बाँकेमा मल अभावको चपेटामा किसान : आपूर्ति सहज बनाउन नेपाल किसान महासंघको सक्रिय पहल

बाँके,१९ साउन।
बाँकेका किसान रासायनिक मलको चरम अभावमा परिरहेका छन्। यिनै समस्यालाई सम्बोधन गर्न नेपाल किसान महासंघ बाँकेले आइतबार विभिन्न सरोकारवाला निकायसँग छलफल तथा दबाबमूलक पहल सुरु गरेको छ।
महासंघका सचिव ललितकुमार रौनियारको नेतृत्वमा गठित टोलीले नेपालगन्जस्थित कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालयमा भेटघाट गरी किसानलाई मल सहज उपलब्ध गराउन आग्रह गरेको हो।
“मानो रोपी मुरी फलाउने बेलामा हरेक वर्ष मलको अभाव झेल्नुपर्छ,” महासंघ सचिव रौनियारले भन्नुभयो, “मल वितरणमा पारदर्शिता हुनुपर्छ, सहकारीहरूले आफ्ना सदस्यलाई मात्रै मल बाँडेर बाँकी किसानलाई वञ्चित बनाउने प्रवृत्ति रोकिनुपर्छ।”
कृषि सामग्री कम्पनी नेपालगन्जका प्रमुख पुष्पराज श्रेष्ठले माग अनुसारको मल प्राप्त नहुँदा अभाव देखिएको स्वीकार्दै केन्द्र सरकारबाट पहल भएमा समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो।
साल्ट ट्रेडिङका निमित्त प्रमुख ध्रुवमान श्रेष्ठले भने हाल ५ हजार बोरा युरिया स्टकमा रहेको तर कागजी प्रक्रिया नपुगेकाले वितरण गर्न नसकेको जानकारी दिनुभयो। उहाँले केही दिनमै थप मल आउने र वितरण सुरु हुने प्रतिवद्धता जनाउनुभयो।
उक्त टोलीले जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रमुख एसपी रामप्रसाद घर्तीमगरसँग पनि भेट गरेको छ। टोलीले मल अभावका कारण किसान भारतबाट मल ल्याउन बाध्य हुने तर सुरक्षाकर्मीले रोकेको गुनासो गरेपछि एसपी घर्तीमगरले वास्तविक किसान प्रमाणित हुने गरी लालपुर्जाको फोटोकपीसहित १–२ बोरा मल ल्याउन दिने मौखिक निर्देशन दिएको जानकारी दिनुभयो।
“कालोबजारी गर्नेको हकमा भने कडा कारबाही हुनेछ,” उहाँले स्पष्ट पार्नुभयो।
सरकारले समयमै मल आपूर्ति गर्न नसक्नु, वितरण प्रणालीमा पारदर्शिता नहुनु र स्थानीय निकायहरूको मौनताले किसानलाई हरेक वर्ष सास्ती खेप्न बाध्य बनाएको भन्दै नेपाली काँग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारीले गम्भीर आपत्ति जनाउनुभयो।
उहाँले कालोबजारी नियन्त्रण र किसानलाई अनुदानको मल सहज उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो।
उक्त पहल टोलीमा केन्द्रिय प्रतिनिधी कुन्तलाराज शर्मा, बाँके क्षेत्र नम्बर–२ का अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ, सचिव विजय मल्ल, नेपालगन्ज नगर अध्यक्ष लोकबहादुर शाह, वडा नं. १३ का अध्यक्ष अरुण शाह र वडा नं. १४ का अध्यक्ष भल्लु कोरीको सहभागिता रहेको थियो।
किसानका समस्या समाधान गर्न यस्ता पहलहरू प्रभावकारी हुने भन्दै स्थानीय कृषकहरूले मल आपूर्तिमा शीघ्र सुधारको अपेक्षा गरेका छन्।






