बाबियाचौर ईलाका प्रशासनको सेवा अवरुद्ध


पुनम वि.सी.
सुर्खेत ।
ईलाका प्रशासन कार्यालय, बाबियाचौरमा अहिले सेवाग्राहीहरु पुग्न छाडेका छन् । यसअघि नयाँ तथा नागरिकताको प्रतिलिपि बनाउन कार्यालयमा दैनिक २० देखि २२ जना सेवाग्राहीहरु पुग्थे ।
नायव सुब्बा तहका कर्मचारीको नेतृत्वमा रहेको ईलाका प्रशासन कार्यालयमा अहिले नागरिकता सेवा प्रवाह कार्यालयबाट स्थगित भएको छ । करिव एक महिना समयदेखि ईलाका प्रशासन कार्यालयले नागरिकता वितरण सम्बन्धि लगायतका सेवा प्रवाह गर्न सकेको छैन ।
ईलाका प्रशासनमा सेवाका लागि पुग्ने सेवाग्राहीलाई कार्यालयले वीरेन्द्रनगर स्थित जिल्ला प्रशासन कार्यालयमा पठाउन थालेको छ ।
‘प्रशासनका साना कामका लागि पनि यहाँका नागरिकहरुलाई वीरेन्द्रनगर धाउनुपर्ने अवस्था छ ।
एक महिनासम्म पनि ईलाका प्रशासन कार्यालयबाट सेवा प्रवाह हुन सकेको छैन’, पञ्चपुरी नगरपालिका–५ का वडा अध्यक्ष नगरेन्द्रबहादुर शाहीले भने, ‘यहाँबाट वीरेन्द्रनगर गएर काम गरेर फर्किन दुई-तीन दिनको समय लाग्छ । त्यसै अनुसार पैसा पनि चार–पाँच हजार रुपैयाँ नभए त कामका लागि वीरेन्द्रनगर जान सकिँदैन ।’
२०७३ सालमा स्थापना भएको यस ईलाका प्रशासन कार्यालयमा आठ जनाको दरवन्दी छ । नायव सुब्बाको नेतृत्वमा रहेको यस कार्यालयका लागि गृह मन्त्रालयले अख्तियारी पठाउनुपर्ने हुन्छ । अधिकृत स्तरका कर्मचारी नभएपछि कार्यावाहक रहने कर्मचारीलाई ६-६ महिनाको समयमा गृह मन्त्रालयले अख्तियारी पठाउनुपर्छ ।
‘एक महिना भयो गृह मन्त्रालयले अख्तियारी पठाएको छैन’, ईलाका प्रशासन कार्यालय, बाबियाचौरका प्रमुख बलविर थापाले भने, ‘मैले जिल्ला प्रशासनमा अख्तियारीका लागि निवेदन पठाएको छु । त्यहाँबाट गृह मन्त्रालय मार्फत हुँदै अख्तियारी आईपुग्नुपर्ने हो ।’
गृह मन्त्रालयले समयमा अख्तियारी नपठाउँदा कार्यालयमा आउने सेवाग्राहीहरुको संख्या पनि सोहि अनुसार घटेको ईलाका प्रशासन कार्यालयका सूचना अधिकारी चेतनप्रकाश आचार्य बताउँछन् । उनले भने, ‘पहिले पहिले उहाँहरुलाई कार्यालयमा आएर पनि फर्कनुपर्ने वाध्यता थियो । दैनिक २० देखि २२ जना सेवाग्राहीहरु आउनुहुन्थ्यो । अहिले त सेवाग्राही आउँनै छाड्नुभएको छ । सेवा प्रवाह भएको छैन भन्ने खवर पाएर नआएको हामीले ठानेका छौँ ।’
ईलाका प्रशासन कार्यालय, बावियाचौरले चौकुने गाउँपालिका अन्र्तगत लगाम, वेतान, घटगाउँ र गुटु क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ । त्यसैगरी पञ्चपुरी नगरपालिकाका सालकोट, बावियाचौर, विद्यापुर, छाप्रे, तातापानी तथा बराहताल गाउँपालिका वडा नं. ६ र ७ अन्र्तगत पोखरीकाँडा क्षेत्रका नागरिकलाई कार्यालयमार्फत सेवा दिइदै आएको छ ।
गृहलाई पत्राचार गरेका छौँः प्रजिअ
बाबियाचौरको ईलाका प्रशासनका लागि अख्तियारी पठाउन जिल्ला प्रशासन कार्यालयले यसअघि नै गृह मन्त्रालयलाई पत्राचार गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिए ।
उनले भने, ‘हामीले १५ दिन अघि नै गृहलाई पत्राचार गरिसकेका छौँ । अख्तियारी विना त्यहाँका कर्मचारीले सेवा दिन नमिल्ने भएकाले काम रोकिएको हो ।’
अख्तियारी कहिलेसम्म आउछ भन्ने विषयमा भने जिल्ला प्रशासन कार्यालय अनविज्ञ रहेको उनले बताए । मुद्दाको अधिकार पाएपछि पूर्वाधार सहयोगको खोजीमा ईलाका प्रहरी बाबियाचौर मै रहेको ईलाका प्रहरी कार्यालयलाई मुद्दा दर्ताको अधिकार प्राप्त भएको छ ।
