सात सय ‘बेडनाठो’ हाउँडी गाउँ

कालीकोट,१५  फागुन ।

बाह्र वर्षसम्म खडेरी पर्दासमेत अन्न उत्पादन भएको किंवदन्ती हाउँडी गाउँको छ। शुभकालिका गाउँपालिका–६, हाउँडी सधैँ हरियालीका रूपमा चिनिन्छ। कालीकोट जिल्लाको खेतमा लगाइएको गहुँ, जौ बाली सुकेर पहेँलो बनिरहँदा हाउँडीको ‘जिउलो’ भने लोभलाग्दो देखिन्थ्यो। यद्यपि, यस पटकचाहिँ हाउँडी गाउँ लामो खडेरीले केही प्रभावित बनेको छ।

स्थानीय बुद्धिजीवी पुष्पराज आचार्यले हाउँडीको बस्तीका बारेमा रोचक किंवदन्ती सुनाए । यहाँको गाउँलाई सात सय बेडनाठो (बीउका ब्याड) हाउँडी गाउँ भनेर चिनिन्छ। उनका अनुसार १२ वर्षसम्म खेडरी पर्दा पनि यहाँ खडेरीको प्रभाव परेन।

अन्यत्र खडेरीका कारण बीउ जोगाउन मुस्किल भयो। त्यसैले यहाँ सात सय बेडनाठो (बीउका ब्याड) राखेर खडेरीको मारमा परेका कालीकोटका अन्य गाउँ, दैलेख, अछामका खेतमा रोपाइँ गरिएको थियो। त्यसैले सो ठाउँले सात सय बेडनाठोको उपनाम पाएको हो।

घना जङ्गल, खोलाका कारण हाउँडी सिँचाइको राम्रो सम्भावना भएको क्षेत्र हो। १२ वर्षसम्म खडेरीले छुन नसकेको यो बस्ती अहिले भने प्रभावित हुन थालेको छ। यद्यपि, स्थानीय त्यति चिन्तित भइसकेका छैनन्।  हाउँडी बस्तीमा सौन्दर्य थप्ने धेरै विशेषता छन्। नाग्ना लेख, बल्या लेख, लेखदह पाटन, मेहेल्ले लेख, रन्नाउले लेखको बेसमा हाउँडी गाउँ रहेको छ।

यहाँ सधैँ सिञ्चित बनाइरहने गाउँको सिरानमा लेखदह र आन्नाकाटियाँ दह (तलाउ) छन्। त्यसै कारण जति खडेरी पर्दा पनि खोलामा पानीको स्रोत जहिले पनि एकैनासको भइरहने आचार्यले बताए । यद्यपि लेख र तलाउको फेदमा रहेको हाउँडीको बस्तीले जलवायु परिवर्तनका नकारात्मक असरसँग पनि सामना गरिरहेको छ।

खोल्सो परेको बस्ती, सँगै जोडिएको खेतीयोग्य जमिनमा यति बेला गहुँबाली हरिया देखिन्छन्। घरको आँगनका ससाना खेतबारीमा तरकारी खेतीले सुगम बस्तीको परिचय दिइरहेको छ। दैलेखको भैरवी र ठाँटीकाँध गाउँपालिकासम्म यसको सीमा जोडिएको छ। हाउँडीको अर्को विशेषता, यहाँ दाहल देवताको आशीर्वाद लाग्ने गरेको छ।

उक्त देवताका कारण घरमा सबैले भैँसी पाल्नैपर्छ। भैँसीको दूध देवताको मन्दिर (थान)मा पूजा गर्न अनिवार्य आवश्यक हुन्छ। भैँसीको दूध मन्दिरमा चढाएपछि त्यो भैँसी बेच्न नपाउने किंवदन्ती छ। कसैले बेच्ने नै भएमा त्यसको सट्टा भैँसीको पाडो देवताका नाममा पाल्ने हाउँडी गाउँको परम्परा रहिआएको छ।

२७० घरधुरी रहेको हाउँडीको जनसङ्ख्या एक हजार ३५० को हाराहारीमा छ। गाउँ र खेतीयोग्य जमिनको पाँच भागभन्दा बढी जङ्गल भएका कारण हाउँडी गाउँमा प्रायः झट्ट खडेरीले छुन सक्दैन। जिल्ला प्रहरी कार्यालय, कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले हाउँडीको बस्ती देखेर लोभिएको बताए ।

गाेरखापत्र 

सात सय ‘बेडनाठो’ हाउँडी गाउँ

विचार र मुद्दा मिल्नेसँग पार्टी एकता हुनसक्छ

सात सय ‘बेडनाठो’ हाउँडी गाउँ

साक्षरता अभियान अलपत्र

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!