेपालगञ्ज हुँदै जोखिमपूर्ण यात्रामा रहेका पाँच सय २५ जनालाई उद्धार गरिएको छ । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत शान्ति पुनःस्थापना केन्द्रले गत आर्थिक वर्ष र चालू आर्थिक वर्षको चार महिनाको अवधिमा ती व्यक्तिहरूलाई सुरक्षित रूपमा उद्धार गरेको हो ।
संस्थाले प्रस्तुत गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा तीन सय ९९ जना र चालू आर्थिक वर्षको पहिलो चार महिनामा एक सयय २६ जनाको उद्धार गरिएको शान्ति पुनःस्थापना केन्द्रका जिल्ला कार्यक्रम संयोजक सम्झना चदाराले जानकारी दिइन ।
चदाराका अनुसार उद्धार गरिएका व्यक्तिहरूमध्ये अधिकांश महिला, बालबालिका तथा जोखिममा परेका किशोरीहरू छन् । गत आर्थिक वर्षमा उद्धार गरिएका तीन सय ९९ जनामध्ये तीन सय तीन जनालाई अभिभावकको जिम्मा लगाइएको थियो भने, ९५ जनालाई प्रहरीको समन्वयमा परिवारको सम्पर्कमा पुर्याइएको थियो ।
एक जनालाई भने थप सुरक्षा र हेरचाह आवश्यक परेकाले अर्को पुनःस्थापना गृहको जिम्मा लगाइएको थियो । यस अवधिमा मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा आठ जनाविरुद्ध मुद्दा दर्ता गरिएको संस्थाले जनाएको छ । मानव बेचबिखन तथा ओसारपसार रोकथामका लागि उद्धारसँगै परामर्श सेवा पनि संस्थाको प्रमुख कार्यक्षेत्र रहेको छ ।
शान्ति पुनःस्थापना केन्द्रले गत आर्थिक वर्ष र चालू आर्थिक वर्षको हालसम्म कुल १२ हजार दुई सय ३३ जनालाई परामर्श सेवा प्रदान गरेको जनाएको छ । तीमध्ये नौ हजार तीन सय ९४ जनाले गत आर्थिक वर्षमा र दुई हजार आठ सय ३९ जनाले चालू आर्थिक वर्षको चार महिनाभित्र परामर्श लिएको चदाराले बताइन ।
सीमा नाकामा आवतजावत गर्ने यात्रुहरूलाई सुरक्षित यात्रा, जोखिम पहिचान, मानव बेचबिखनका स्वरूप तथा कानुनी प्रावधानबारे परामर्श दिइने गरिएको उनको भनाइ छ । शान्ति पुनःस्थापना केन्द्र शाखा कार्यालय नेपालगञ्जले जिल्लाभित्र मानव बेचबिखन तथा ओसारपसारविरुद्ध गर्दै आएको कामको प्रभावकारिता मूल्याङ्कन गर्न आइतबार सरोकारवालाबाट अनुगमन तथा निरीक्षण गराएको थियो ।
सो अवसरमा संस्थाले आफ्नो वार्षिक प्रगति, उद्धार प्रक्रिया, चुनौती र उपलब्धिबारे विस्तृत जानकारी प्रस्तुत गरेको हो । अनुगमन कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सिता कार्की, नेपालगञ्ज उपमहानगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख पवित्रा कुमारी पुरी, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका अधिकृत धनराज शाही, आइसिपीमा कार्यरत सशस्त्र प्रहरी नायब उपरीक्षक युवराज खड्का, इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक किरण प्रकाश मल्ल, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीलगायतको उपस्थिति थियो ।
अनुगमनका क्रममा शान्ति पुनःस्थापना केन्द्रका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले संस्थाले अपनाउँदै आएको उद्धार, संरक्षण तथा पुनःस्थापना संयन्त्रबारे जानकारी गराए । उनले सीमा नाकामा कार्यरत सुरक्षाकर्मी, स्थानीय तह, मानव अधिकारकर्मी तथा सञ्चारकर्मीको सहकार्यमा उद्धार कार्य प्रभावकारी बन्दै गएको बताए । मानव बेचबिखनको जोखिम न्यूनीकरणका लागि एक्लो संस्थाको प्रयास पर्याप्त नहुने भएकाले सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उनको जोड थियो ।
शान्ति पुनःस्थापना गृहले बाँके जिल्लाका विभिन्न पाँच स्थानमा सूचना तथा परामर्श केन्द्र स्थापना गरी मानव बेचबिखन तथा ओसारपसारविरुद्ध नियमित कार्यक्रम सञ्चालन गर्दै आएको छ । ती केन्द्रमार्फत जोखिम समूहका व्यक्तिहरूलाई समयमै सूचना, परामर्श र आवश्यक सहयोग उपलब्ध गराइँदै आएको छ । सीमा नाका नेपालगञ्ज मानव बेचबिखनको दृष्टिले संवेदनशील क्षेत्र मानिने भएकाले यहाँ गरिएको उद्धार र सचेतना कार्यले धेरैको जीवन सुरक्षित बनेको सरोकारवालाहरूको भनाइ छ ।
अनुगमनमा सहभागी प्रतिनिधिहरूले संस्थाको कामको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी समन्वय र स्रोत व्यवस्थापनमार्फत मानव बेचबिखनविरुद्धको अभियानलाई मजबुत बनाउन सुझाव दिएका छन् । मानव बेचबिखनजस्तो गम्भीर सामाजिक अपराधविरुद्ध निरन्तर सचेतना, निगरानी र उद्धार कार्य आवश्यक रहेको भन्दै शान्ति पुनःस्थापना केन्द्रको भूमिका महत्वपूर्ण रहेको निष्कर्ष अनुगमन टोलीले निकालेको छ ।






