जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

विजय रावत/रासस 

जुम्ला, २१ भदौ । 

यहाँका सात गाउँपालिकासहित एक नगरपालिका गरी आठ स्थानीय तहका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । स्याउमा परिपक्वता तथा गुलियोपन भरिएसँगै बगैँचामा स्याउ टिप्न सुरु गरिएको हो । स्याउ व्यापारी घरमै आएर खरिद गर्न थालेका छन् । पाकेका स्याउ बिक्री गर्न थालेको तातोपानी गाउँपालिका–४ का स्याउ किसान प्रेमराज पाण्डेले जानकारी दिए ।

“बगैँचाको स्याउ टिपेर बिक्री गर्न थालिएको छ”, स्याउ किसान पाण्डेले भने, “घरमै प्रतिकिलो रु ६५ मा बिक्री सुरु गरेका छौँ, गाउँकै स्थानीय व्यापारीले सुर्खेत, नेपालगञ्ज लैजाने गरेका छन् ।” करिब १०० बढी स्याउका बिरुवा लगाएकामध्ये ५० प्रतिशत स्याउका बिरुवाले फल दिएको छ । गत वर्षभन्दा यस वर्ष स्याउ उत्पादनमा ४० प्रतिशत कम फलेको स्याउ किसान पाण्डेको भनाइ छ ।

हिमा गाउँपालिकाका स्थानीय स्याउ व्यापारी प्रकाश रोकायाका अनुसार अहिले स्याउ किसानका बगैँचामा पुगेर स्याउ खरिद गर्न थालिएको छ । पालिकाभित्रका करिब ६०० कार्टुन स्याउ खरिद गरेको बताए । जिल्लामा कति प्रतिशत स्याउ उत्पादन भएको छ र कति प्रतिशत स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ भन्ने तथ्याङ्क सङ्कलन गर्न जुम्ला र कालीकोटको सिमानमा रहेको नाग्म प्रहरी चौकीलाई तथ्याङ्क सङ्कलन गर्ने जिम्मा दिएको कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख रामभक्त अधिकारीले जानकारी दिए ।

गत वर्षभन्दा यसवर्ष स्याउ उत्पादन केही घटेको अनुमान गरिएको छ । सही तथ्याङ्क आउन केही समय लाग्ने भएको छ । यहाँका स्याउ किसानदेखि उद्यमी र समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको छ । गोल्डेन जातको स्याउ असोजदेखि राम्रोसँग पाक्ने हुँदा अहिले स्थानीय जातको र गोल्डेन जातको स्याउ मिलाएर व्यापारीले लिने गरेका छन् ।

विशेषगरी सडक सञ्जालसँग जोडिएका बगैँचाकाका स्याउ सङ्कलन गरेर व्यापारीले तराईका जिल्लामा बिक्री गर्न लगिसकेको कृषि विकास कार्यालयका निमित्त प्रमुख अधिकारीको भनाइ छ । जुम्लामा चार हजार १२० हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदा दुई हजार ९०० हेक्टर क्षेत्रफलमा करिब यसवर्ष १६ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । स्याउ निर्यातबाट जिल्लामा झण्डै रु ४५ करोड बढी आम्दानी हुन आँकलन छ । जुम्लाको आर्थिक समृद्धिसँग जोडिएको स्याउखेतीको विस्तार र उत्पादन वृद्धिले पछिल्लो समय जुम्ली किसानको दिनचर्या फेरिन थालेको कृषि विकास कार्यालयका निमित्त प्रमुख अधिकारीको भनाइ छ ।

स्याउको बजार प्रवर्‌द्धनका लागि यहाँका कृषि समूह, सहकारीलाई १२ हजार ‘जुम्ला एप्पल’ लेखेको कार्टुन ५० प्रतिशत अनुदानमा वितरण गरेको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा स्थानीय जातको जुम्ली स्याउ, इटाली, गाला, गोल्डेन, फुजी र जोनाप्रिन्स जातका स्याउको खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका सूचना अधिकारी पदमराज कार्कीको भनाइ छ । यहाँका करिब १८ हजार घरधुरी स्याउखेतीमा निर्भर रहेको परियोजनाले जनाएको छ ।

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

कर्णालीका अधिकांश नागरिक  स्वास्थ्य बीमाको पहुँच बाहिरै

जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ

तरकारीखेतीबाट स्वरोजगार बन्दै जुम्लाका महिला 

Leave a comment

Your email address will not be published. Required fields are marked *