१० औँ राष्ट्रिय खेलकुद हुनेमा आश खेलका ३२ विधामा साढे ६ हजार खेलाडीले प्रदर्शन गर्नेछन् आफ्नो प्रतिभा

ओम शाही
सुर्खेत, १९ असोज ।
दुई वर्ष अगावै सम्पन्न भइसक्नु पर्ने १० औँ राष्ट्रिय खेलकुद प्रतयोगिता यस पटक भने निर्धारित मितिमा सञ्चालन हुने निश्चित जस्तै बनेको छ । पछिल्लो समय खेलकुदको महाकुम्भ मानिने राष्ट्रियस्तरको सबैभन्दा ठुलो प्रतियोगिता सञ्चालनमा मुख्य आयोजक संघीय सरकारले तदारुकता देखाएपछि पाँचौ पटक सरेको प्रतियोगिता आगामी मंसिरमा हुने निश्चित प्रायः बनेको छ ।
कर्णालीमा पहिलो पटक हुन लागेको प्रतियोगिता दुई वर्ष अर्थात, २०८१ मंसिरमै सम्पन्न भइसक्नुपर्ने प्रतियोगिताको मिति पाँचौं पटक सारेर आगामी १६–२७ मंसिरसम्म पुर्याइएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्षसमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गत २८ साउन २०८३ मा बसेको १२५ औँ बोर्ड बैठकले आगामी १६–२९ मंसिरसम्म कर्णाली प्रदेशमा प्रतियोगिता गर्ने निर्णय गरेको थियो ।
कर्णालीले ३ कार्तिक २०७९ मा पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा १० औँ राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी पाएको थियो । त्यसपछि पहिलोपटक २ देखि ९ मंसिर २०८१ सम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको थियो । तर, प्रदेश रंगशाला निर्माण सम्पन्न नभएका कारण उक्त मितिमा प्रतियोगिता हुन सकेन । त्यसपछि २३ देखि ३० चैत २०८१ सम्म दोस्रो पटक र ३ देखि १० जेठ २०८२ सम्म तेस्रोपटक मिति तोकियो । ती दुवै मिति पनि कार्यान्वयन हुन सकेनन् । त्यसपछि चौथो पटक २०८२ फागुनमा प्रतियोगिता आयोजना गर्ने गरी मिति तोकिए पनि प्रतियोगिता हुन सकेन ।
पछिल्लो पटक २८ साउनमा बसेको राखेपको १२५ औँ बोर्ड बैठकले आगामी मंसिरमा प्रतियोगिता सञ्चालन गर्न गरेको निर्णयलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको थियो । मन्त्रिपरिषद्ले प्रतियोगितालाई अनुमोदन गरेपछि मुख्य आयोजक विभागीय शिक्षा तथा खेलकुद मन्त्रालयले तयारी तीव्र पारेको छ । प्रतियोगिता तयारी तथा सञ्चालनका विषयमा आइतबार १० औँ राष्ट्रिय खेलकुद–२०८३ मुल आयोजक समितिको बैठक सम्पन्न भएको छ ।
शिक्षा तथा खेलकुद मन्त्री पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता सञ्चालनार्थ चार वटा प्रस्तावमा महत्पूर्ण निर्णय गरेको छ । बैठकले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिरमा कर्णाली प्रदेशका सात जिल्लामा भव्य, सभ्य र व्यवस्थित रुपमा सञ्चालन गर्ने प्रतिवद्धता दोहोर्याएको छ ।
बैठकपछि जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहताले प्रतियोगिता सञ्चालन निर्देशिका, २०८३ को अधीनमा रही प्रतियोगिताको पूर्वतयारी, व्यवस्थापन तथा सञ्चालन तोकिएकै मितिमा गर्ने निर्णय भएको बताए । उनले बैठकले तोकिएकै मितिमा प्रतियोगिता गर्नेगरी सुनिश्चितता प्रदान गरेको दावी गरे ।
निर्णयअनुसार प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम र गैरआवासीय नेपाली संघ गरी ११ टिमको सहभागिता गराइने उनले बताए । त्यस्तै, प्रतियोगितामा ३२ खेल विधामा प्रतिस्पर्धा गराउने निर्णयसमेत भएको छ । संघीय सरकारबाट १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्राप्त बजेट खर्च र नम्सको अधीनमा रही खर्च गर्ने निर्णय पनि भएको छ । उनका अनुसार प्रतियोगितालाई संघीय सरकारले ७१ करोड बजेट दिएको छ । साथै, प्रथम पारा राष्ट्रिय खेलकुद सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आवश्यक कार्य अघि बढाउने निर्णय बैठकबाट भएको उनले बताए ।
