जुम्लाको लुकेको स्वर्ग आन्तरिक पर्यटनको केन्द्रबिन्दुमा

काली बहादुर परियार
जुम्ला ,२१ साउन।
जुम्लाको गुठिचौर गाउँपालिका–२ मा अवस्थित रमणीय गुठिचौर क्षेत्र हाल आन्तरिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा तीव्र गतिमा विकास भैरहेको छ।
पर्यटकीय सम्भावनाले भरिपूर्ण यो ठाउँ, विशेषगरी “गुठिचाैर” भन्ने पाटन, अहिले प्राकृतिक सुन्दरता, फुलको सुगन्ध र हरियालीको लागि चर्चित बन्दै गएको छ।
गुठिचौरको खुला फाँटमा फूलेका फूलहरू, मनमोहक हरियाली र वरिपरिका घना जंगलले पर्यटकलाई जादूमय वातावरणको अनुभूति गराउँछ।
यही कारणले पछिल्लो समय साउन र भदौ महिनामा गुठिचौर आन्तरिक पर्यटकले भरिने गर्दछ। शुक्रवार, शनिवार वा सार्वजनिक बिदामा यहाँ आउनेहरूको बाक्लो चहलपहल देख्न सकिन्छ।

एक समय बर्खायाममा गाईगोठको रूपमा प्रयोग हुने गुठिचौर अहिले जुम्लाको आन्तरिक पर्यटनको मुख्य गन्तव्य बन्ने दिशामा अघि बढिरहेको छ। गुठिचौरकाे फाँट अहिले प्राकृतिक सौन्दर्य, हरियाली र सांस्कृतिक मौलिकताले भरिपूर्ण पर्यटकीय स्थलको रूपमा चिनिँदै गएको छ।
गुठिचौर क्षेत्रका पाटनहरूमा फूलेका रंगीबिरंगी फूलको सुगन्ध, चारैतिर हरियाली र मध्य फाँटको खुला दृश्यले पर्यटकलाई लोभ्याउँछ।
घना जङ्गलको बीचमा फैलिएको फाँटले शान्त वातावरण र विश्रामको अनुभूति दिन्छ। विशेषगरी साउन र भदौ महिनामा यहाँ पर्यटकहरूको उल्लेख्य उपस्थिति देखिन्छ।
शुक्रबार, शनिबार तथा सार्वजनिक बिदामा गुठिचाैर पर्यटकले भरिने गरेकाे स्थानीय राजेन्द्र रावलले बताए । उनले भने,” याे समयमा गुठिचाैरमा घुम्न आउनेकाे संख्या उल्लेख्य रहेकाे बताए ।
स्थानीयको सक्रियता र योजनाबद्ध विकास
स्थानीय सरकारका नेता तथा वडा अध्यक्ष ईन्द्र बहादुर बुढाका अनुसार गुठिचौरमा आन्तरिक पर्यटकको आगमन तीव्र रुपमा बढेकाे बताए । “यो ठाउँले मानिसलाई केवल आकर्षित गर्छ, गहिरो सान्त्वना र आनन्द पनि दिन्छ, ” बुढाले भने ।
स्थानीय सरकार पनि पर्यटकीय विकासको सम्भावना बुझेर सक्रिय भएको उनकाे भनाइ छ । सडक विस्तार, प्रचारप्रसार, पूर्वाधार निर्माण, र पर्यटन प्रवर्द्धनमा ध्यान दिइएको वडा अध्यक्ष बुढाले बताए ।

