परीक्षण उडानको आठ महिनासम्म पनि लागेन नियमित उडानको टुङ्गो


कालिकोटको नरहरिनाथ गाउँपालिका–१, स्थित कोटबाडामा रहेको सुनथराली विमानस्थल निर्माण थालिएको ३९ वर्षपछि सम्पन्न भएको थियो । वि.सं. २०४२ सालबाट निर्माण थालिएको विमानस्थल ३९ वर्षमा पुरा भएपनि परीक्षण उडानमा मै सिमित भएको छ । विमानस्थल निर्माण थालिएको झण्डै चार दशक मात्रै बितेको छैन यस अवधिमा विमानस्थल निर्माणका क्रममा ३५ जना मजदुरले ज्यान पनि गुमाएका छन् ।

विगत ३९ वर्षदेखि निर्माण थालिएको विमानस्थलमा हालका प्रधानममन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, कर्णालीका पूर्वमुख्यमन्त्रीहरु जीवनबहादुर शाही, महेन्द्रबहादुर शाही र राजकुमार शर्मादेखि कयौं मन्त्रीहरू कोटबाडा विमानस्थलमा पुगेर राजनीतिक भाषण गरेका छन् । उनीहरुकै एउटै बोली हुन्छ । ‘परीक्षण उडान गर्ने, परीक्षण उडानपछि नियमित उडान गर्ने ।’ तर, दुई पटक परीक्षण उडान भएको विमानस्थलमा नियमित उडानको टुङ्गो भने अहिलेसम्म लाग्न सकेको छैन ।

विभिन्न राजनीतिक दलका शिर्ष नेताहरू आएर विमानस्थल सञ्चालन गर्ने बाचा गरेको भएपनि हालसम्म पनि विमानस्थल सञ्चालनमा आउन नसकेको स्थानीय विमल विष्टले बताए । ‘चुनावका बेला सबैले विमानस्थल नियमित उडान गर्ने बाचा गर्छन्,’ उनले भने, ‘अहिलेसम्म नियमित उडानको टुङ्गो भने लाग्न सकेको छैन् ।’

दुई पटक परीक्षण उडान

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री रहेका जीवनबहादुर शाही संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हुदाँ २९ माघ २०७३ मा पहिलो पटक यो विमानस्थलमा परीक्षण उडान सफल भएको थियो । त्यसयता १४ फागुन २०८० मा पूर्व उपप्रधान तथा रक्षा मन्त्री पुर्णबहादुर खड्का, पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, कर्णालीका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा, पूर्व मुख्यमन्त्रीद्वय महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीसहितको टोलीले नेपाल एयरलाइन्स र तारा एयरका दुईवटा जहाज अवतरण गरेर विमानस्थलको उद्घाटन गरेका थिए ।

विमानस्थलको उद्घाटन गर्दै पूर्व उपप्रधान तथा रक्षामन्त्री पुर्णबहाददुर खड्काले लामो समयपछि निकै मेहनत र कठिन परिस्थितीका बाफजुत विमानस्थलको उद्घाटन भएको बताएका थिए । उनले विमानस्थल निर्माणमा गोली खाएर मारिएका एक नाबालक सहित ३५ जना धादिङ जोगिमाराका मजदुरप्रति श्रद्धान्जली व्यक्त गरेका थिए । नियमित उडानका लागि स्थानिय सरकार प्रदेश सरकार र संघिय सरकारले पहल गर्ने प्रतिवद्धता जनाएका थिए । यात्रुको माग हेरेर हप्ताको एकपटक उडान भर्ने प्रतिवद्धतासमेत उनको थियो । त्यसयता यसतर्फ भने कसैको चासो नजाँदा अहिले कोटबाडा विमानस्थलमा परीक्षण उडानमै सीमित भएको छ ।

कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–१, कोटबाडामा रहेको सुनथराली विमानस्थल परीक्षण उडान भएको आठ महिनासम्म सञ्चालनमा आउन सकेको छैन् । गत वर्षको १४ फागुनमा विमानस्थलको औपचारिक उद्घाटन गरिएको भएपनि अहिलेसम्म नियमित उडान हुन सकेको छैन् ।

औपचारिक उद्घाटन भएको आठ महिना बित्दापनि विमानस्थल सञ्चालन नआउँदा अहिले स्थानीय निरास बनेको छन् । ३९ वर्षदेखि निर्माणधिन विमानस्थल अहिलेसम्म नियमित उडान नहुँदा आश्चर्य लागेको स्थानीय राजकुमार विष्टले बताए । ‘औपचारिक उद्घाटन भएको आधा वर्ष हुँदा पनि त्यो सपना पूरा भएन, पूरा हुन अझै कति समय लाग्ने हो,’ उनले भने, ‘विमान आउने सडक पूर्वाधार राम्रो नभएकाले पनि विमानस्थल चल्ने निश्चित छ ।’

