सुर्खेत विमानस्थल विस्तारमा समस्या छैन : उपप्रधानमन्त्री खड्का

सुर्खेत, १० असोज ।
कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत विमान स्थल विस्तारका सम्बन्धमा कुनै समस्या, विवाद नभएको बताए । ‘उत्तरतिर विस्तार गर्ने कुरामा समस्या छैन । तर, दीर्घकालीन विमानस्थलका रूपमा यो विमानस्थलले धान्न सक्दैन, विकल्प खुल्ला राख्नुपर्छ’ उनले भने । अहिलेको विमानस्थललाई विस्तार गर्ने कुरामा विवाद गर्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ । साथै उनले विकासमा राजनीतिक गर्न नहुने बताए ।

बुधबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सुशासनको विषयमा जोडिएको कार्यक्रमै सरकारले ल्याउने तयारी गरिरहेको बताएका हुन् ।उपप्रधानमन्त्री खड्काले बजेट कार्यान्वयनमा सरकारले विशेष ध्यान दिएको बताएका छन् । उनले कालोबजारीलाई नियन्त्रण गर्ने लगायतका विषयमा सरकार लागि परेको भन्दै सुशासनको मार्गचित्र कोर्ने बाटोमा सरकार अगाडि बढेको बताए ।
“सेवालाई सहज बनाउनेमा सरकार केन्द्रित छ” उनले भने, “जनतासँग जोडिएका विषयमा सहजता प्रदान गर्ने सरकारको ध्यान छ ।” कानुनहरू जुन रफ्तारमा बनाउनुपर्ने थियो त्यो हुन नसक्दा समस्या भएकाले अब सरकार आवश्यक कानुनहरू बनाउने तयारीमा लागिरहेको पनि उनले बताए ।
उपप्रधानमन्त्री खड्काले सुर्खेत विमानस्थलको धावन मार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास भइरहेको पनि जानकारी दिए । “कर्णालीका सबै सांसदको एउटै सङ्कल्प हो कर्णालीको विकास र परिवर्तन” उनले भने, “तुलनात्मक रूपमा हामी अरू प्रदेश सरह बनाउन हामी सबै लाग्नुपर्छ ।” उनले सरकार सुशासन र भ्रष्टाचारका विषयमा काम गर्दै आएको भन्दै विगतको लामो र झन्झटिलो कानुनी प्रकियाभन्दा छोटो र छरितो बनाउनेगरी अगाडि बढेको बताए ।






