एमयूको प्रगति तथा भावी योजनाबारे छलफल

सुर्खेत, १९ असोज ।
मध्यपश्चिम विश्वविद्यालय (एमयू) को प्रगति तथा भावी योजनाका बारेमा छलफल भएको छ ।
कार्यक्रममा उपकुलपति सुवालले पछिल्लो तीन महिनाको अवधिमा विश्वविद्यालयले हाँसिल गरेका समग्र उपलब्धि, शैक्षिक तथा प्रशासनिक सुधार, परीक्षा व्यवस्थापन, विद्यार्थी छात्रवृत्ति, जनशक्ति व्यवस्थापन, डिजिटलाइजेसन तथा पूर्वाधार विकासलगायतका विषयमा प्रगति विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले विश्वविद्यालयको प्रगति तथा भावी योजनाका सम्बन्धमा आफ्नो सुझावसहितको मन्तव्य राख्दै विश्वविद्यालयको समग्र उन्नति, शैक्षिक गुणस्तर अभिवृद्धि तथा संस्थागत विकासका लागि मन्त्रालयको तर्फबाट सकारात्मक पहल र आवश्यक सहजीकरण रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा विश्वविद्यालयको शैक्षिक, प्रशासनिक, पूर्वाधार तथा संस्थागत विकासका विविध पक्षमाथि छलफल गर्दै आगामी दिनमा विश्वविद्यालयलाई थप प्रभावकारी, व्यवस्थित, प्रविधिमैत्री तथा गुणस्तरीय शैक्षिक संस्थाका रूपमा अघि बढाउने विषयमा समेत अन्तरक्रिया भएको थियो ।
विश्वविद्यालयका उपकुलपति ई. डा. राजन सुवालको अध्यक्षता र शिक्षा तथा खेलकुद मन्त्रालय, नेपाल सरकारका सचिव चूडामणि पौडेलज्यूको प्रमुख आतिथ्यतामा विश्वविद्यालयका विविध पक्षबारे छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
शिक्षा मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहता, सल्लाहकार सदस्य राजु सिंह, शिक्षा मन्त्रालयका प्रमिला शाही तथा जिल्ला शिक्षा समन्वय इकाई, सुर्खेतका प्रमुख नारायण पौडेललगायतको उपस्थितिमा छलफल भएको थियो ।
त्यसैगरी, विश्वविद्यालयका तर्फबाट निमित्त रजिष्ट्रार तथा डिन डा. आनन्द प्रसाद सुवेदी, डिनहरू डा. पूर्णमान श्रेष्ठ, डा. दिपकराज अधिकारी तथा डा. करनसिंह धामी, परीक्षा व्यवस्थापन प्रमुख डा. अर्जुन बहादुर अयडी, कार्यकारी निर्देशकहरू डा. विष्णुकुमार खड्का, डा. यदु प्रसाद ज्ञवाली, डा. लक्ष्मी प्रसाद आचार्य तथा उपप्रा. ललितजंग शाहीसहित उपकुलपति तथा रजिष्ट्रार सचिवालयका सदस्य एवं कर्मचारीहरूको सहभागिता रहेको थियो ।






