जाजरकोट,१५ फागुन ।
जाजरकोट अस्पतालमा औषधिको अभाव भएको छ । कर्णाली प्रदेश सरकारको मातहतमा रहेका अस्पतालमा सरकारी सुविधाबाट प्राप्त हुने निःशुल्क औषधिहरूको अभाव भएको हो । अस्पतालमा औषधि अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् ।
दैनिक पुर्जी लिएर औषधि किन्न फार्मेसीमा पुगे पनि त्यहाँ औषधि नहुँदा बाहिरका पसलमा गएर खरिद गर्न बाध्य हुनुपरेको बिरामीहरूले बताएका छन् ।
टेन्डर प्रक्रिया पूरा गरी वर्षभरिलाई पुग्ने औषधि खरिद गर्नुपर्ने प्रक्रिया पूरा नगरेका कारण पनि पटक–पटक अस्पतालमा औषधिको अभाव हुने गरेको फार्मेसी विभागले जनाएको छ ।
नेपाल सरकारले तोकेबमोजिम ९८ प्रकारका औषधि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । हाल जिल्ला अस्पतालमा २०–३० प्रकारका औषधिमात्र छन् । बिमा गरेका बिरामीले सबैभन्दा बढी समस्या खेपेका छन् । ‘उपचारमा केही सहज होला भनेर बिमा गरियो तर अस्पतालमा औषधि पाइएन,’ मेडिकलमा गएर महँगो औषधि किन्नुपरेको भेरी नगरपालिका ४ की २९ वर्षीया चन्द्रा सुनारले बताइन् ।
प्रदेश निर्देशनालय प्रशासनलाई महिनादिनअघि नै औषधि सकिएको जानकारी दिई माग फाराम भरेको भए पनि बजेट अभावमा औषधि खरिद गरी पठाएको छैन । सामान्यदेखि जटिल रोगका लागि चाहिने ६० प्रकारका औषधि हाल जिल्ला अस्पतालमा छैनन् ।
टेन्डर प्रक्रिया पूरा गरेर वर्षभरिलाई नै पुग्ने औषधि खरिद गर्नु पर्ने हो, हालसम्म सो प्रक्रिया पूरा गरेको देखिँदैन । त्यसकारण पनि पटक–पटक अस्पतालमा औषधिको अभाव हुने गरेको जिल्लास्थित फार्मेसी विभागले जनाएको छ । जिल्लाले नै खरिद गर्नुपर्ने औषधिहरू ख्रिद भइसकेकाले आजभोलि नै आइपुग्ने जिल्ला अस्पताल जाजरकोटका डा. औसरसिंह राठौरले बताए ।

