कर्णालीमा नागरिक स्वास्थ्य परीक्षण सुभारम्भ : घातक नसर्ने रोगको परीक्षण र उपचार निशुल्क

सुर्खेत,२२ बैशाख ।
कर्णाली प्रदेश सरकारले नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम शुभारम्भ गरेको छ । नसर्ने रोगलाई समयमै रोकथाम, उपचार तथा परामर्श गरी न्यूनीकरण गर्ने उद्देश्यका साथ निःशुल्क नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम अघि बढेको हो ।
सामाजिक विकास मन्त्रालयले कर्णाली प्रदेश भित्र स्थायी रूपमा बसोबास गर्ने ४० वर्षमाथिका नागरिकमा नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि रोकथाम, उपचार तथा परामर्श गर्न नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन कार्यविधि २०८१ तयार गरी कार्यक्रम कार्यान्वयनलाई अघि बढाएको हो ।
आइतबार ४० वर्ष कटेका प्रदेशभरका नागरिकमा नसर्ने रोगहरू मधुमेह, उच्च रक्तचाप तथा मृगौला रोगको निःशुल्क परिक्षणका साथै उपचार गर्ने उद्देश्यले कार्यक्रमको शुभारम्भ भएको हो ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमको शुभारम्भ गरेका हुन् । मन्त्री भण्डारीले पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१३, स्थित गुमी स्वास्थ्य चौकीबाट स्वास्थ्य परीक्षण कार्यक्रमको औपचारिक शुभारम्भ गरे ।
कार्यक्रमले उक्तरक्तचाप, मधुमेह, दीर्घ श्वाप्रश्वास, मिर्गौलासम्बन्धी रोग, क्यान्सरलगायत नसर्ने रोग न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । कार्यक्रम सञ्चालन कार्यविधि अनुसार प्रदेशका स्वास्थ्य चौकी, आधारभुत अस्पताल, रणनीतिक स्थानका अस्पताल तथा स्वास्थ्य संस्था, जिल्ला स्तरिय अस्पताल, प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशालामा निःशुल्क परीक्षण हुनेछ ।
स्वास्थ्य संस्थाले तीन दिन विशेष अभियान संचालन गर्नुपर्ने, विशेष अभियान सञ्चालन गरेको एक महिनासम्म लक्षित समुहलाई निःशुल्क सेवा उपलब्ध गराउनुपर्ने कार्यविधिमा उल्लेख छ । रणनीतिक स्थान वा माथिल्लो तहका स्वास्थ्य संस्थाहरूले सेवा वर्षभरी नियमित संचालन गर्नुपर्नेछ । स्वास्थ्य परीक्षणको क्रममा कुनै व्यक्तिलाई गम्भीर रोग पहिचान भएमा प्रारम्भिक औषधि उपचार गरी थप उपचारका लागि विशेषज्ञ वा विशिष्टिकृत अस्पतालमा पठाउनुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।
समारोहमा मन्त्री भण्डारीले १० वटै जिल्लाका सबै स्थानीय तहमा नसर्ने रोगहरूको नियमित परीक्षण तथा उपचार सेवा सुरु भएको बताए । पछिल्लो समय अस्वस्थ खानपान र जीवनशैलीका कारण कर्णालीमा नसर्ने रोगको जोखिम उच्च हुँदै गएको उल्लेख गर्दै यसको जोखिम रोक्न मन्त्री भण्डारीले नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम शुभारम्भ गरिएको बताए ।
४० वर्ष माथिको जनसंख्यामा नसर्ने रोगको परीक्षण गर्नुको मुख्य उद्देश्य कर्णालीको समर्ग स्वास्थ्यको अवस्था पत्ता लगाउनु रहेको मन्त्री भण्डारीले बताए । नसर्ने रोगहरूबाट भविष्यमा निम्तन सक्ने जोखिम न्यूनीकरण गरी स्वस्थ कर्णाली निर्माण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको मन्त्री भण्डारीको दावी छ ।
कार्यक्रममार्फत स्कृनिङ गरिएको तथ्यांकको आधारमा भावि स्वास्थ्य रणनीति तय गर्न सघाउ पु¥याउने मन्त्री भण्डारीको अपेक्षा छ । प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमलाई नीतिगत रूपमा व्यवस्थित गरी अघि बढाइएको उल्लेख गर्दै मन्त्री भण्डारीले ढुक्क भएर सेवा लिन आग्रह गरे ।
