वीरेन्द्रनगरको बजेट तीन अर्व

सुर्खेत । कर्णालीका ७९ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि आफ्ना नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र सभामा पेस गर्नुपर्ने व्यवस्था छ ।
सोही व्यवस्था अनुसार सुर्खेतका पाँच नगरपालिका र चार गाउँपालिकाले आगामी बजेट सार्वजनिक गरेका छन् ।
प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्षको तुलनामा बढाएर बजेट ल्याएको छ । आइतबार १३ औँ नगर सभामा उपप्रमुख निलकण्ठ खनालले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि तीन अर्ब दुई करोड ६१ लाख ८९ हजार नौ सय ६७ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरे । चालु आर्थिक वर्षमा एक अर्व ९४ करोड ११ लाख १२ हजार पाँच सय रुपैयाँको बजेट रहँदा आगामि वर्षका लागि प्रस्तुत बजेट झण्डै एक अर्ब बढी हो ।
वजेटले विशेष गरि वीरेन्द्रनगरको वर्तमान आवाश्यकता, रोजगारी, पूर्वाधार विकास लगायतलाई प्राथमिकता राखेको दावी गरिए दीर्घकालिन महत्वका आयोजनाहरु बजेटमा समावेश भने भएका छैनन् । ‘शैक्षिक, प्रशासनिक, पर्यटकिय शहर स्वच्छ, समुन्नत वीरेन्द्रनगर’ भन्ने मुल नाराका साथ आएको नीति तथा बजेटमा वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउनेदेखि उपत्यकाको खानेपानी समस्या समाधानका लागि भेरी पम्पिङ आयोजना अघि बढाइने पुरानै योजनाले निरन्तरता पाएका छन् ।
बढ्दो अव्यवस्थित सहरीकरणलाई रोक्न ठोस योजना बजेटमा देखिदैन । महिला, बालबालिका, अपाङ्ग तथा विपन्न वर्गका नागरिकहरुको जीवनस्तर माथी उठाउने खालका खास योजना पनि बजेटमा समावेश हुन सकेनन् ।






