वीरेन्द्रनगरको नयाँ बजेट पुरानै आयोजना

सुर्खेत। कर्णालीका ७९ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि आफ्ना नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र सभामा पेस गर्नुपर्ने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार सुर्खेतका पाँच नगरपालिका र चार गाउँपालिकाले आईतवार आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट सार्वजनिक गरेका छन् । प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा बढाएर बजेट ल्याएको छ ।
आइतबार १३ औँ नगर सभामा उपप्रमुख निलकण्ठ खनालले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि तीन अर्ब दुई करोड ६१ लाख ८९ हजार नौ सय ६७ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरे । चालु आर्थिक वर्षमा एक अर्व ९४ करोड ११ लाख १२ हजार पाँच सय रुपैयाँको बजेट रहँदा आगामि वर्षका लागि प्रस्तुत बजेट झण्डै एक अर्ब बढी हो ।
वजेटले विशेष गरि वीरेन्द्रनगरको वर्तमान आवश्यकता, रोजगारी, पूर्वाधार विकास लगायतलाई प्राथमिकता राखेको दावी गरिए पनि दीर्घकालिन महत्वका आयोजनाहरु बजेटमा समावेश भने भएका छैनन् । ‘शैक्षिक, प्रशासनिक, पर्यटकिय शहर स्वच्छ, समुन्नत वीरेन्द्रनगर’ भन्ने मुल नारा समावेश भएको नीति तथा बजेटमा वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउनेदेखि उपत्यकाको खानेपानी समस्या समाधानका लागि भेरी पम्पिङ आयोजना अघि बढाइने लगायतका पुरानै योजनाले निरन्तरता पाएका छन् । बढ्दो अव्यवस्थित शहरीकरणलाई रोक्न ठोस योजना बजेटमा देखिदैन ।
महिला, बालबालिका, अपाङ्ग तथा विपन्न वर्गका नागरिकहरुको जीवनस्तर माथी उठाउने खालका खास योजना पनि बजेटमा समावेश हुन सकेनन् । कृषि र स्वास्थ्यमा समेत पर्याप्त बजेट विनियोजन भएको छैन । वीरेन्द्रनगर क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप थेगि नसक्नु छ । प्रदेश राजधानी भएसँगै अन्य जिल्लाबाट बसाई सरी आउने नागरिकको बढ्दो चाप छ । १० जिल्लाकै शैक्षिक हव बनेको वीरेन्द्रनगरमा शिक्षा क्षेत्रका लागि नगरपालिकाले छुट्याएको बजेट पर्याप्त नभएको सरोकारवालाहरु बताउँछन् ।
प्रादेशिक शैक्षिक हबको गन्तव्यका रुपमा विकास गरी गुणस्तरीय विद्यालय शिक्षामा सबै बालबालिकाको समातामुलक पहँच सुनिश्चित गर्न पाँच करोड रकम विनियोजन भएको छ । यो बजेट वीरेन्द्रनगरमा रहेका सामुदायिक विद्यालयको तुलनामा अति कम हो । यस्तै भूमि, कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राख्दै सहकारी, घरेलु उद्योग पर्यटन प्रवद्र्धन, युवा उद्यम, महिला स्वरोजगार जस्ता कार्यक्रम मार्फत आर्थिक विकास गर्ने लक्ष्य राखिएको छ । तर, बजेट भने पाँच करोड ४० लाख तीन हजार विनियोजन भएको छ ।
