कृषि विकास कार्यालय मुगुका तत्कालिन निमित्त प्रमुख पंचलाल बुढासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मुगु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले गैरकानूनी लाभ तथा हानी पु¥याइ भ्रष्टाचार गरेको अभियोगमा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख सहित अन्य ६ जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
तत्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढा, तत्कालीन सव–इन्जिनियर राजेन्द्र शाही र प्रा.स सहायक स्तर पाँचौ टेक बहादुर खत्री तथा उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर रोकाया, कोषाध्यक्ष अमना कुमारी रोकाया र सचिव भुवन रावलविरुद्ध मुद्दा दायर गरेको हो ।उनीहरुले मुगुको खत्याड गाउँपालिका वडा नं.४ स्थित गुगियाचौरमा प्रदेश सरकारबाट रकम प्राप्त भई आर्थिक वर्ष २०७६/०७७ मा सकिनुपर्ने योजनाको कामै नगरी काम सम्पन्न भएको प्रतिवेदन तयार गरी बिल भुक्तानी लगायतका कार्य गरी आर्थिक अनियमितता गरेको पाइएको अख्तियारले बताएको छ ।
तत्कालीन निमित्त कार्यालय प्रमुख बुढाले खिराचौर कृषि सिँचाइ निर्माण योजना अधुरो र समयमा काम नगर्ने उपभोक्ता समिति तथा अन्य संलग्नहरुलाई नियमानुसार कारबाही गर्नुपर्नेमा सो नगरी निर्माणस्थलमा भए गरेको कार्य भन्दा बढी तथा साइटमा नगरे/नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई सोही बमोजिमको कार्य स्वीकार प्रतिवेदन तयाररप्रमाणित गरी १२ लाख ८३ हजार ३४ रुपैयाँ ७७ पैसा भुक्तानीका लागि टिप्पणी उठाउन लगाई भुक्तानीको आदेश दिएको अख्तियारको ठहर छ ।
बुढाविरुद्ध १२ लाख ८३ हजार ३४ रुपैयाँ ७७ पैसा बिगो कायम गरी कैद र जरिवानाको माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । यस्तै कृषि विकास कार्यालय मुगुका तत्कालीन सव इन्जिनियर शाही र प्रा स सहायक खत्रीले निर्माण योजनाको स्थलगत अनुगमन तथा नापजाँच गरी नापी किताव लगायतको वास्तविक प्रतिवेदन दिनुपर्नेमा निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी नगरे नगराएको परिमाणको कार्य भएको भनी गलत स्थलगत प्रतिवेदन, नापी किताब तथा कार्य स्वीकार प्रतिवेदनरप्राविधिक प्रतिवेदन तयार गरी भुक्तानी सिफारिस गरेको अख्तियारको ठहर छ ।
उनीहरुविरुद्ध पनि १२ लाख ८३ हजार ३४ रुपैयाँ ७७ पैसा बिगो कायम गरी कैद र जरिवानाको माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता दाहालले जानकारी दिए ।