दैलेख–सुर्खेत सडक पुनर्निर्माण कार्य तीव्र


सुर्खेत ।
अविरल वर्षातले भत्काइदिएको दैलेख–सुर्खेत सडकखण्ड पुनर्निर्माण कार्य तीव्र पारिएको छ । यस सडकखण्डको ६७ किलोमिटर सडकमध्ये दैलेख सदरमुकामदेखि घोडाबाससम्म विभिन्न स्थानमा भासिएको सडकको पुनर्निर्माण कार्य तीव्र पारिएको हो ।
सडक डिभिजन कार्यालय, सुर्खेतका इन्जिनियर सुरेन्द्रकुमार सिंहले गत वर्ष भासिएको सडक निर्माणका लागि दुई वटा ठेक्का खोली निर्माण कार्य सुरु गरिएको जानकारी दिए ।
उनले घोडाबासदेखि माथिल्लो डुङ्गेश्वर र माथिल्लो डुङ्गेश्वरदेखि दैलेख बजारसम्म ठेक्का लगाई काम भइरहेको जानकारी दिए ।
घोडाबासदेखि माथिल्लो ड्ङ््गेश्वर सडक पुनर्निर्माणका लागि पाँच करोडमा ठेक्का भएकोमा बिपी–बिएपी जेभीले चार करोड १५ लाखमा गत जेठ ८ गते सम्झौता गरेको थियो ।
माथिल्लो डुङ्गेश्वरदेखि दैलेख बजारसम्मको सडक पुनर्निर्माणका लागि दुई करोडमा ठेक्का भएकोमा एक करोड १३ लाखमा गत वैशाख २० गते सम्झौता भएको इन्जिनियर सिंहले जानकारी दिए ।
उनका अनुसार घोडाबासदेखि माथिल्लो डुङ्गेश्वरसम्म सडक पुनर्निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको छ भने दैलेख बजारसम्म ५० प्रतिशत प्रगति भएको छ ।
३३ वर्षअघि निर्माण गरिएको दैलेख सडकखण्ड एक लेन भएकाले साँघुरो र मोडका कारण दुर्घटना बढ्ने गरेको थियो । सडक डिभिजन कार्यालयले भासिएको सडक पुनर्निर्माण सँगै साँघुरा मोडलाई फराकिलो बनाउँदै गएको छ । मोडलाई फराकिलो बनाउने कार्यसँगै दुई लेनको बनाउने योजना अनुसार काम भइरहेको छ ।