प्रहरी निरीक्षकको नेतृत्वमा रहेको ईलाका प्रहरी कार्यालयले हालै मात्र मुद्दा दर्ता तथा अनुसन्धानको अधिकार पाएको हो ।
यस प्रक्रियासँग अव सुर्खेतको पश्चिम क्षेत्रका नागरिकहरुले प्रहरी कार्यालयमा उजुरी गर्नुपरेमा बाबियाचौरको ईलाका प्रहरी कार्यालय मार्फत सेवा लिन सक्नेछन् । सोमवार जिल्ला प्रहरी कार्यालय, सुर्खेतले बाबियाचौर स्थित ईलाका प्रहरीलाई मुद्दा दर्ता तथा अनुसन्धान प्रक्रिया शुरु गर्न पत्राचार गरेको छ ।
मुद्दा दर्ता तथा अनुसन्धान प्रक्रियाका लागि अनुमति पाएपनि हालको अवस्थामा भने ईलाका प्रहरी कार्यालय जनशक्ति तथा पूर्वाधारको अभावकाबीच सञ्चालनमा छ । हाल प्रहरी निरिक्षकको नेतृत्वमा २६ जना प्रहरीको दरवन्दी रहेको ईलाका प्रशासनका लागि मुद्धा दर्ता सेवा सुरु गर्न थप जनशक्ति आवश्यक पर्छ ।
ईलाका प्रशासन कार्यालय, बाबियाचौरका प्रहरी निरिक्षक विनोद सुवेदीले भने, ‘हामीलाई अझै १५–२० जना जनशक्तिको आवश्यकता पर्छ । त्यसैगरी व्यारेक, हिरासत कक्ष लगायतका पूर्वाधार निर्माणका लागि सहयोग आवश्यक हुन्छ ।’
यता जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी उपरीक्षक योगेन्द्र थापाले समेत ईलाका प्रहरीलाई पत्राचार गर्दै स्थानीय तहसँगको समन्वयमा पूर्वाधार निर्माणमा समन्वय गर्न निर्देशन दिएका छन् ।
पत्रमा भनिएको छ, ‘स्थानीय निकायहरुसँग आवश्यक समन्वय गरी सम्पूर्ण भौतिक पूर्वाधार, स्रोत साधान र जनशक्ति समेतको व्यवस्थापन गरी यथासिघ्र कार्यान्वयन गर्नहुन निर्देशानुसार अनुरोछ छ ।’
दक्ष जनशक्ति अभावका विषयमा भने जिल्ला प्रहरीले दर्जागत रुपमा माग गरी पठाउन निर्देशन दिएको छ । सुर्खेत निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित कांग्रेस नेता हृदयराम थानीले गत वर्ष २०७९ चैत्र १६ गते गृह मन्त्रालयमा बाबियाचौरको ईलाका प्रहरीलाई मुद्दा दर्ताको अधिकार दिन अनुरोध गर्दै पत्राचार गरेका थिए । गृह मन्त्रालयले भने चैत्र २० गते नै नेपाल प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको थियो ।
मालपोत र नापी सेवामा सास्ती
सुर्खेतको पश्चिम क्षेत्रका नागरिकलाई मालपोत र नापीको सेवाका लागि वीरेन्द्रनगर नै धाउनुपर्ने वाध्यता छ ।
पञ्चपुरी नगरपालिका–५ का वडा अध्यक्ष नगेन्द्रबहादुर शाहीले भने, ‘अहिले प्रशासन र प्रहरीको सेवा त हुदैछ । तर यहाँका नागरिकलाई अझै मालपोत र नापीको काममा वीरेन्द्रनगर नै धाउनुपर्छ ।’
बावियाचौरमा पश्चिम क्षेत्रका नागरिकहरुका लागि मालपोत र नापी कार्यालयको माग भएको लामो समय भयो ।
नागरिक स्तरबाट दवाव दिईपनि दुई वटा कार्यालय स्थापनाका लागि राजनीतिक तहबाट कुनै पहल नहुँदा पश्चिम सुर्खेतका नागरिकहरु मालपोत र नापीको सेवा लिन वीरेन्द्रनगर आउनुपर्ने बाध्यता रहेको छ ।
यस क्षेत्रबाट निर्वाचित सांसदहरुले संघ र प्रदेशमा कुनै पहल नगर्दा यहाँका नागरिक बर्षौदेखि सास्ती, दुख व्यहोर्दै आएका छन् ।
‘वीरेन्द्रनगर जान मात्र गाढीमा चार सय ५० रुपैयाँ भाडा लाग्छ । मालपोतको काम हो, भनेको समयमै सकिन्छ भन्ने छैन । यहाँका नागरिकलाई सार्वजनिक सेवा लिन खर्चियो भएको छ ।’







