स्वच्छ खलंगा अभियानः कृष्ण जन्माष्टमी लक्षित बृहत् सरसफाइ

गोल्डेन बुढा

जुम्ला,२३ साउन।

जुम्लाको खलंगा बजारमा शुक्रबार बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको छ। “आउनुहोस्, हाम्रो नगरलाई सफा र सुन्दर बनाउन हातेमालो गरौं” भन्ने नारासहित सुरु गरिएको अभियानको नेतृत्व जुम्लाका समन्वय प्रमुख गौरीनन्द आचार्यले गरेका हुन्।

कर्मचारी मिलन केन्द्र, चन्दननाथ नगरपालिका र जिल्ला प्रशासन कार्यालय जुम्लाको संयुक्त आयोजनामा भएको उक्त अभियानको उद्देश्य सदरमुकामलाई स्वच्छ र व्यवस्थित राख्नु रहेको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए।

अभियानमा विभिन्न टोलीहरू खटिएका थिए।

प्रजिअ शर्माको टोलीले टुडिखेल, बालमन्दिर र कालेखोली क्षेत्रमा सफाइ गर्‍यो।

सशस्त्र प्रहरी प्रमुख निलकमल आचार्य र सहायक प्रजिअ मिनबहादुर रावलको टोलीले विजयनगरदेखि बसपार्क र जिल्ला प्रशासन अगाडिसम्म सफाइ गर्‍यो।

नेपाली सेना मेजर रामेश्वर कार्कीको टोलीले जिल्ला खेलकुद विकास अगाडिबाट जुगाडखोला लाइनसम्मको क्षेत्र सफा गर्‍यो।

नगर प्रहरी, नेपाल प्रहरी प्रमुख रबिन बाबु रेग्मी र रेडक्रसले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र अनामनगर लाइन क्षेत्रमा सफाइ गरे।

फोहोर संकलनका लागि नगरपालिकाको डोजर र ट्र्याक्टर प्रयोग गरिएको थियो। अभियानलाई आगामी कर्णालीकै लामो कृष्ण जन्माष्टमी जात्रा लक्षित गरी निरन्तरता दिने योजना रहेको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढाथोकीले जानकारी दिए।

समन्वय प्रमुख आचार्यका अनुसार सफा र सुन्दर नगर सभ्य नागरिकको पहिचान हो। “बजारको सौन्दर्य कायम राख्न नगरबासीले आफ्नो जिम्मेवारी सम्झिनु जरुरी छ,” उनले भने। प्रमुख जिल्ला अधिकारी शर्माले पनि फोहोर व्यवस्थापन हरेक नागरिकको दायित्व भएको बताउँदै, “स्वच्छ जुम्ला, स्वच्छ खलंगा बनाउन सबैको सक्रिय सहभागिता आवश्यक छ,” भने।

चन्दननाथ नगरपालिका भित्र हाल ३,९९६ परिवार बसोबास गर्छन्। प्रत्येक परिवारबाट दैनिक करिब १७० ग्राम फोहोर उत्पादन हुने हुँदा दैनिक ६७९ किलो, मासिक २०,३७९ किलो र वार्षिक २,४४,५५५ किलो फोहोर थुप्रिन्छ। समयमै व्यवस्थापन नगरे नगरको सुन्दरता कुरुप बन्ने प्रजिअ शर्माले चेतावनी दिए।

अभियानमा सहभागीहरूले हातमा रबरका पञ्जा, मुखमा मास्क र कुचो लिएर बिहानैदेखि सफाइमा जुटेका थिए। सफाइपछि बजार क्षेत्र चहकिलो र आकर्षक देखिन्थ्यो।

स्वच्छ खलंगा अभियानः कृष्ण जन्माष्टमी लक्षित बृहत् सरसफाइ

क्लबले सामुदायिक विद्यालय जाने बाटाे र विद्यालय

Leave a comment

Your email address will not be published. Required fields are marked *