कृषि व्यवसायमा महिलालाहरुको सहभागिता वृद्धि गर्दै कृषि तथा पशुपालनलाई व्यवसायिक रोजगारमुलक गराउँदै देशमा उत्पन्न हुन सक्ने खाद्य संकट जोखिममा कृषि विकासतर्फ एक करोड २५ लाख अपर्याप्त बजेट विनियोजन भएको छ । यस्तै नगरपालिकाले आगामी बजेटमा नगर प्रहरी भर्ना गर्ने महत्वाकांक्षी योजनाका लागि दुई करोड बजेट छुट्याएको छ । गरिवी र भोकमरीलाई सन् २०३० सम्म सून्यमा झार्ने सरकारको राष्ट्रिय लक्ष्यलाई बजेटले खासै सम्बोधन गर्न सकेको देखिदैन । देशमा जारी आर्थिक संकटसँग जुध्न कुनै योजन बनाइएको छैन भने निजी क्षेत्रलाईसमेत बजेटले सम्बोधन गर्न सकेन ।
स्थानीय तहले विकास बजेट घटाए
गुर्भाकोट नगरपालिकाले चालु बजेटभन्दा झण्डै तीन गुणा कम विकास बजेट समावेश गरेर बजेट सार्वजनिक गरेको छ ।
गुर्भाकोट नगरपालिका ९७ करोड ९१ लाख ५० हजार सात सय ५६ रुपैयाँ बराबरको बजेट आएको छ । जसमा चालुतर्फ ७४ करोड ३६ लाख ४३ हजार छ भने पूँजिगततर्फ २३ करोड ५५ लाख सात हजार रुपैयाँ रहेको छ ।
२०८०/०८१ को यो बजेट चालू आर्थिक वर्षको बजेट भन्दा झण्डै तीस करोड रुपैयाँले बढी हो । चालु आवमा गुर्भाकोटले ६४ करोड ३७ लाख ५५ हजार बराबरको बजेट सार्वजनिक गरेको थियो ।
त्यस्तै सिम्ता गाउँपालिकाले आगामी वर्षका लागि चालु आर्थिक वर्षको तुलनामा झण्डै आठ करोड बजेट घटाएर ल्याएको छ । आगामी नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि सिम्ताले ५८ करोड १७ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
चालुतर्फ ३९ करोड ९७ लाख चार हजार तीन सय ५० र पूँजिगततर्फ १८ करोड २८ लाख ६६ हजार छ । चालू आर्थिक वर्षमा सिम्ताको ६४ करोड ३९ लाख आठ हजार नौ सय २७ रुपैयाँ बजेट रहेको छ ।
लेकवेशी नगरपालिकाले पनि चालुको तुलनामा झण्डै ६ करोड कम बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षमा ७२ करोड रहेको लेकवेशीको बजेट यस पटक घटेर ६६ करोड ८१ लाख ७३ हजार सात सय ६५ रुपैयाँ पुगेको छ । जसमा चालूतर्फ ४४ करोड ६३ लाख ६९ हजार र पूँजिगततर्फ १८ करोड २५ लाख आठ हजार पाँच सय ६१ रुपैयाँ रहेको छ ।
यस्तै, पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले ६६ करोड २९ लाख ७६ हजार २८ रुपैयाँको बजेट सार्वजनिक गर्दा चालुतर्फ ३६ करोड ५१ लाख ३६ हजार र पूँजिगततर्फ २८ करोड ७१ लाख ९५ हजार २८ रुपैयाँ रहेको छ ।
५९ करोड ५८ लाख ८७ हजार बराबरको बजेट ल्याएको बराहताल गाउँपालिकाले चालुतर्फ ३४ करोड ५६ लाख १४ हजार र पूँजिगततर्फ २५ करोड दुई लाख ७३ राखेको छ । चालु आर्थिक वर्षको तुलनामा झण्डै तीन करोड बजेट कम हो ।
पञ्चपुरी नगर पालिकाले आव २०८०/८१ का लागि ६६ कराेड ९८ लाख ३४ हजार रुपियाँ बराबरको बजेट ल्याएको छ । चालुतर्फ ३७ करोड ३३ लाख ३३ हजार र पुँजीगततर्फ २९ करोड ६५ लाखको बजेट विनियोजन गरिएको छ । भेरीगंगा नगरपालिले ६८ कराेड ९९ लाख बराबरकाे बजेट पेश गरेकाे छ ।







