सिर्जना बुढाथाेकी
सुर्खेत,१५ फागुन ।
पछिल्लो समय वीरेन्द्रनगर मुख्य व्यापारिक केन्द्र बनेको छ । कर्णाली प्रदेशको राजधानी भएसँगै जनसंख्या, सवारीसाधन, व्यापार–व्यवसाय हरेक क्षेत्रको आकार र दायरा फैलदैं र बढ्दै गइरहेको छ । यहि वीरेन्द्रनगरको सानो बजारमा करिब चार हजारको लगानीबाट तरकारीको व्यापार शुरु गरेकी पूजाले अहिले निकै फड्को मारेकी छिन् ।
उनी अहिले तरकारी तथा फलफुलको दैनिक पाँच लाख बढिको कारोबार गर्ने सुनाउँछिन् । जीवनमा अनेकौ समस्या र बाधा झेलेर अघि बढेकी पूजाले व्यापार गर्दै गर्दा पनि निकै समस्यामा परिन् तर उनले हार कहिल्यै मानिनन् । अहिले कर्णालीकै एक आशा अनि भर लाग्दो व्यापारीका रुपमा उनी परिचित छिन् ।
बाल्यकालः
मेरो नाम पूजा सिहं हो । वि.सं. २०४२ सालमा सुर्खेतको वीरेन्द्रनगर–५, चिसापानीमा जन्मिएकी मैले बाल्यकालमा कुनै समस्या भोग्नु परेन । मेरो बुवाले व्यवसाय गरेको भएर पनि हामीलाई कुनै कुराको अभाव महशुस भएन । मेरो परिवारमा बुवा, आमा र हामी दुई भाई दुई बहिनी गरेर ६ जनाको परिवार हो ।
चार भाई बहिनीमा छोरीमा म जेठी भएपनि म भन्दा अगाडिको दाई हुनुहुन्छ । बुवाको खुद्रा पसल र होटेल थियो म सानो हुँदै थाहा पाइरहेको, त्यसैले घर व्यवहार चलाउन कुनै समस्या थिएन । अत्यावश्यक वस्तु लगायत चाहिने जति कुनै कुराको अभाव भएन तर हरेक चाहेका कुरा पनि पूरा त भएनन् ।
मैले मेरो बाल्यकाल वीरेन्द्रनगर ५ चिसापानीमै बिताएकी हुँ । चिसापानीकै विद्यालयमा कक्षा ८ सम्म पढे त्यसपछि दुई वर्ष हालको जन नमूना मा.विमा पढेर एस.एल.सी गरे । त्यसपछि भने मेरो विवाह भयो । उमेर सानै थियो तर मेरो बुवाले केटा राम्रो छ भन्ने सुनेपछि विवाहको लागि कुरा राख्नुभयो मसँग, अनि मेरो मागी विवाह भयो ।
सुर्खेतकी म विवाह गरेर कञ्चनपुर जिल्लामा पुगे । पश्चिममा पुगेकी म सँस्कार पनि नमिल्ने अनि म सानै उमेरकी, घरधन्दाको कामपनि खासै काम गर्न नसक्ने भएरपनि होला पारिवारिक सम्बन्ध मैले सोचेजत्ति खासै राम्रो बनाउन सकिएन र त्यसकारण पनि मेरो बैवाहिक जीवन खासै राम्रो भएन।
विवाह दुई जनालाई एक बनाउन बाँध्ने एक बन्धन मात्रै हो जस्तो लाग्छ मलाई जब मननै मिल्दैन भने त्यो सम्बन्धको कुनै अर्थ रहँदो रहेनछ । घरभित्रको सामान्य कामबाहेक मैले अलि गाह्रो काम गर्न भने सकिन् । विस्तारै हामी दुई जनाबीच फाटो आउँदै गयो, त्यो समय मेरो छोराको पनि जन्म भयो ।
त्यसपछि म पुनः माइतीमा फर्किए र यतै बस्न थाले । त्यसपछि हामी एक अर्काबाट कानूनी रुपमा नभएपनि मनदेखि छुट्टी सकेका थियौ । त्यसको केहि समयपछि मेरो श्रीमान्ले अर्को विवाह गर्नुभयो र म मेरो छोरा हुर्काउँदै माइतीमै बस्न थाले ।
माइतीमा पनि बस्न अप्ठेरो लाग्न थाल्यो, किनभने विवाह गरेर गैसकेकी छोरी, त्यसैमाथि एक छोराकी आमा मलाईनै अड लाग्न थालेपछि अब केहि गर्नुपर्छ भन्ने सोच भएर मैले व्यवसाय गर्ने योजना बनाए । योजना त बनाए तर लगानी गर्नका लागि म सँग त्यति धेरै पूँजी नभएका कारण मैले थोरै पूँजीमा हुने व्यवसायका बारेमा साच्न थाले अनि यत्तिकैमा तरकारी पसलको कुरा दिमागमा आयो र यसका विषयमा बुवासँग कुरा गरे र शुरु गरे ।
