प्रतिनिधिसभा निर्वाचनको काउन्टडाउन चुनावी गतिविधिमा जुटे राजनीतिक दल

ओम शाही
सुर्खेत, २९ मंसिर ।
२३–२४ भदौको जेन–जी आन्दोलपछि गठित पूर्वप्रधानन्यायधीस सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधिसभाको निर्वाचन आउन ८१ दिन बाँकी छन् । २३ भदौमा जेन–जी समूहमाथी सरकारले अत्याधिक बल प्रयोग गरेपछि सोही दिन १९ जनाले युवाहरुले ज्यान गुमाएका थिए ।
त्यसको विरोधमा भोलिपल्ट (२४ भदौ)मा सडक संघर्षमा उत्रिएका जेन–जी समूहले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकार नै अपदस्त गरिदिएका थिए । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिवन्धको विरोध, भ्रष्टाचार अन्त्य र सुशासन कायम हुनुपर्ने मागसहित जेन–जी समूह सडकमा उत्रिएको थियो ।
जेन–जी आन्दोलनका कारण प्रधानमन्त्रीले राजिनामा दिएपछि कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी थिइन । जेन–जीको माग बमोजिम प्रधानमन्त्री भएकी कार्की नेतृत्वको मन्त्रीपरिषद् बैठकले २० असोजमा निर्वाचनको मिति घोषणा गरेको थियो । सरकारको घोषणा अनुरुप निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सम्पन्न गरिसकेको छ भने सरकारले पनि निर्वाचनको आवश्यक तयारी तीव्र पारेको जनाइएको छ ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारेर आवश्यक सुझाव सङ्कलन गरिरहेको छ । निर्वाचनकै लागि सरकारले सेना परिचालनको स्वीकृतिसमेत पाइसकेको छ । शान्ति सुरक्षा कायम गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक तयारी गरिसकेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताउँदै आएका छन् ।
निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरुले पनि देशव्यापी निर्वाचन लक्षित गतिविधिलाई तीव्रता दिन थालेको छन् । तोकिएकै समयमा निर्वाचन सम्पन्न नहुने आशंकाका बिच दलहरुले निर्वाचन लक्षित राजनीतिक सभा तथा सम्मेलनलाई तीव्रता दिएका छन् । जेन–जी आन्दोलनपछि विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा रहेको नेकपा एमालेले निर्वाचनकै लागि शनिबारबाट आफ्नो ११औं राष्ट्रिय महाधिवेशन जारी राखेको छ ।
एमालेले प्रतिनिधिसभा पुनर्स्थापनासँगै आन्तरिकरुपमा निर्वाचनको तयारी गरिरहेको छ । महाधिवेशनको उद्घाटनसत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट नभाग्ने उद्घोष गरिसकेका छन् । उनले सरकारले निष्पक्ष र स्वतन्त्र चुनाव हुने वातावरण बनाउनुपर्ने धारणा राखेका थिए । अध्यक्ष ओलीले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन र राजनीतिक दलका गतिविधिलाई प्रोत्साहित गर्न आग्रह गरिरहेका छन् । एमालेले निर्वाचनका लागि आयोगले तय गरेको समयसीमाभित्रै दल दर्तालगायतका गतिविधि सम्पन्न गरिसकेको छ ।
त्यस्तै, नेपाली कांग्रेस पनि देशव्यापी रूपमा चुनावको तयारीमा छ । कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको उम्मेदवार छनोट गरिरहेको छ । प्रतिनिधिसभा सदस्यको उम्मेदवारसँगै राष्ट्रियसभाको उम्मेदवारसमेत कांग्रेसले छनोट गरिरहेको छ । त्यस्तै, जेन–जी आन्दोलनपछि निर्माण भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सन्देशसभाका नाममा देशव्यापी रूपमा निर्वाचन केन्द्रित गतिविधिलाई तीव्र पारेको छ ।
नेकपाले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा जनसभाको आयोजना गरेको थियो । धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरमा सन्देशसभा गरिसकेको नेपाली कम्युनिस्ट पार्टीले आगामी ५ पुसमा काठमाडौंमा सन्देशसभा आयोजना गर्दै छ । देशभर नै सन्देशसभा आयोजना गरेर निर्वाचनको पक्षमा उभ्याएको नेकपाको दावी छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार सुर्खेतमा आयोजित सभामा निर्वाचन तोकिएको मितिमै सम्पन्न हुनुपर्ने बताउँदै त्यसका लागि आफ्नो पार्टी क्रियाशील भइसकेको बताइ सकेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि निर्वाचनका लागि वाचापत्र तयार पार्नेदेखि उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाइसकेको छ ।
समानुपातिकतर्फको उम्मेदवारको आवेदन गरेको रास्वपाले भेला सभामार्फत निर्वाचन केन्द्रित गतिविधि गरिरहेको छ । रास्वपाले पनि शुक्रबार कर्णाली प्रदेशस्तरीय राजनीतिक प्रशिक्षणको आयोजना गरिसकेको छ । यस्तै, मधेस केन्द्रित दलहरु पनि निर्वाचन केन्द्रित राजनीतिक गतिविधिमा संलग्न हुँदै गएका छन् ।
प्रत्यक्षमा एक सय १४ दल
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ एक सय १४ राजनीतिक दल सहभागी हुनेछन् । यस्तै, समानुपातिकतर्फ एक सय राजनीतिक दल निर्वाचनमा सहभागि हुँदैछन् । निर्वाचन आयोगले जनसंख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाइसकेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेशी, थारु, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो । समानुपातिक प्रणालीतर्फ कुल एक सय राजनीतिक दलले भाग लिनेछन् । निर्वाचन आयोगले शुक्रबार एक सय राजनीतिक दललाई निर्वाचन चिह्नसमेत उपलब्ध गराइसकेको छ । २१–२३ मंसिरसम्म तीन दिनको समयभित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि आवेदन दिएका राजनीतिक दलमध्ये अन्तिम रूपमा एक सय दल कायम भएको आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ एक सय दलले आवेदन दिएको भए पनि दुई वा दुईभन्दा बढी दलले एकल निर्वाचन चिह्नमा भाग लिनेगरी आवेदन दिएकाले कुल ९३ निर्वाचन चिह्न कायम गरिएको आयोगले जनाएको छ ।