गुठिचौर सदरमुकाम खलङ्गाबाट करिब दुई तिन घण्टाको पैदल यात्रामा पर्छ, जसले गर्दा हाइकिङको रुचि राख्ने पर्यटकको मुख्य गन्तव्य बन्न थालेको छ। गत वर्षकाे तुलनामा भन्दा याे वर्ष गुठिचाैरमा आन्तरिक पर्यटककाे घुइँचो लाग्ने गरेकाे बताए ।
वडा अध्यक्ष बुढाका अनुसार, याे समयमा जुम्ला र छिमेकी जिल्ला बाट समेत जुम्लाकाे गुठिचाैर घुम्न आउने गरेका छन् । अब स्थानीय सरकारले पनि याे क्षेत्रका केही पहल कदमि गर्नु पर्ने दिन आएकाे उनले बताए ।
फोहर व्यवस्थापनको चुनौती
पर्यटकको आगमनसँगै चुनौतीहरू पनि बढेका छन्। पर्यटकीय गतिविधिबाट आयआर्जन बढे पनि वातावरणमा फोहरको समस्या चुलिएको हाेटेल व्यावसायिक छाेजाेङ् लामाले बताइन् ।
उनले भनिन्, “गुठिचौर फाँटका क्षेत्रमा प्लास्टिक, बोत्तल, सिसा आदि फोहोर भेटिन थालेको उल्लेख गर्दै सचेतना र व्यवस्थापनको खाँचो रहेकाे औंल्याइन्।
उनले ठाउँठाउँमा फोहर व्यवस्थापनका लागि खाडल वा डस्टबिनको व्यवस्था गर्नुपर्नेमा जोड दिइन्। फोहरको व्यवस्थापन नगरे गुठिचौरको सौन्दर्यमा क्षति पुग्ने खतरा रहेको उनी उननकाे भनाइ छ । हरिया र स्वच्छ वातावरण रहेकाे गुठिचाैर पछिल्लो समय केही फाेहाेर बन्दै गएकाे छ ।
व्यावसायिक लामाका अनुसार, यस्ताे फाेहाेर मेला लाई व्यवस्थापन गर्न स्थानीय सरकार देखि प्रदेश सरकारले कदम चाल्नु पर्ने धारणा राखिन् । उनले भनिन् , ” अस्त व्यस्त सरकारले व्यवस्थापन नगर्दा स्वच्छ वातावरणकाे गुठिचाैर दुर्घन्धित हुने छ ।
आर्थिक विकासको ढोका
गुठिचौरको पर्यटन विकासले स्थानीयवासीको आम्दानी बढाउने, स्वरोजगारको अवसर सिर्जना गर्ने र सामाजिक, सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने सम्भावना बोकेको छ।
स्थानीय सरकार पूर्वाधार र सरसफाइ सँगै दीर्घकालीन पर्यटन योजना कार्यान्वयनमा जुटेमा गुठिचौर जुम्लाको मात्र होइन, सिंगो कर्णालीको नमूना पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना बलियो देखिन्छ। पहिलेकाे तुलनामा हेर्दा पुर्वाधारकाे हिसाब सहज भएको छ ।
पहिले गुठिचाैर घुम्न आउने पर्यटकले बाटाेका कारणले सास्ती खेप्ने गरेका थिए । सवारी साधनमा एक डेढ घण्टा लाग्ने बाटाे हिलाम्मे बाटाेका कारणले ३/४ घण्टा लाग्ने गरेकाे थियाे ।
तर हिजाे आज पुर्वाधार बिकास कार्यालय जुम्लाको बहुबर्षिय आयाेजनाले गर्दा आन्तरिक तथा बाह्य पर्यटकका लागि सहज भएको छ । पर्यटकीय स्थल गुठिचाैर देखि गुठिचाैर गाउँपालिकाकाे वडा नम्बर ३ सम्म बाटाे धेरै सुधार रहेकाे छ ।
हिलाम्मे र धुलाक्य सडकका कारणले सास्ती पाएका आन्तरिक तथा बाह्य पर्यटकका लागि हिजाे आज सहज भएको छ ।
गुठिचौरको यो यात्रा गाईगोठको साधारण पहिचानबाट सुरु भएर अहिले आन्तरिक पर्यटनको उज्यालो गन्तव्य बन्ने मोडमा आइपुगेको छ। योजना, पूर्वाधार, जनसहभागिता र प्रकृति,संरक्षणको सन्तुलनले गर्दा गुठिचौरले भविष्यमा अझ धेरैको मन जित्न सक्ने सम्भावना रहेकाे छ ।






