नेपालगन्जमा प्रभातफेरीदेखि सडक नाटकसम्म: ३८औँ विश्व एड्स दिवस जनचेतनामूलक कार्यक्रमसहित मनाइयो

बाँके ,१६ मंसिर ।

‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रुपान्तरण गरौँ’ भन्ने मूल नाराका साथ ३८औँ विश्व एड्स दिवस नेपालगन्जमा विभिन्न सचेतनामूलक कार्यक्रमसहित मनाइएको छ। दिवसको अवसरमा आज बिहान भेरी अस्पताल परिसरबाट प्रभातफेरी प्रारम्भ गरिएको थियो। त्रिभुवन चोक, सदरलाइन, त्रिवेणी मोड, न्युरोड हुँदै बसपार्कसम्म पुगेको प्रभातफेरी कोणसभामा परिणत भएको थियो, जहाँ सहभागीहरूले एड्सबारे सही जानकारी र सचेतना फैलाउने प्रतिवद्धता जनाए।

प्रभातफेरीमा स्वास्थ्यकर्मी, विद्यार्थी, स्थानीय जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो। कोणसभामा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हाजिरजवाफ प्रतियोगिता, कन्डम फुलाउने प्रतिस्पर्धा र नृत्य प्रस्तुति जस्ता कार्यक्रमहरू समेत गरिएका थिए, जसले उपस्थित दुवै वर्ग– युवा र समुदायलाई एचआईभी/एड्सबारे थप संवेदनशील बनायो।

कार्यक्रममा बोल्दै भेरी अस्पतालका फिजिसियन तथा एड्स फोकल पर्सन डा. संकेत रिसालले समाजमा एचआईभी/एड्सबारे फैलिएका भ्रम हटाउन सबैको भूमिका महत्वपूर्ण रहेको बताए। “एचआईभी संक्रमित भए पनि समयमै एआरटी उपचार सुरु गरे जीवन सामान्यजस्तै बिताउन सकिन्छ,” उनले भने, “त्यसैले रोकथाम, परीक्षण र उपचारलाई सहज र प्रभावकारी बनाउनेतर्फ सबैको ध्यान आवश्यक छ।”

त्यस्तै भेरी अस्पतालका ईएनटी सर्जन डा. दिनेश चौधरी, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्द लगायतका वक्ताहरूले एचआईभी/एड्ससँग संघर्ष गरिरहेका व्यक्तिहरूलाई भेदभावमुक्त वातावरण आवश्यक रहेको औंल्याए। उनीहरूका अनुसार समाजमा अझै पनि रहेका गलत धारणाहरू हटाउन नियमित सचेतनामूलक अभियान अनिवार्य छ।

यसैबीच दिवसकै अवसरमा समुदायस्तरमा चेतना जगाउन नेपालगन्ज–१६ जयसपुरमा सडक नाटक प्रस्तुत गरिएको थियो। AHF नेपालका कार्यक्रम संयोजक सञ्जय पौडेलका अनुसार नाटकमार्फत एचआईभी संक्रमण, रोकथाम र संक्रमितप्रति सकारात्मक दृष्टिकोण निर्माण गर्ने सन्देश प्रवाह गरिएको हो। “समाजले अझै पनि एचआईभी भएका व्यक्तिप्रति दृष्टिकोण परिवर्तन गर्न सकेको छैन, त्यसैले समुदायमै गएर जनचेतना फैलाउन सडक नाटक प्रभावकारी माध्यम हो,” उनले बताए।

हरेक वर्ष डिसेम्बर १ मा विश्वभर मनाइने एड्स दिवसले एचआईभी संक्रमण, रोकथाम, उपचार तथा सचेत जीवनशैलीबारे जनचेतना जगाउने महत्वपूर्ण अवसर प्रदान गर्छ। नेपालगन्जमा आयोजित आजका कार्यक्रमहरूले स्थानीय समुदायमा स्वास्थ्य सचेतना थप मजबुत हुने अपेक्षा गरिएको छ।

 

नेपालगन्जमा प्रभातफेरीदेखि सडक नाटकसम्म: ३८औँ विश्व एड्स दिवस जनचेतनामूलक कार्यक्रमसहित मनाइयो

एनसेलको ‘एनपीएल प्ले प्याक’ सार्वजनिक: अब मोबाइलमै

नेपालगन्जमा प्रभातफेरीदेखि सडक नाटकसम्म: ३८औँ विश्व एड्स दिवस जनचेतनामूलक कार्यक्रमसहित मनाइयो

मुगुमा महिलामार्फत जलवायु चेतना विस्तार

Leave a comment

Your email address will not be published. Required fields are marked *