हुम्लाका नागरिकलाई खर्च टार्न ताक्लाकोटको भर

सुर्खेत, २६ बैशाख ।
कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लाको उत्तरी भेगका नागरिकहरु रोजगारी र व्यवसायका लागि चीनको ताक्लाकोट पुग्न थालेका छन् । १ बैशाख यता हुम्लाबाट दैनिक ज्याला मजदुरी तथा व्ययापार व्यवसायका लागि एक हजार बढी हुम्ली उत्तरी छिमेकी मुलुक चीनको पुराङ काउन्टीस्थित ताक्लाकोट पुगेका हुन् ।

यारी भन्सार कार्यालयका अनुसार हालसम्म एक हजार दुई जना रोजगारी तथा व्यापार व्यवसाय गर्न हिल्सा नाका पार गरेर ताक्लाकोटतर्फ लागेका छन् । यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीका अनुसार यसरी जाने व्यक्तिहरुमा दुई सय ९९ महिला र सात सय तीन पुरुष छन् ।

जिल्ला प्रशासन कार्यालय हुम्लाले हरेक वर्ष बैशाखदेखि असोज–कार्तिकसम्म रोजगारी तथा व्यवसायका लागि ताक्लाकोट जान चाहनेहरुलाई अनुमति दिने गरेको छ । प्रशासनको अनुमति लिएर जानेहरु ६ देखि आठ महिना ताक्लाकोटमै बस्ने गरेका छन् ।

पछिल्लो समय हुम्लाका बेरोजगार युवायुवतीको रोजगारीको पहिलो गन्तव्य ताक्लाकोट बन्दै गएको छ । हुम्लाको उत्तरी क्षेत्रका नागरिकको रोजगारीको मुख्य गन्तव्य नै ताक्लाकोट हो । यति बेला हिमालपारीको गाउँ लिमीका झण्डै ७० प्रतिशत बढी स्थानीय ताक्लाकोट पुगिसकेका छन् ।

नाम्खा गाउँपालिका–६, का वडाध्यक्ष पाल्जोर तामाङले रोजगारी गर्न जिल्लाको तल्लो क्षेत्रमा जान नसक्ने बेरोजगार युवाहरुको रोजगारी तथा व्यवसायको मुख्य गन्तव्य ताक्लाकोट भएको बताए । उनका अनुसार ताक्लाकोटमा होटेल, रेस्टुरेन्टुरा तथा निर्माण र अन्य ज्याला मजदुरी गरेवापत प्रतिव्यक्ति तीन सयसम्म चिनियाँ रुपैयाँ कमाउने गरेका छन् ।

ताक्लाकोट जाने सिजन सुरु भएपछि प्रशासनबाट सीमा पास लिनेहरुको संख्या बढेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले बताए । जिल्लाको नाम्खा गाउँपालिका–५, को नारा लेकमा जमेको हिउँ पग्लिएपछि ताक्लाकोट जान जिल्ला प्रशासन कार्यालयमा पास लिनेको संख्या बढेको उनको भनाई छ ।

चीनले नेपालसँग सीमा जोडिएका जिल्लाका स्थायी बासिन्दालाई पासका आधारमा प्रवेश गर्न दिने उल्लेख गर्दै उनले हालसम्म पाँच सय बढीले सीमापार पास लिएको बताए । उनका अनुसार छिमेकी राष्ट्र चीनले हप्तामा पाँच दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म नेपालीलाई ताक्लाकोट प्रवेश गर्न दिने गरेको छ ।

नाम्खा गाउँपालिका–६, स्थित हिमालपारिको गाउँ लिमीकी छिरिङकार्बु तामाङले पास नवीकरण गराउन सदरमुकाम सिमकोट झरेको बताइन । पुरानो सीमा पासलाई नवीकरण गर्न जिल्ला प्रशासन कार्यालयमा लाइन बसेकी उनले काम गर्न ताक्लाकोट जाने समय भइसकेकाले लिमीबाट तीन दिन हिँडेर सदरमुकाम पुगेको बताइन् । जिल्ला प्रशासनबाट पास प्राप्त गर्ने वित्तिकै सिधैं ताक्लाकोट जाने तयारी रहेका उनले बताइन ।

स्थानीयस्तरमा रोजगारीको अवसर नहुने बताउँदै उनले सिजनलरुपमा ताक्लाकोट गएर जिविका चलाउने गरेको बताइन । आफुहरुलाई सदमुकामभन्दा ताक्लाकोट पुग्न सहज हुने उनी बताउँछिन् । हुम्लाका स्थानीय मौसमका आधारमा रोजगारीका लागि ताक्लाकोट पुग्ने गरेका छन् ।

कार्तिकदेखि पर्ने भारी हिमापतले हुम्लीलाई ताक्लाकोट जान रोक्ने गर्दछ । हुम्लाका बासिन्दालाई सडक पूर्वाधारकै कारण देशभित्रभन्दा पनि चीनतर्फ पुग्न सहज हुने गरेको छ । राष्ट्रिय सडक सञ्जालसँग पूर्णरुपमा नजोडिएको हुम्ला विशेष गरी उत्तरी क्षेत्रका नागरिकलाई प्रदेश राजधानीसँगै छिमेकी जिल्ला पुग्न निकै कष्ट गर्नुपर्ने बाध्यता छ ।

