लगामसम्म सडक कालोपत्रे गर्न साढे दुई अर्ब बढी बजेट

प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएसँगै पश्चिम सुर्खेतमा विकासका काममा पूर्व मन्त्री हृदयराम थानीले तीव्रता दिन थालेका छन् । गाउँघरमा आयोजना हुने साना तिना कार्यक्रम उद्घाटन गर्न भन्दा पनि काठमाडौंमै बसेर जनताका सपना पुरा गर्ने उद्देश्यका साथ विभिन्न मन्त्रालय तथा विभागहरुमा धाईरहेका थानीले पछिल्लो समयमा मदन भण्डारी राजमार्ग अन्र्तगत खम्वागाडेदेखि विद्यापुर हुँदै लगाम बजारसम्मको बाटो कालोपत्रे गर्न आवश्यक बजेट अर्थ मन्त्रालयबाट पुस १३ गते बजेट सुनिश्चित गराएका हुन ।
खाल्डाखुल्डी, हिलाम्मे सडकको उपमा पाएको बड्डीचौर देखि लगामसम्मको सडक निर्माण भएको दशकौं वित्दापनि कालोपत्रे हुन सकेको थिएन । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री भएका प्रदेश सभा सदस्य विन्दमान विष्टले बड्डिचौर देखि खम्बागाडे सडक खण्डका लागि प्रदेश सरकारबाटै बजेट विनियोजन गरेका थिए । उक्त सडक खण्ड निर्माणकै क्रममा रहेको छ ।
मदन भण्डारी राजमार्ग बड्डिचौर–गुटु–कर्णाली खण्ड अन्तर्गत खम्बागाडेदेखी–बिद्यापुर सम्म १० किलोमिटर र बल्देदेखि लगाम बजारसम्म १५ किलोमिटर सडक निर्माणका लागि अर्थमन्त्री प्रकाशसरण महतको मन्त्री स्तरीय निर्णय अनुसार २ अर्ब ६० करोड बजेट सुनिश्चित भएको हो ।
बजेट सुनिश्चित भएसँगै यो सडक खण्ड पनि अब ठेक्का प्रक्रियामा जाने भएको छ । सडक निर्माण भएपश्चात यस सडकले सुर्खेत पश्चिमको जनजीवनमा अर्थपुर्ण सहजता प्रदान गर्ने अपेक्षा छ । ‘मैले आगामी वर्षसम्म सडक निर्माण पुरा गर्ने लक्ष्यका साथ कामहरु अगाडी बढाइरहेको छु ।’ कुरा गर्दै सांसद थानीले भने, ‘अब छिटै ठेक्का प्रक्रिया सम्पन्न भर्ई सडक निर्माण कार्य सुरु हुनेछ । यो सडक निर्माण सम्पन्न भएमा पश्चिम सुर्खेतले विकासमा महत्वपूर्ण फड्को मार्नेछ ।’
अन्य सांसदहरु एवम मन्त्रीहरु मेला महोत्सव उद्घाटनमा व्यस्त छन्, तपाईलाई पश्चिम सुर्खेतमा निम्ता आउँदैन भन्ने प्रश्नमा उनले भने, ‘मेला महोत्सव उद्घाटन गर्ने भनेर मलाई पश्चिम सुर्खेतका जनताले जिताएका होईनन् । उनीहरुको जीवनस्तरमा परिवर्तन होस, विकास निर्माण होस भनेर मलाई पठाएका हुन ।’ थानी थप्छन, ‘त्यसैले म दैनिक रुपमा काठमाडौंका मन्त्रालय एवम विभागहरुमा पुगेर जनताका समस्या समाधानका लागि पहल गर्छु । आगामी दुई वर्ष भित्र बेनीसम्मको सडक कालोपत्रे बनाउने गरी अघि बढेको छु ।’