उद्घाटनका क्रममा नागरिक उड्डयन प्राधिकरणले सातामा एकपटक सुर्खेत र नेपालगन्जबाट सुनथराली विमानस्थलमा उडान भर्ने प्रतिबद्धता जनाएको थियो । तर, प्राधिकरणले अहिलेसम्म सुनथराली विमानस्थलमा उडान भर्न अनुमति नदिएको नरहरिनाथ गाउँपालिकाका प्रवत्ता प्रदीप बोहराले बताए । ‘राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसँग जहाज अभाव हुँदा उडान हुन सकेको छैन्,’ उनले भने, ‘नेपाल वायुसेवा निगमले सातामा एकपटक उडान भर्र्नेगरी सहमति भएको थियो ।’ निगमसँग भएका दुईमध्ये एक जहाज ग्राउन्डेड भएपछि नियमित उडान हुन नसकेको गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले जानकारी दिए । ‘निगमले तोकेको भाडादरमा निजी कम्पनीले उडान गर्न नमानेका कारण नियमित उडान हुन सकेको छैन्,’ उनले भने, ‘निजी क्षेत्रका सीता, तारा र अन्य एयरलाइन्ससँग कुरा भरहेको छ ।’

भाडादर तोकियो

निगमले सुर्खेत, नेपालगन्ज र धनगढीबाट सुनथराली विमानस्थलमा उडानका लागि भाडादर कायम गरिसकेको छ । नेपालगन्ज–कालिकोटका लागि प्रतिव्यक्ति पाँच हजार पाँच सय ५१, सुर्खेत–कालिकोट तीन हजार नौ सय एक रुपैयाँ र धनगढी–कालिकोट पाँच हजार दुई सय ४९ रुपैयाँ भाडा दर कायम गरिएको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।

नीजि कम्पनीसँग छलफल हुँदै सुनथराली विमानस्थल सञ्चालनका लागि बायुसेवा निगमसँग गम्भीर भएको र नेपाल वायुसेवा निगमसँग पर्याप्त जहाज नहुँदा उडानमा समस्या भएको प्राधिकरणका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले बताए । ‘सुनथराली विमानस्थलमा जहाज उडानका लागि हामी जुनसुकै कम्पनीलाई पनि अनुमति दिन तयार छौं’, उनले भने, ‘निजी कम्पनीसँग पनि छलफल गरिरहेका छौं ।’
खर्चको छैन लेखाजोखा

विमानस्थल निर्माण थालिएको तीन दशक नाघ्दा कति खर्च भयो भन्ने कुनै लेखाजोखा छैन । कहिले ठेकेदार, कहिले उपभोक्ता समिति त कहिले मन्त्रालय आफैँले काम गरेकाले कति खर्च भयो भन्ने कुनै लेखाजोखा नरहेको जिल्ला समन्वय समिति कालिकोटका पूर्व इञ्जिनियर चक्रबहादुरले शाही बताए । ‘कहिले ठेक्कामार्फत कहिले उपभोक्ता समिति मार्फत काम भयो,’ उनले भने, ‘अहिलेसम्म खर्च कति भयो अत्तोपत्तो छैन ।’

दैनिक तीन सय रुपैयाँ पाउने मजदुरको ज्याला हजार पुग्यो कोटबाडा विमानस्थल निर्माण कार्य कुन गतिमा अघि बढिरहेको थियो भन्ने कुरा थाहा पाउन त्यहाँ कार्यरत कामदारको ज्यालालाई उदाहरणको रुपमा लिन सकिने पूर्व जिल्ला विकास समितिका सदस्य कटबहादुर बिष्टका बताए । ‘वि.सं. २०४२ सालमा निर्माण कार्य शुरु हुँदा त्यहाँ काम गर्ने मजदुरको दैनिक ज्याला तीन सय रुपैयाँ थियो,’ उनले भने, ‘अहिले यो बढेर १५ सय पुगिसकेको छ, तर काम अझै सम्पन्न भएको छैन ।’

परीक्षण उडानको आठ महिनासम्म पनि लागेन नियमित उडानको टुङ्गो

YUGAAWHAN NATIONAL DAILY (2081-06-04)

परीक्षण उडानको आठ महिनासम्म पनि लागेन नियमित उडानको टुङ्गो

सम्पादकीय: हर्ष बढाईले संविधान कार्यान्वय हुँदैन