मन्त्री भण्डारीका अनुसार कार्यक्रमलाई प्रभावकारी बनाउन कर्णालीका सबै पालिकामा स्वास्थ्य प्रवद्र्धनात्मक कार्य सञ्चालन गर्ने मन्त्रालयको तयारी छ । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक मानकुमारी गुरुङले प्रदेश सरकारद्वारा महत्वका साथ अघि बढाइएको कार्यक्रम ४० कटेका महिला तथा पुरुषमा नसर्ने रोगको जोखिम कम गर्न प्रभावकारी हुने विश्वास व्यक्त गरिन् ।

उनले नेपालमा नसर्ने रोगहरू दुई तिहाइले बढ्दै गएको उल्लेख गर्दै यसबाट कर्णाली पनि अछुतो नरहेको उनले बताइन् । विशेषज्ञ सेवा नपुगेका क्षेत्रका नागरिकको निःशुल्क स्वास्थ्य जाँच गरी अवस्था अनुसार उपचारसमेत गरिने गरुङको भनाई छ । आइतबार सुरु गरिएको परीक्षण तीन दिन चल्ने उल्लेख गर्दै यसपछि १० वटै जिल्लामा विभिन्न मितिमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
कार्यक्रम सञ्चालनका लागि जिल्लामा पठाइएको १० लाख बजेटले स्कृनिङ सामग्री खरिद गर्ने र निर्देशालयको व्यवस्थापनमा यस वर्ष नागरिक स्वास्थ्य परीक्षणलाई बृहत बनाइने निमित्त निर्देशक गुरुङको दाबी छ ।
आगामी आर्थिक वर्षबाट कर्णालीका ७९ वटै स्थानीय तहसँग समन्वय गरी वडास्तरबाटै परीक्षणलाई नियमित बनाइने उनको भनाई छ । उनका अनुसार प्रदेशका सबै स्थानीय तहको केन्द्रमा रहेका स्वास्थ्य संस्थामा तीन दिन ४० वर्ष माथिका नागरिकको स्वास्थ्य जाँच तथा परीक्षण गरिने छ ।
स्कृनिङपश्चात देखा परेका नयाँ बिरामीहरूको अन्तिम परीक्षण नजिकको रणनीतिक तथा आधारभूत अस्पतालमा निदान गरी बिरामीलाई औषधीको सुचिश्चिततासँगै सम्बन्धित स्थानीय तहका वडास्तरमा रहेका स्वास्थ्य संस्थाबाट औषधि उपलब्ध गराइने छ ।
कार्यक्रम अन्तर्गत प्रयोशाला नभएका स्वास्थ्य संस्थामा नमुना संकलन गरी नजिकका रणनैतिक तथा आधारभूत अस्पतालमा परीक्षणका लागि पठाइने छ । त्यस्तै, प्रयोगशाला भएका स्वास्थ्य संस्थामा नमुना परीक्षणसँगै कैफियत देखिए उपचार गरिने छ ।
यस्ता स्वास्थ्य संस्थामा उपचार सम्भव नभए जटिलताका आधारमा सुविधा सम्पन्न अस्पतालमा रेफर गरिने नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमका फोकल पर्सन किरण शर्माले बताए । उनका अनुसार बिरामीको जटिलता हेरेर कर्णाली प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने गरी विशिष्टिकृत अस्पताल तोकिएको छ । कार्यक्रमले उच्च रक्तचाप, मधुमेह, दीर्घ श्वाप्रश्वास, मिर्गौलासम्बन्धी रोग, क्यान्सरलगायत नसर्ने रोग न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा लिइएको शर्माले बताए ।
स्वास्थ्य सेवा निर्देशनालयका अनुसार यस वर्ष कर्णालीका सबै जिल्लामा फरक–फरक मितिमा नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिने छ । जस अन्तर्गत आइतबार सुर्खेतमा परीक्षण सुरु भएको छ ।
यस्तै, रुकुम पश्चिम जेठ ५ देखि १५, जुम्लामा जेठ ५ देखि १५, डोल्पा २ देखि १०, कालीकोट जेठ २ देखि १०, जाजरकोटमा जेठ १ देखि १०, मुगु जेठ १ देखि १५, हुम्लामा वैशाख २७ देखि जेठ १०, दैलेखमा वैशाख २७ देखि जेठ १० र सल्यानमा वैशाख २९ देखि जेठ १० गतेसम्म नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन हुनेछ ।