पाँच महिनापछि सञ्चालनमा आयो यारी नाका
हुम्लाको उत्तरी क्षेत्रको एकमात्र यारी नाका पाँच महिनापछि सञ्चालनमा आएको छ । २५ मंसिर यता बन्द रहेको यारी भन्सार कार्यालय पुनः सञ्चालनमा आएको हो । भन्सार कार्यालय सञ्चालन आएपछि नियमित कामहरु अघि बढेका छन् ।

भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/०८२ मा १५ लाख बढि राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । अत्यधिक चिसोका कारण गत मंसिर २५ गते यता बन्द भएको भन्सार कार्यालय पुनः सञ्चालनमा आएपछि १५ लाख राजश्व संकलन गर्ने लक्ष्य राखिएको कार्यालय प्रमुख रामराज जैसीले बताए ।

गत वर्ष १४ लाख बढि राजस्व संकलन भएकोे उल्लेख गर्दै उनले गत मंसिरसम्म सात लाख बढि राजस्व संकलन भइसकेको बताए । उनका अनुसार गत वर्ष पाँच लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा तेब्बर राजस्व संकलनमा बृद्धि भएको थियो । यारी भन्सार नियमित सञ्चालनमा ल्याउन सकिएको खण्डमा करोडौं राजश्व संकलन गर्न सकिने सम्भावना रहेको उनले बताए ।

उनका अनुसार सदरमुकामबाट यारी नाका भन्सार कार्यालय पुग्न नारा लेख काटेर जानुपर्ने हुन्छ । हिमपात हुने समयमा उक्त सडकखण्ड पूर्ण रुपमा बन्द हुन्छ । नारा लेकमा जमेका हिउँ हिल्सा सिमकोट सडक योजनाले पन्छ्याउन थालेकोले यातायात सेवा पनि चाँडै सञ्चालमा आउने अपेक्षा गरिएको छ । यातायात सेवा सञ्चालनमा आए ताक्लाकोटबाट पनि सामान आयात पुनः सुरु हुनेछ ।

नेपाल र चीनको सिमाना हुम्लाको हिल्सामा स्थापना भएको यारी नाका भन्सार वर्षमा ६ महिना मात्रै यो भन्सार खुल्छ । कतिपय समय चीनले आफुखुसी नाका खोल्ने र बन्द गर्ने गरेको कार्यालय प्रमुख जैशी बताउँछन् ।

उनका अनुसार भन्सार सञ्चालन भएको समयमा बिहान ९ देखि ११ र दिउँसो २ देखि ४ बजेसम्म नाका खुल्छ । नारालेकसम्म यातायातका साधनमार्फत र त्यसबाट उता हिल्सासम्म पैदल हिँडेरै भएपनि व्यापारीहरु नाका पुग्ने गर्दछन् । उनीहरू चीनको ताक्लाकोटबाट सामान ल्याउँछन् ।

कार्यालय प्रमुख एक जना मात्रै स्थायी कर्मचारीको भरमा सञ्चालित भन्सारका सबै शाखा बर्षौदेखि ठप्प छन् । यति मात्रै होइन कार्यालयका अन्य पदका सबै दरबन्दी रिक्त छन् । प्रदेश र संघीय दुबै तहका सरकारको ध्यान नजाँदा यारी नाका भन्सार उपेक्षामा छ ।

कार्यालय प्रमुख जैसीले अनलाइन सिस्टममा काम गर्नुपर्ने भन्सार कार्यालयमा इन्टरनेटसमेत नभएको बताए । यस बारे पटक पटक विभागमा भन्दा सुनुवाइ नभएको उनको भनाइ छ । हिल्सामा २०७५ मा अध्यागमन कार्यालय स्थापना गरी भन्सार सञ्चालन गरिएको थियो । तर प्रदेश र संघीय दुबै तहका सरकारको ध्यान नजाँदा हाल यारी नाका भन्सार ओझेलमा छ ।

दुबै तहका सरकारले आवश्यक बजेट व्यवस्थापन गरी भन्सार सञ्चालनमा जोड दिन नसक्दा स्थापना भएको भन्सार कार्यालयसमेत बन्द हुने अवस्थामा पुगेको छ । यारी भन्सार नियमित सञ्चालन हुनसके हुम्लावासीलाई समान ढुवानीमा निकै सहज हुनेछ ।

हाल हुम्लामा सामान आयातका लागि यारी नाका एक मात्रै विकल्प हो । तर हुम्ला सदरमुकाम सिमिकोटबाट भन्सार कार्यालयसम्म पुग्न नत सहज सडक छ । नत यातायात सेवा नै । भन्सारसम्म पुग्न तथा भन्सार सञ्चालनका लागि आवश्यक पूर्वाधार विकासमा सरकारले ध्यान पु¥याउन सकेको छैन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *