हराउँदै जुम्लामा स्थानीय बाली

गाेल्डेन बुढा
जुम्ला,२४ भदौ
जुम्लाको सिंजा-६ की माेतिकला रावतले १२ वर्ष पहिला ६ क्विन्टलसम्म चिनाे फलाउँ थिइन्।आफूले खानपिज गरेर बचेको वरिपरिका छिमेकीलाई सापटी दिनु हुन्थ्यो । तर, आजभोलि मुस्किलले उनको खेतबारीमा ३० केजी चिनाे उत्पादन हुने गर्छ।माेतिकला भन्छिन् , ‘पहिले चिनाे कै भात खाने चलन थियो।आयतित चामल आएपछि सबैले चिनाे खानै छाडे, खेती पनि गर्न छाडे।आफूले पुरानो खेतीकाे बिउँ जाेगाउनका लागि मात्र थोरै मात्रामा खेती गरिरहेको बताइन्।चिनाे मात्र होइन उनको गाउँका अधिकांशले परम्परादेखि खेती गर्दै आएको काेदाे,कागुनाे,फापरजस्ता रैथाने बालीको खेती गर्न छाडिसकेका छन् ।

खाद्य संस्थानको चामल भित्रिनुभन्दा पहिला कोदोको खेती गर्नेहरू पनि पछिल्लो समय घटिसकेका छन।चिनाे र फापरको खेती घट्नुको कारणबारे उनले भनिन्, ‘कोदो,चिनाे,कागुनाे र फापर खानेलाई हेप्ने चलन अहिलेसम्म पनि छ । ६/७ वर्षअघि भात खानेहरूको सानै बेग्लै हुन्थ्यो । त्यै कारणले पनि चामल पाइन थालेपछि धेरैले यस्ता बालीहरू लगाउनै छाडे ।’ उनका अनुसार कागुनाे र फापर त पाइँदै पाइँदैन । ‘फाट्टफुट्ट कसैकसैले थोरै भए पनि चिनाे र काेदाेको खेती गर्ने गरेका छन ।’ माेतिकला मात्र होइनन्।चिनाे, काेदाे,कागुनाे,फापरका लागि प्रख्यात जुम्लाको सिंजा क्षेत्र र पाताराासी क्षेत्र लगायतका गाउँमा पनि यी बालीको खेती गर्ने प्रचलन हराउँदै गएको छ । ‘आजभोलि घर-घरमा मसिनो चामल पुगेको छ।चिनाे -काेदाे,फापर र कागुनाे खाने दिन त गइसकेको भने पनि हुन्छ,’ अर्की दुधकला बुढाले भनिन्, ‘यसको खेती नै गर्न सबैले छाडिसके । हाम्रोतिर त बीउँ खोजे पनि पाइन्न।’रैथाने बालीहरू करिब-करिब मासिसकेको स्थानीयवासीहरू बताउँछन्।यस्तै अर्की ७६ वर्षकी पानसरी बुढा भन्छिन् , ‘यस्ता बालीको खेतीपाती त अचेल कसले गर्छ र ? सायद धेरैले नामै समेत बिर्सिसकेको हुनुपर्छ ।’स्थानीयवासीहरूको खाने बानी परिर्वतन हुनु, कोदो कागुनो,चिनाे,फापरजस्ता अन्नबाली खानेहरूलाई हेलाको दृष्टिले हेरिनु, स्थानीयहरु खेतीपातीभन्दा स्याउखेतिर बढीआकर्षित हुनु,नयाँ पुस्ता परिश्रम गर्न नरुचाउनु र आयातित खाद्यान्नको उपलब्धता बढ्नु रैथाने बाली लोप हुनुको प्रमुख कारण रहेको कृषि क्षेत्रका जानकारहरू बताउँछन्।‘यसको अर्काे कारण भनेको यस्ता बालीमा आयातितभन्दा धेरै पौष्टिक तत्त्व पाइन्छ, भन्ने जानकारी स्थानीयहरूलाई छैन,’ कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले भने, ‘रैथाने बालीको उत्पादन उन्नत जातका बालीको भन्दा कम हुने भएकाले पनि यतातिर कृषक आकर्षित भएका हुन ।
’स्थानीय रूपमा अपहेलित भनिएका रैथाने बालीहरू विभिन्न कारणले लोप हुँदै जान थाले पनि यस्ता बालीको महत्त्वको तुलना आयातित बालीसँग गर्न नमिल्ने अधिकारी बताउँछन्। ‘औषधीय गुणसमेत भएका यी बालीहरूको पौष्टिक महत्त्व त छँदैछ,’ उनले भने, ‘परिर्वतन हुँदै गएको जलवायुमा अनुकूलन हुन सक्ने क्षमता पनि उन्नत जातको भन्दा रैथाने बालीहरूमा बढी हुन्छ ।’ पछिल्लो समय हाइब्रिड बीउको प्रचलन बढ्दै गएका कारण बीउ संरक्षणका हिसाबले पनि रैथाने बाली नै उत्तम भएको उनले बताए।‘उन्नत र हाइब्रिड बीउ उत्पादन गर्न सबैले सक्दैनन्।तर, रैथाने बालीको बीउ सामान्य किसानले पनि सजिलै उत्पादन गर्न सक्छन्,’ उनले भने ।
रैथाने बालीको संरक्षण र प्रवर्द्धन गर्न सरकारी क्षेत्र नै उदासीन रहेकाले पनि धेरैजसो बाली लोप भैसकेको र केही लोप हुने क्रममा रहेको प्रमुख अधिकारीले बताए। ‘किसानले त बिर्से–बिर्से, राज्यले पनि यस्ता बालीको संरक्षण गर्न चासो दिएको छैन, ‘अन्यबालीमा जस्तो अनुदान छैन, अनुसन्धान पनि छैन। सरकारले पनि बेवास्ता गरेका कारणले पनि रैथाने बाली छिटो लोप हुन थालेका हुन्।’तत्कालै विशेष संरक्षित क्षेत्र घोषणा गरेर यस्ता बालीको संरक्षण र प्रवद्र्धन नगरिए बीउँसमेत लोप देखिन्छ। यता कृषि विकास कार्यालय जुम्लाको आर्थिक वर्ष २०८०/०८१ काे तथ्यांकअनुसार चिनाे २ सय हेक्टर क्षेत्रफल खेती हुन्छ।२ सय ५० मेटिकटन उत्पादन भइरहेको छ।भने कागुनाे १३ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन मध्ये १३ मेटिकटन उत्पादन भइरहेको छ।काेदाे तीन हजार हेक्टर खेतीयोग्य जमिन मध्ये ४ हजार ५० मेटिकट भइरहेको छ। फापर ८७ हेक्टर क्षेत्रफलमा भइरहेको छ।भने ९६ मेटिकटन उत्पादन भइरहेको छ।






