पुल भासिएपछि सास्ती व्यहाेर्दै नागरिक

दुर्गा विसी
सल्यान ।
सल्यानको वनगाड कुपिण्डे नगरपालिका–२ बामे र जाजरकोटको सिवालय गाउँपालिका–१ छेडा बजार जोडने झोलुङ्गे पुल भासिएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ । २०७९ असोज अन्तिम साता परेको अविलर वर्षाका कारण भेरी नदिमा आएको बाढीले पुलमा क्षति पुर्याएकाे थियो ।

पुल भासिएको नौ महिना भइ सक्दा पनि पुल मर्मतका लागि सरकारी निकायले चासो नदेखाएपछि स्थानीयले सास्ती भोग्दै आएका छन् । स्कुल पढ्ने विद्यार्थीदेखि त्यहाँका स्थानीयलाई आवतजावतमा समस्या हुने गरेको स्थानीय गोपिलाल आचार्यले बताए । छेडा बजारदेखि दैनिक उपभोग्य वस्तु किनमेलमा समेत समस्या पर्ने गरेको छ । स्थानीय सरकार, प्रदेश र संघीय सरकारले समेत पुल मर्मतमा कुनै वास्था नगरेको आचार्यको दुखेसो छ ।






