सम्पादकीय : भीरको जीवन पिर
कर्णाली प्रदेशमा विभिन्न काममा घरबाट निस्कने मानिसहरु वर्षेनी भीरबाट लडेर ज्यान गुमाउन बाध्य छन् । त्यतिकै संख्यामा घाइतेसमेत हुने गरेका छन् । कर्णाली प्रदेश भौगोलिक विकटतायूक्त क्षेत्र हो । भुगोलकै कारण यहाँका नागरिकले कष्टकर र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । कर्णालीमा शिक्षा, स्वास्थ्य, रोजगारी तथा घरायसी कामकाज निस्कदा पहाड, खोँच, भीर र झोलुंगे पुल पार गर्नुपर्ने बाध्यता छ ।
यही जोखिमपूर्ण यात्राका क्रममै प्रत्येक वर्ष दर्जनौं मानिस भीरबाट लडेर ज्यान गुमाउँछन् भने धेरैजसो घाइते भई जीवनभरको अपाङ्गता बोकेर बस्न बाध्य छन् । सबैभन्दा चिन्ताजनक पक्ष भनेको यस्ता दुर्घटनापछि पीडितले न राहत पाउँछन्, न उचित उपचारको सुविधा । भीरको चपेटामा परेकाहरु आर्थिक रूपले कमजोर हुँदा उपचारको खर्च जुटाउन निकै कठिन छ । कतिपय घटनामा उपचार अभावकै कारण मानिसको ज्यान जान्छ भने कतिपय अपाङ्गता बोकेर जीवन गुजार्न बाध्य हुनुपर्ने अवस्था छ । यस्तो अवस्था मानवीय दृष्टिकोणले कहाली लाग्दो हुन्छ ।
राज्यले बाढी, पहिरो, आगलागी वा अन्य प्राकृतिक विपद्का पीडितलाई राहत, उपचार र पुनःस्थापनाको व्यवस्था गर्ने गरेको छ । तर भीरबाट लडेर घाइते भएका वा मृत्यु भएका व्यक्तिहरूका लागि यस्तो कुनै विशेष राहत नीति छैन । राज्यले भीरबाट लडेकाहरुलाई नचिन्नु आफैमा दुखद् छ । आखिर भीरबाट लड्नु पनि त्यतिकै घट्ने घटना होइन, जुन बाध्यात्मक यात्रा र राज्यले पूर्वाधार निर्माणमा ध्यान नदिदाको परिणामले घटिरहेको छ ।
यस्तो दुर्घटना र पीडाको जिम्मेवारी कसको हो भन्ने प्रश्न उठ्न जरुरी छ । जब मानिसहरू विकासको पहुँचबाहिर छन्, पूर्वाधार विहीन बाटो हुँदै जोखिम मोलेर यात्रा गर्न बाध्य छन्, तब उनीहरूको दुर्घटनालाई पनि राज्यले संवेदनशील ढंगले हेर्नुपर्छ ।
नत्र यो केवल व्यक्तिगत पीडाको विषय रहँदैन । यो राज्यको असफलताको प्रमाण पनि हो । यसर्थ यस विषयमा राज्यले गम्भीर भएर सोच्नु पर्दछ । भीरबाट लडेर घाइते हुने वा मृत्यु हुने घटनालाई दुर्घटना राहतको दायरामा ल्याउनुपर्छ । यस्ता घटनाका पीडितलाई तत्काल उपचार, आवश्यक परेमा हवाई उद्धार, दीर्घकालीन पुनःस्थापनाको योजना र अपाङ्गताको अवस्थामा विशेष सामाजिक सुरक्षा दिनु अत्यावश्यक छ ।
यस्ता दुर्घटनालाई न्यूनिकरण गर्न सुरक्षित बाटो, सिँढी, रेलिङ, झोलुंगे पुल निर्माणमा जोड दिनु पर्दछ । स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय गरी दुर्गम ठाउँमा यातायात पूर्वाधार विस्तारमा जोड दिनुपर्छ । भीरबाट लड्ने घटनालाई दैनिक जीवनको सामान्य दुर्घटना भन्दै नजरअन्दाज गर्नु मानवीय धर्मविपरितको कार्य हो ।