‘सर्वपक्षीय सहमति बिना निर्वाचन सम्भव छैन’ — एमाले नेता खगराज अधिकारी

२६, कार्तिक २०८२
बाँके ।नेकपा (एमाले) का स्थायी कमिटी सदस्य खगराज अधिकारीले सर्वपक्षीय सहमति बिना देशमा निर्वाचन सम्भव नहुने दाबी गर्नुभएको छ।
प्रेस चौतारी नेपाल बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाल सरकारका पूर्व गृह मन्त्री तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहनुभएका अधिकारीले अहिलेको राजनीतिक गतिरोध समाधानका लागि सबै पक्षको सहभागिता आवश्यक रहेको बताउनुभयो।
उहाँका अनुसार नवयुवालाई समेत समेटेर सर्वपक्षीय सहमति गरी नयाँ सरकार गठन गर्न सके मात्र मुलुकलाई निर्वाचनतर्फ लैजान सकिनेछ। “निर्वाचन चाहिँ सबै दलको सहमतिको आधारमा मात्रै सम्भव छ,” अधिकारीले स्पष्ट पार्नुभयो।
अधिकारीले निश्चित अवधिका लागि संसद् पुनःस्थापना गरी संविधानमा आवश्यक संशोधन गर्नुपर्ने सुझाव दिनुभयो। उहाँले भने, “एक पटकका लागि संसद् बाहिरको व्यक्ति पनि प्रधानमन्त्री बन्न सक्ने व्यवस्था मिलाउन सके अहिलेको गतिरोध अन्त्य गर्न सकिन्छ।”
राजनीतिक दलहरूको शीर्ष नेतृत्वसँग संवाद गर्न सरकार तयार नभएको आरोप लगाउँदै उहाँले यस्तो अवस्थामामा निष्पक्ष निर्वाचन सम्भव नहुने बताउनुभयो। सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि विश्वसनीय उच्चस्तरीय आयोग गठन गर्न एमालेलाई कुनै आपत्ति नभएको उल्लेख गर्दै उहाँले भने, “प्रतिशोधका भावनाले होइन, सही प्रक्रिया र न्यायका माध्यमबाट मात्र सुधार सम्भव छ।”
भदौ २४ गते भएको विध्वंसलाई नियोजित भन्दै अधिकारीले आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही हुनुपर्ने माग गर्नुभयो।
प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष कमल डाँगीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा एमालेका केन्द्रीय सदस्यहरू मो. हारुन, सूर्य ढकाललगायतको उपस्थिति रहेको थियो।






