वन क्षेत्रलाई उत्पादन र आयआर्जनसँग जोड्दै अघि बढ्छाैं: मुख्यमन्त्री आचार्य

२१, असार २०८२

अर्घाखाँची।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले वन क्षेत्रलाई उत्पादन र आम्दानीको माध्यमका रूपमा विकास गरिने बताउनु भएको छ ।

शनिबार अर्घाखाँचीको डिभिजन वन कार्यालय अन्तर्गत डिभिजन वन नर्सरी, रुब्दी पुगेर अवलोकन गर्नुभएका मुख्यमन्त्री आचार्यले वृक्षारोपण कार्यक्रमलाई मात्र नभई त्यसपछिको संरक्षण र उपयोगितासम्म विस्तार गर्नुपर्ने धारणा राख्नुभयो ।

`हामीले लगाएका बिरुवाहरू संरक्षित हुनु अत्यन्त जरुरी छ,´ उहाँले भन्नुभयो,`वनमा खेर जाने पातपतिंगर र झार संकलन गरेर प्राङ्गारिक मल उत्पादनमा प्रयोग गर्न सकिन्छ । यसले वन व्यवस्थापनमा योगदान पुग्नुका साथै डढेलो नियन्त्रणमा पनि सघाउ पुर्‍याउँछ ।´

मुख्यमन्त्री आचार्यले सामुदायिक वनहरूलाई प्राङ्गारिक मल उत्पादनमा सक्रिय बनाई कृषि क्षेत्रसँग जोड्न सकिने बताउँदै प्रदेश सरकारले अघि सारेको अर्गानिक खेती अभियानलाई यसले थप टेवा पुर्‍याउने स्पष्ट पार्नुभयो ।

उहाँले वन क्षेत्रलाई केवल संरक्षणको दृष्टिकोणले मात्र नभई उद्यम, रोजगारी र आयआर्जनको स्रोतका रूपमा विस्तार गर्ने खालका कार्यक्रमहरू आवश्यक रहेकोमा जोड दिनुभयो ।

डिभिजन वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत केशर खड्काका अनुसार चालू आर्थिक वर्षमा जिल्लामा ६३ हेक्टर क्षेत्रमा वृक्षारोपण गर्ने लक्ष्य रहेको छ । साउन १४ गतेसम्म झण्डै १ लाख बिरुवा वितरण भइसकेको जानकारी खड्काले दिनुभयो ।

हाल जिल्लाभित्र ६ वटा नर्सरीमा १ लाख ६३ हजार वटा वर्षे र बहुवर्षे बिरुवा तयारी अवस्थामा छन् । डिभिजन वन कार्यालयले तेजपात र टिमुरकाे बिशेष खेतिबिस्तारकाे अभियान थालेकाे छ ।

कम्तिमा पाँच सय बिरुवा माग गर्नेहरूकालागि कार्यालयले नि:शुल्क ढुवानि गर्ने, राेपण कार्यमा सहजिकरण समेत गर्दै आएकाे छ । हाल सम्म टिमुरका २० हजार पाँच सय र तेजपातकाे १२ हजार नाैं सय बाेट राेपण गरिएको छ । याे अभियान साउन १४ सम्म चल्ने कार्यालयले बताएकाे छ ।

बिरुवा रोपिएका क्षेत्रहरूको प्रभावकारी अनुगमनका लागि जिपिएस लोकेसन प्रणालीमार्फत निगरानीको व्यवस्था गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

वन क्षेत्रलाई उत्पादन र आयआर्जनसँग जोड्दै अघि बढ्छाैं: मुख्यमन्त्री आचार्य

आठौ जिल्ला सभा:स्थानीय तहले नदिजन्य तथा खनिज

Leave a comment

Your email address will not be published. Required fields are marked *