‘प्रतियोगितालाई भव्य, सभ्य र व्यवस्थित रूपमा सञ्चालन गर्न निजी संघसंस्था लगायत सबै सरोकारवाला निकायको सहभागितामा जोड दिँदै सार्वजनिक निजी साझेदारीको अवधारणा अवलम्बन गरी प्रयोजकसँग एमओयू गरी कार्यान्वयन गर्ने निर्णय भएको छ,’ उनले भने । त्यस्तै, बैठकले खेलकुद प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका, २०८३ को दफा १० को उपदफा (१) बमोजिम विषयगत उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
प्रतियोगिता सञ्चालनका लागि अधिकार प्रत्यायोजन गर्ने सम्बन्धमा पनि निर्णय भएको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका, २०८३ को दफा ५ मा भएको मूल आयोजक समितिको काम, कर्तव्य र अधिकार अन्तर्गतको खण्ड (च) मा ‘प्रतियोगिता आयोजना सम्बन्धी आवश्यक कार्य गर्न कार्यसम्पादन समितिलाई अधिकार प्रत्यायोजन गर्ने’ भन्ने व्यवस्था अनुसार १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता, २०८३ तथा प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न गराउन कार्यसम्पादन समितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरिएको छ । प्रतियोगिताको तयारीका लागि सह–आयोजक कर्णाली प्रदेशसँग आवश्यक समन्वय र सहकार्य भइररहेको राखेपले जनाएको छ ।
साढे ६ हजार खेलाडी सहभागि हुँदै
आगामी मध्य मंसिरमा प्रदेश राजधानी वीरेन्द्रनगरमा भव्य समारोहका बीच सुभारम्भ हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम र गैरआवासीय नेपाली संघ गरी ११ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा ३२ खेल विधामा झण्डै ६ हजार खेलाडीले आफ्नो प्रतिभा प्रदर्र्शन गर्नेछन् ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन चन्दलले साढे ६ हजार खेलाडी र तीन हजार अफिसियलहरु प्रतियोगितामा सहभागि हुने बताए । उनका अनुसार प्रतियोगितामा समावेश हुने खेलका विद्या मध्ये २८ खेल कर्णालीका सुर्खेत, कालीकोट, जाजरकोट, रुकुम पश्चिम, सल्यान, दैलेख र जुम्लामा खेलाउने प्रस्ताव गरिएको छ । बाँकी चार खेल नेपालगन्जमा सञ्चालन गर्न प्रस्ताव गरिएको उनले बताए ।
उनले प्रतियोगितामा सहभागि हुने खेलाडी, अफिसियल र पाहुनालाई राख्न निजी क्षेत्रसँग समन्वय गरिएको बताए । परिषद्का उपाध्यक्ष प्रमोद हमालको संयोजकत्वमा आवास व्यवस्थापन समिति गठन भई आवश्यक तयारी अघि बढाइएको उनको दावी छ । खेलका धेरै विद्या सञ्चालन हुने वीरेन्द्रनगरमा उपलब्ध झण्डै ६ हजार बेडमा बसाईको व्यवस्थापन गरिने उनले बताए । बाँकीलाई खेलका विधा अनुसार विभिन्न जिल्लामा होटल तथा सार्वजनिक भवनमा आवासको व्यवस्थापन गरिने उनले बताए ।
कुन जिल्लामा कुन खेल ?
१० औँ राष्ट्रिय प्रतियोगितामा समावेश हुने ३२ मध्ये कर्णालीका सात जिल्लामा २८ खेल खेलाउने प्रस्ताव गरिएको छ । जसमा अधिकांश खेल सुर्खेतमा खेलाइने प्रस्ताव गरिएको छ । सुर्खेतमा एथलेक्टिस, ब्याडमिण्टन, बक्सिङ, बास्केटबल (महिला/पुरुष), क्रिकेट (महिला/पुरुष), शारिरिक सुगठन, ह्याण्डबल (महिला/पुरुष), जुडो, भलिबल (महिला/पुरुष), रग्वी (महिला/पुरुष) तेक्वान्दो, फुटबल (महिला/पुरुष) उसु, भारोन्त्तोलन, कुस्ती, कबड्डी (महिला/पुरुष) कराते, फुल कन्ट्याक कराते, हक्की (महिला/पुरुष), इ–स्पोर्ट, स्क्वास, साइक्लिङ, जिमन्याष्टिक र सेपाकताक्रो खेलाउने प्रस्ताव गरिएको छ ।
त्यस्तै, कालीकोटमा शारिरिक सुगठन खेलाइने प्रस्ताव गरिएको छ । जाजरकोटमा जुडोको प्रस्ताव गरिएको छ भने, रुकुम पश्चिममा खो खो (महिला/पुरुष), सल्यानमा टेबल टेनिसको प्रस्ताव गरिएको छ । त्यस्तै, दैलेखमा बुद्धिचाल, जिमन्याष्टिक र जुम्लामा आर्चरी खेलाउने प्रस्ताव राखेपले गरेको छ । खेल पूर्वाधारको उपब्धताका हिसावले भारोत्तोलन, टेनिस, पौडी र सुटिङ नेपालगन्जमा गर्ने प्रस्ताव राखेपको छ । प्रस्तावित खेल, स्थान, र मौसमका बारेमा प्राविधिक समितिले दिएको सुझावका आधारमा प्रतिस्पर्धा गराइने राखेपले जनाएको छ ।
