हराए चिठीपत्र, फेरिए हुलाकीको अवस्था


पुजनीय बुवाआमा, पाउपरी ढोग । म यहाँ (भारतमा) आरामै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ होला । भने आशामा छु । सबैभन्दा पहिला त म भागेर भारत आएँ त्यसका लागि माफी चाहन्छु । बुवाआमा म यहाँ राम्रो काम पाएर बसेको छु । भारतको सिम्ला भन्ने ठाउँमा पुगेको छु । म अहिले स्याउ लगाउने करी बनाउने काममा लागेको छु ।
मेरो चिन्ता नलिनुहोला, आफ्नो र भाइबहिनीको ख्याल गर्नुहोला । २०५८ सालतिर हराएका भाइको यस्तो बेहोराको चिठी हुलाकी घरमा पु¥याउँदा जुम्लाको सिंजा –६ का धनबहादुर रोकाया निकै खुसी भएका थिए । त्यो खुसी त म बयान नै गर्न सक्दिनँ उनले भने । त्यतिबेला उनी ३४÷३५ वर्षको थिएँ, भाइ हरायोभनेर बुबाआमा रुनुहुन्थ्यो, एक्कासि भाइको चिठी आयो ।
आफूहरू कोदोबारीमा काम गर्दैगर्दा हुलाकीले चिठी ल्याएको रोकायालाई अहिले पनि याद छ । हुलाकीले चिठी ल्याए पनि पढ्दिने कोही थिएन । उनले भने, ‘आफ्नो पल्लो घरका छिमेकी मानबहादुर रोकायालाइ पढ्दिनु भनेर बुबाआमाले पढ्न लगाउनुभयो ।’
मानबहादुर गाउँमा भर्खरै शिक्षक जागिरे थिए । मानबहादुरले चिठी पढेर सुनाएपछि छोरा कुशल रहेको थाहा पाएर बाबुआमाले हर्षका आँसु खसाले र मेरो पनि आँखा रसाए । खुसीको खबर ल्याएको भन्दै हुलाकीलाई मीठो–मीठो पकाएर खुवाएको पनि धनबहादुर सम्झन्छन् ।
करिब ४० सालदेखि हुलाकीको काम गर्दै आएका साविकको महत गाविस र हालैको जुम्लाको चन्दननाथ–७ का सिंह रावल उतिबेला सिंजा क्षेत्र पर्ने कनकासुन्दरी गाविस–३ हालैको कनकासुन्दरी–३ को ओखरपाटा गाउँमा चिठी बोकेर पुगेको बताउँछन् ।
रावललाई ती आमाको नाम झट्ट याद छैन । उनको छोराले पठाएको चिठी पु¥याउन जाँदा भक्कानिँदै रुन्थिन् । उनको छोरा भारतमा हुनुहुन्थ्यो । उनले भने, ‘मेरो छोरालाई भेटेर आउनुभएको होला, कस्तो भएको छ।मेरो छोरा भनेर मलाई सोध्नुहुन्थ्यो ।’
छोरा नै आएको हो कि जस्तो गरेर माया गर्नुहुन्थ्यो, खाना खुवाएर पठाउनुहुन्थ्यो । फेरि छोरालाई चिठी पठाउँदा छिट्टै अर्को चिठी लिएर आउनु है भनी ती आमाले भनेको आवाज हुलाकी सिंह रावल अहिले पनि सम्झिरहन्छन् । एक समय थियो, भारत तथा अन्य देशमा गएका र स्वदेशमै पनि घरबाट टाढा पढ्न लेखन घरबाहिर गएका परिवारका सदस्य वा आफन्तहरूले पठाएको चिठीका थाकले हुलाकीका झोला भरिन्थे,उनी भन्छन् ।
गाउँघरमा हुलाकी आउँदा बेग्दै प्रकारको रमझम हुन्थ्यो । सबैभन्दा बढी सिंजा क्षेत्रका चिठी बढी आउथे । किनभने त्यो ठाउँमा मानिस मजदुरीका लागि भारत जान्छन् । त्यो बेला कुनै पनि प्रविधिको विकास भएको थिएन । अहिले त, हातहातमा मोबाइल घर– घरमा इन्टरनेट भएको हुनाले सजिलो छ । उनले भने, ‘अहिलेसम्म पनि सिंजा क्षेत्रका सबै पुरुषहरु मजदुरी र व्यापार गर्न भारत जान्छन्।क–कसका घरका हुलाकीले चिठी छोडे सबैको चासो हुन्थ्यो ।
मान्छेहरू हुलाकीले ल्याउने चिठी कुरेर बस्थे । तर त्यो समय फेरियो । ल्यान्डलाइन टेलिफोन हुँदै हातहातमा मोबाइल पुगेपछि खबर आदानप्रदानको त्यो युग सकिएजस्तै भयो । पहिला त हुलाकी कहिले आउलान् भनेर कुर्थे आफन्तहरू अतिरिक्त हुलाकी सिंजा–५ का बलबहादुर बुढा भन्छन् । अहिले त सबै छिनछिनमा विभिन्न माध्यमबाट कुरा मात्रै गर्न हैन, भिडियोमार्फत समेत कुरा गर्न मिल्छ, परम्परागत सूचनाको माध्यम त हराउँदै गए ।