४ हजारबाट तरकारी पसलः
एक सन्तानकी एकल आमा म । ममा मेरो व्यक्तिगत अनि छोराको जिम्मेवारी भएकाले मलाई निकै सकस थियो । पढ्ने बेला दश भन्दामाथि पढिएन, रोजगारीमा लागौ सीप छैन, जागिरका लागि शैक्षिक योग्यता धेरै भएन, अनि बुवाको साथले गर्दा मैले चार हजारको लगानीबाट तरकारी व्यवसाय शुरु गरे ।
वीरेन्द्रनगर खासै ठूलो थिएन र राजधानी पनि बनिसकेको थिएन, त्यसकारण व्यवसाय सामान्य गतीमै चल्यो । विस्तारै बजारसँगै व्यवसाय पनि बढ्दै गयो । दिनरात नभनी खटिएर काम गर्दै गए अनि छोरा हुर्काउँदै गए । कसरी नाफा कमाउन सकिन्छ भन्ने सोच गराउदै अगाडि बढ्दै गए ।
त्यतिबेला तरकारी पसल पनि खासै थिएनन्, दुई चार वटा थिए धेरैजसो मेरोनै चल्थ्यो । मैले डोके व्यापारीका घरमै पुगेर तरकारी खरीद गरेर बेच्न थाले । अहिले पनि करिब ६० प्रतिशत तरकारी तथा फलफूल स्थानीय उत्पादननै आउँछ भने ४० प्रतिशत मात्रै बाहिरी जिल्ला र देशबाट भित्रिन्छ ।
तर मैले स्थानीय उत्पादनलाई नै बढि प्राथमिकतामा राखेर खरिद गर्छु। कोरोना महामारीमा व्यवसायमा केहि असर परेपनि अहिले फेरि राम्रो हुँदै आएको छ । कोरोना आउनु पहिले ३५ जना कामदारलाई मैले रोजागारी दिएकोमा कोरोनापछि अहिले २० जना छन् ।
करिब छ सात वर्ष पहिले मेरो पसलमा आगलागी भयो त्यो समयमा पनि मलाई लाखौको घाटा भयो । तर हामीले सरकारी तबरबाट कुनैपनि क्षतिपूर्ति भने पाएनौ । त्यो समयमा मेरो पसल मात्रै नभएर सानो घर थियो त्यो पनि जलेर नष्ट भयो । विस्तारै मैले फेरि व्यवसायलाई अगाडि बढाएँ र राम्रो आम्दानी भयो ।
अहिले दैनिक जसो पाँच लाख बढिको व्यापार हुन्छ । यसले मेरो जीवन निकै फट्को मारेको छ । छोरा पनि अब त दश कक्षामा पढ्ने भैसकेको छ । उसले पनि पछि व्यवसायनै गर्ने योजना भएको सुनाउँछ । राम्रोसंग पढाईलाई सकेर व्यवसायमै जोडिने योजना बनाएको छ ।
मैले यहि व्यवसायमा मेरा भाई,बहिनीलाई पनि जोडेको छु र उनीहरुले मलाई सघाइरहेका छन् । यसको बदलामा मैले उनीहरुको रेखदखदेखि सम्पूर्ण खर्च गर्ने गरेकी छु। उनीहरुलाई बाटो देखाउने मेरो कर्तव्य सोचेर मैले उनीहरुलाई पनि व्यवसायका लागि योग्य बनाउन कसरत गरिरहेकी छु। अब नयाँ आफ्नो घर पनि बनाई सकेकी छु वीरेन्द्रनगर ९ मा करिब ५ करोडको लगानीमा घरपनि बनाएँ ।
मैले कमाउने मात्रै होइन, अभिभावक नभएका बालबालिकाका लागि मासिक रुपमा लाग्ने तरकारीको जिम्मा पनि लिएको छु। अनाथ बालबालिका बस्ने गृहमा आवश्यक खाद्यान्न बेलाबखतमा र तरकारी भने मासिक रुपमा सहयोग गर्दै आएकी छु। मेरो तरकारी तथा फलफुले अहिले कर्णालीका लगभग सबै जिल्लासम्म पुग्ने गरेको छ ।
यसरी चार हजारबाट व्यवसाय शुरु गरेको मैले अहिले मेरो व्यापार मात्रै करोडौको गन्तीमा हुन्छ । जीवन भनेको संघर्ष रहेछ । हार नमानेर गरे दुःख पछि सुख अवश्य आउँदो रहेछ ।