रंगशालाको स्वामित्व लिने तयारी
प्रदेश सरकारले १० औँ राष्ट्रिय खेलकुदका अधिकांश खेल सञ्चालन गर्ने लक्ष्यसहित निर्माण गरेको कर्णाली प्रदेश रंगशाला आफ्नो स्वामित्वमा लिन लागेको छ । हाल निर्माणको काम सम्पन्न भई निर्माण कम्पनीले असोज मसान्तसम्म रंगशाला हस्तान्तरण गर्ने तयारी गरेको छ ।
‘सामान्य मर्मत र रंगरोगनका काम बाहेक रंगशालाको निर्माणसम्बन्धी काम सम्पन्न भएको छ, असोज मसान्तसम्म रंगशालाको स्वामित्व लिने तयारी गरेका छौं छ,’ सदस्य सचिव चन्दले भने । वीरेन्द्रनगरमा निर्माण गरिएको प्रदेश रंगशालाको लागत एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँ छ । एमएसी–जीएसएल जेभीले निर्माणको जिम्मा पाएको रंगशालामा करिब १० हजार दर्शक क्षमताको प्यारापिटसहित विभिन्न खेलका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको छ । रंगशालामा फुटबल मैदान, चार सय मिटरको एथलेटिक्स ट्र्याक, पौडी पोखरी, दुईवटा कभर्ड हल, भलिबल कोर्ट, बास्केटबल, ह्यान्डबल, क्रिकेट मैदान तथा इन्डोर क्रिकेट हल, कबड्डी र खोखोलगायत खेलका पूर्वाधार छन् ।
फिफाको मापदण्डअनुसार एक सय पाँच मिटर लम्बाइ र ६८ मिटर चौडाइको फुटबल मैदान निर्माण गरिएको छ । वर्षाका बेला मैदानमा जमेको पानी २० देखि २५ मिनेटभित्र सुक्ने प्रविधिसमेत जडान गरिएको छ ।
त्यस्तै, करिब एक हजार पाँच सय दर्शक क्षमताको इन्डोर भलिबल कभर्ड हल, खेलाडीका लागि चेन्जिङ रुम, प्रतीक्षालय, विश्राम कक्ष, फिजियो तथा मेडिकल कक्षसमेत निर्माण गरिएको छ । चार सय मिटर लामो एथलेटिक्स ट्र्याक अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएको छ । यसमा हाइजम्प, लङजम्पलगायत एथलेटिक्सका विभिन्न विधाका प्रतियोगिता सञ्चालन गर्न सकिनेछ । त्यस्तै, २५ मिटर चौडाइ र २५ मिटर लम्बाइको पौडी पोखरीसमेत निर्माण गरिएको छ ।
निर्धारित समयमै प्रतियोगिता हुन्छ : मन्त्री पोखरेल
आइतबार प्रतियोगिता मुल आयोजक समितिको बैठकमा शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने दावी गरे । यसअघि पटक–पटक प्रतियोगितको मिति सरेर आशंका व्यक्त हुनु स्वभाविक भएको बताउँदै उनले अब द्विविधा नराख्न आग्रह गरे ।
प्रतियोगिताको औपचारिक तयारी गर्न नै वीरेन्द्रनगरमा मुल आयोजक समितिको बैठक बसेको उनले बताए । ‘विगतमा विविध कारणले प्रतियोगिता अन्यौलमा परेकाले यस पटक पनि हुँदैन कि भनेर आशंका व्यक्त हुनु स्वभाविक हो,’ मन्त्री पोखरेलले भने, ‘मन्त्रिपरिषद्बाट प्रतियोगिता अनुमोदन बजेट सुनिश्चित भइसकेकाले अब प्रतियोगिता हुन्छ वा हुँदैन भन्ने दुविधामा नपर्न आग्रह गर्दछु ।’
मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदलाई प्रतियोगिता सञ्चालनमा मात्र सीमित गर्न नहुने बताए । देशभरका गाउँ–गाउँमा रहेका खेलाडीलाई राष्ट्रियस्तरको अवसर दिनु यसको मुख्य उद्देश्य हुनुपर्ने उनको भनाइ छ । दुर्गम तथा ग्रामीण क्षेत्रका प्रतिभालाई खेलकुदमार्फत अघि बढाउने र उनीहरूले खेलबाटै जीवन चलाउन सक्ने वातावरण निर्माण गर्नुपर्ने उनले बताए ।
संघीय, प्रदेश र स्थानीय सरकारले १० औँ राष्ट्रिय खेलकुदलाई साझा कार्यक्रमका रूपमा लिएर स्वामित्वका साथ अघि बढ्नुपर्ने उनको आग्रह छ । कुनै विषयमा असमझदारी भए त्यसलाई नकारात्मक रूपमा लिनुभन्दा आपसी समन्वयबाट समाधान गर्नुपर्ने भन्दै उनले प्रतियोगिताको उत्साह देशभर पुर्याउन आग्रह गरे ।