कुनै समय चिठीपत्र मात्रै हैन टाढा–टाढाबाट रजिस्ट्री बोकेरै विभिन्न ठाउँमा पु¥याउने हुलाकी अहिले कार्यालयका चिठी पु¥याउने काममा सीमित छन् । हुलाककी सिंह भन्छन् । अहिले त घरघरमा चिठी पु¥याउन जानै पर्दैन, मोबाइल र इन्टरनेटले सबै सुविधा दिएको छ, हामीले अहिले सरकारी कार्यालयका चिठी मात्रै पु¥याउँछौं ।
ती बोकेका दिन अब उनको सम्झनामा मात्रै सीमित छ । हुलाक र हुलाकीको महत्त्व पछिल्लो समय हराउँदै गएको हुलाकी रावल बताउँछन् । हामीलाई माया र सम्मान हुन्थ्यो । हुलाकी बलबहादुर गुनासो गर्दै सुनाउँछन, हिजोआज त हुलाकीलाई कामविहीन भनेर बुझ्छन् ।
२२ वर्षदेखि काम गरेको अनुभव सँगालेका उनी पछिल्लो समय आफूहरूलाई हेर्ने सर्वसाधारणको दृष्टिकोण बदलिएको सुनाउँछन् ।
उनले भने, ‘ऊबेला इन्टरनेट पनि हामी थियौं, मोबाइल पनि हामी नै ।पछिल्लो समय प्रविधिले फड्को मार्दै जाँदा मानिसमा छिट्टै आवेशमा आउने प्रवृत्ति बढ्दै गएको हुनुपर्छ भन्ने सिंजा–६ का ८६ वर्षीय श्रीभक्त बुढालाई लाग्छ ।’
पहिला–पहिला महिनौं लगाएर चिठी आउने, जाने हुन्थ्यो,उनले भने,लामो समयपछि पत्र लेख्दा हालखबर सोधिन्थ्यो, मायाका कुरा अनि गाउँघरतिरका खबर सोधिन्थ्यो, मनका बह पोखिन्थ्यो । तर, अहिले त छिनछिनमा कुरा हुनाले सन्चो, बिसन्चोभन्दा पनि झगडा बढी हुन थाल्यो, शंका उब्जाउन थाल्यो, सम्बन्ध बिग्रन थाल्यो ।
मनबहादुर रोकायाले गाउँमा आफन्तले पठाएका चिठी पढेको अनुभव सुनाउँछन् । महिनौं लगाएर चिठीको जवाफ आउँथ्यो । उनले भने, ‘पढिदिने मान्छेको गाउँभरि खोजी हुन्थ्यो, मैले पनि धेरैका चिठी पढेको छु, चिठी पढेपछि मलाई सबैले माया गर्थें चिठी पढ्दा आफन्त सबै जम्मा भएर सुन्थे । चिठीमा खुसीको खबर भएपछि घरमा खुसियाली छाउँथ्यो । उनले थपे, कुनै पर्व नै आएको जस्तो गरी घरमा खुसी मनाइन्थ्यो। चिठी आदानप्रदान गर्ने हुलाकी तथा हल्कारा हुन्थे ।’
एक ठाउँबाट एउटा हुलाकीले लिएको चिठी अर्को ठाउँबाट फेरि अर्को हुलाकी गर्दै तोकिएका स्थानमा पुग्थे । हुलाकीले जस्तोसुकै काम गर्न लागे पनि चिठी भोलि पु¥याउँछौं भनेर बस्थेनौं, हुलाकी सिंहले भने, ‘दैनिक हजार–बाह्र सयसम्म चिठी घर–घरमा पु¥याउँथ्यौं । प्रविधिको विकासले फड्को मारेसँगै हुलाकको आवश्यकता घटेको छ ।’
पछिल्लो समय कुरियरले आफूहरूको काम गरिरहेको हुलाकीहरु बताउँछन् । पछिल्लोपटक कुरियरबाट नै टाढादेखि सामान, चिठीपत्रलगायत आउने गरेको छ ।
प्राइभेट कम्पनी यसरी फस्टाइरहेका बेला सरकारले हुलाकलाई पनि नयाँ ढंगबाट सेवा प्रवाह गर्नेबारे सोच्नुपर्ने उनको भनाइ छ ।
सरकारले निजी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्ने गरी कामलाई परिमार्जन गर्न लागिएको हुलाक कार्यालय जुम्लाका प्रमुख गणेशदत्त रावलले बताए । जुम्लामा एक जिल्ला हुलाक कार्यालय सहित चार इलाका हुलाक कार्यालय छन्। ईलाका हुलाक कार्यालय नराकोट, हाडसिंजा इलाका हुलाक कार्यालय, कालिका खेतु इलाका हुलाक कार्यालय र चौथा ईलाका हुलाक कार्यालय छन् ।






