“गाउँमै डाक्टर, गाउँमै उपचार”

गाेल्डेन बुढा

जुम्ला,२६ कार्तिक ।
सिंजाकाे बिहान चिसो थियो। जुम्लाको सिंजा-३ अवस्थित धिलालिहीको आधारभूत विद्यालयको आँगनमा भीड बढ्दै गइरहेको थियो। कोही काखमा बच्चा बोकेर आएका, कोही हिँड्नै गाह्रो भएका बूढा। हावा सँगै मिश्रिएको थियो, आशाको गन्ध।दुई दिनको निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविरमा उपचार पाउने आशामा गाउँका बासिन्दा लामबद्ध थिए। सहर पुग्न नसक्नेहरूको लागि यो शिविर केवल स्वास्थ्य कार्यक्रम होइन, बाँच्ने आस थियो।जुम्लाको हिमा गाउँपालिका –१ का भिमराज शाही महिनौँदेखि चिन्तामा थिए। शरीरमा गाँठागुठी देखा परेका थिए, तर पैसा नहुँदा काठमाडौं जान सकेका थिएनन्। गाउँका मान्छेहरूले रोग बढ्दै जाँदा डराउने कुरा सुनाउँथे।“राति निद्रै पाउँदिनथें, मनमा डर थियो,” उनी सम्झन्छन्, “तर यो शिविरले मेरो डर भगायो।”डाक्टरले जाँच गरे, औषधि दिए। भिमराजको अनुहारमा मुस्कान फर्कियो।“गाउँमै डाक्टर आएर उपचार गर्नुभयो,” उनी भन्छन्, “अब मलाई लाग्छ, हाम्रो गाउँ पनि देशकै हिस्सा हो।”यता सिँजा–६ की ममता रावतलाई तल्लो पेट दुख्ने समस्या लामो समयदेखि थियो। गाउँमा यस्तो रोगका बारेमा धेरै कुरा गर्न पनि हिचकिचाइन्थ्यो।“घरको काम, बालबच्चा र लाजकै कारण उपचार ढिला भयो,” उनले लजाउँदै भनिन्, “शिविरले मौका दियो, अब ठिक छु।”उनका लागि उपचारभन्दा ठूलो कुरा थियो, सुन्ने कान पाउनु।“डाक्टरले मेरो कुरा ध्यान दिएर सुन्नुभयो,” उनी भन्छिन्, “त्यो माया नै आधा उपचार हो।”सिंजाकी – ५ कि ७० वर्षीया काली रावलका लागि विद्यालयको आँगनसम्म आइपुग्नु पनि एक उपलब्धि थियो।

घुँडा दुखेर हिँड्नै सक्दिनथिन्। छोरा बाहिर काम गर्छन्, बुढी आमा एक्लै घरमा।“डाक्टरको हातमा मेरो घुँडा छोइयो, मलाई आशा पलायो,” उनले भनिन्, आँखा रसाउँदै, “दुई दिनमै दुखाइ घट्यो, अब त म नाति खेलाउँछु।”त्यो क्षण, तारा देवीका आँखाबाट बगेका आँसु केवल पीडाका थिएनन् — राहतका आँसु थिए।

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत पशुपति होमियोप्याथिक चिकित्सालय, हरिहर भवन ललितपुरको आयोजनामा र सिँजा गाउँपालिकाको सहआयोजनामा कार्तिक २४ र २५ गते सञ्चालन गरिएको यस शिविरमा ७ सय ७६ जना बिरामीले सेवा लिए।४ सय ९५ जना सिँजाबाट, २ सउ ३६ जना हिमाबाट र ४५ जना कनकासुन्दरीबाट।रोगका सूचीहरू लामो थिए — दम, खोकी, छाला समस्या, मधुमेह, उच्च रक्तचापदेखि मानसिक तनावसम्म। तर सबैभन्दा ठूलो उपचार थियो,विश्वास।यता गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकाया भन्छन्,“दुई दिनमा औषधि त बाँड्यौं, तर हामीले बाँडेको सबैभन्दा ठूलो कुरा हो,भरोसा।”शिविरको अन्तिम दिन सूर्य पश्चिम पर्खालमा ओर्लिँदै थियो। विद्यालयको आँगनबाट डाक्टरहरूले औषधि प्याक गर्दै थिए, गाउँलेहरू बिस्तारै फर्किंदै। तर फर्किँदै गर्दा उनीहरू भित्र भित्रै नयाँ कुरा लिएर गइरहेका थिए, आफ्नो गाउँमै उपचार सम्भव छ भन्ने विश्वास।भिमराज, ममता, काली र सयौं अनुहारहरूमा देखिएको त्यो मुस्कान सिँजाको भविष्यको प्रतीक जस्तै लाग्थ्यो।जहाँ स्वास्थ्य सेवा सहरको सुविधा होइन, गाउँको अधिकार बन्न थालेको छ।

“गाउँमै डाक्टर, गाउँमै उपचार”

‘सर्वपक्षीय सहमति बिना निर्वाचन सम्भव छैन’ —

“गाउँमै डाक्टर, गाउँमै उपचार”

परसपुर–गौघाट सडक स्तरोन्नतिले गति लिँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *