जुम्लाका महिलाले सुरु गरे धुप बत्ती उत्पादन : आत्मनिर्भरता तर्फको नयाँ कदम

काली बहादुर परियार
जुम्ला,१९ भदौ।
मानिसले चाहेपछि के सम्भव छैन् । आकाशमा उड्ने देखि बाटाेमा गेड्ने साधन बनाइ सकेका छन् । यस्तै एक उदारण बनेका छन् जुम्ला चन्दननाथ नगरपालिका -८ का महिलाहरू । घरमै रोजगारी, घरमै आत्मनिर्भरता भन्ने लक्ष्यसहित महिलाले पहिलो पटक धुप बत्ती उत्पादनमा हात हालेका छन्। चन्दननाथ नगरपालिका–८ का नौ जना महिलाले आफ्नै लगानी र पहलमा सुरु गरेको यो सानो उद्यम अहिले जुम्लामा चर्चा कमाउँदै गएको छ।
साेसेक नेपालले आयोजना गरेको सीपमूलक तालिम पछि महिलाहरूले सिकेका सीपलाई व्यवहारमा उतार्दै धुप बत्ती उत्पादन सुरु गरेका हुन्। जयलक्ष्मी बोहराको अध्यक्षतामा गठन गरिएको समूहले सुरुवाती चरणमै उत्साहजनक परिणाम देखाएका कारण महिलाहरू अझ आत्मविश्वासका साथ अघि बढेका छन्।
अध्यक्ष बोहरा भन्छिन्, “हामीले सुरुमा आफ्नो घरमै उत्पादन गरिरहेका छौँ। बजारमा पाइने धुपभन्दा सस्तो, उपयोगी र स्वास्थ्यका लागि लाभदायक हुने भएकाले यसको माग बढ्ने विश्वास छ।

तर आवश्यक सामग्री अभावका कारण ठूलो मात्रामा उत्पादन गर्न भने नसकिरहेकाे उनकाे भनाइ छ । उनले भनिन् , हाल धुप बत्ती राख्ने प्याकेट नपाउँदा महिलाहरूले बाटोमा फ्याँकिएको धुपबत्तीकाे खोल प्रयोग गरेर पैकिङ गर्दै आएका छन्।
उनीहरूको भनाइ अनुसार उत्पादनलाई अझ आकर्षक र बजारमैत्री बनाउन प्याकेट, मेशिन र अन्य उपकरणको खाँचो छ। यो उद्यमले स्थानीय महिलालाई स्वरोजगार दिलाउने मात्र होइन, आत्मनिर्भर बन्ने बाटो खोल्ने विश्वास लिइएको छ।
उनिहरूले भनिन् , ” हामीले रोजगारी खोज्न शहर धाउन नपरोस् भन्ने सोचका साथ यो काम सुरु गरेका हौँ। तर यसलाई स्थायित्व दिन र ठूलो स्तरमा लैजान सरोकारवाला निकायले ध्यान दिनु जरुरी छ।
जुम्लामा धुप बत्ती उत्पादन सुरु हुनु मात्र महिलाको सीप विकास नभई ग्रामीण अर्थतन्त्रलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। यसले स्थानीय कच्चा पदार्थको सदुपयोग हुने र महिला उद्यमशीलताको नयाँ ढोका खोल्ने सम्भावना देखिएको छ।






