श्रीमानको हिंसा सहन नसकेर गीताले गरिन् सुरक्षित आवास गृहमै आत्महत्या

सुर्खेत । लामो समयदेखि श्रीमानबाट मानसिक र शारीरिक यातना भोग्दै आएकी गीता जैसीले आत्महत्या गरेकी छन् । केही दिनदेखि सोसेक नेपाल संस्थाको संरक्षणमा रहँदै आएकी उनले आइतबार बिहान संरक्षक कर्मचारी खाना गएको बेला शौचालयको ढोकामा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए ।

‘घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ’ उनले भने, ‘संरक्षण गरिरहेको संस्थाको घरमा नै मृत्यु भएको हो ।’ दैलेख भगवतीमाई गाउँपालिका–५ कट्टीका दानबहादुर शाहीसँग विवाह गरेकी गीतालाई लामो समय शाहीले मानसिक तथा शारीरिक यातना दिँदै आएका थिए । पतिसँग झगडा परेपछि उनले कालीकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी थिइन् ।

मानसिक यातनाकै कारणले सान्नीत्रिवेणी–१ लुसा माइत भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उनका चार वर्षीया छोरा टेकेन्द्रसहित केही दिनअघि उनी बेपत्ता भएकी थिइन् । बेपत्ता भएको भोलिपल्ट उनी नेपालगञ्जमा भेटिइएकी थिइन् ।

गीताका श्रीमान् कालीकोटको मान्म बजारमा व्यवसाय गर्दै आएका छन् । शाही एमाले मान्म नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्य थिए । केही समयअघिसम्म कार्यालय सचिवको काम पनि गर्थे ।

मान्म बजारमा बस्दै आएकी गीतालाई शाहीले पाँच वर्षअघि कान्छी श्रीमतीको रूपमा बिहे गरेर छोरा जन्माएपछि कुटपिट गर्दै हिंसा गर्न थालेका थिए । त्यसपछि उनी अलगै बस्दै आएकी थिइन् ।

शाहीले गीता र उनका छोरा मारिदिने धम्की दिँदै आएका थिए । गत वर्ष लुसा भीरमा लडेर मृत्यु भएका गीताका बुबाको पनि आफैंले मान्छे लगाएर भीरबाट धकेल्न लगाएर हत्या गरेको फेसबुक म्यासेन्जरमा भनेपछि दानबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
शाहीले पाँच वर्षअघि गीतालाई ढाँटेर विवाह गरेका थिए ।

जेठी श्रीमतीलाई क्यान्सर लागेको भनेर शाहीले आफूसँग ढाटेर विवाह गरेको पाँच वर्ष अघिदेखि नै बताउने गरेकी थिइन् ।

श्रीमानको हिंसा सहन नसकेर गीताले गरिन् सुरक्षित आवास गृहमै आत्महत्या

दैलेख–सुर्खेत सडक पुनर्निर्माण कार्य तीव्र