१० औं राष्ट्रिय खेलकुदमा ध्यान देऊ !
२०८१ सालमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनमा आयोजकको भूमिकामा कर्णाली छ । सम्भवत् कर्णाली प्रदेशको क्षेत्रका लागि ठुला खाले खेलकुद प्रतियोगिता आयोजना गर्ने अवसर यो नै पहिलो हो । यसअघि साविकको मध्यपश्चिम विकास क्षेत्रमा बाँके, बर्दिया बाँहेक यहाँका अन्य जिल्लामा यस्ता ठुला खाले खेलको आयोजना भएका पनि थिएनन् । तर हालसम्म कर्णालीको अवस्था हेर्ने हो भने कर्णाली आफैमा प्रतियोगिता सञ्चालनका लागि तयार भएको देखिदैन । कर्णालीमा यसअघि सम्पन्न सबै खाले खेल पूर्वाधारहरुको विकास भएको थिएन । तर सकारात्मक पक्ष के छ भने संघीयता पछि कर्णालीमा खेल पूर्वाधारको विकासका लागि गतिविधिहरु सञ्चालन पनि भएका छन् । वीरेन्द्रनगर स्थित सुर्खेत रंगशाला निर्माणाधिन अवस्थामा छ । त्यसैगरी यसको आसपासका क्षेत्रमा खेल मैदान लगायतका पूर्वाधार निर्माणका लागि प्रक्रिया अघि बढेका छन् । प्रदेशको राजधानीमा मात्र केन्द्रित रहेको खेलकुद क्षेत्रको विकास अहिले कर्णालीमा अन्य जिल्लामा समेत पुग्दैछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमै खेलाडी उत्पादन गरेको कर्णालीमा सो अनुसारका पूर्वाधार निर्माण भने कछुवा गतिमै देखिन्छ ।
१० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई पक्ष देखिन्छन्, व्यवस्थापकीय जिम्मेवारी र आवश्यक पूर्वाधार विकास । यसअघि झै सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी राष्ट्रिय खेलकुद प्रतियोगिताले लिनु । यस अवस्थामा यसअघि व्यवस्थापकीय कमी कमजोरीहरु धेरै रहेको गुनासोहरु समेत आएका थिए । गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीको व्यवस्थापन तथा खेल मैदानहरुमा आवश्यक सामाग्री अभाव जस्ता समस्याहरु घटेको विषयमा विभिन्न सञ्चार माध्ययमले समाचार समेत प्रकाशित गरेका थिए । सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी प्रदेश स्थित खेलकुद परिषद्लाई नै हस्तान्तरण गर्नु संघीयता पछिको अवस्थामा यो सकारात्मक मानिन्छ । किनकी आयोजक प्रदेशले नै आयोजनाको व्यवस्थापकीय जिम्मेवारीमा रहँदा प्रदेशको स्थानीय स्रोत साधनको प्रयोग बढ्न जान्छ । यसले कर्णालीका होटल व्यवसायी, यातायात, जिन्सी सामाग्री आपूर्तिकर्ता लगायतलाई सहयोग पु¥याउनेछ । समग्रमा हेर्दा यहाँको आन्तरिक पर्यटन तथा कर्णालीको अर्थतन्त्रमा यो १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताले सहयोग पुर्याउने छ ।
१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि कर्णालीसँग अव ६० हप्ताको समयमा बाँकी छ । २०८१ मंसिर २ गतेदेखि ९ गतेभित्र नै प्रतियोगिता आयोजना गर्नुपर्ने समय सिमामा कर्णालीले हालसम्म पनि कति खेल प्रदेशमा आयोजना गर्ने भन्ने विषयमा यथार्त जानकारी दिन सकेको छैन । यसको मुख्य समस्या भनेकै यहाँ पूर्वाधारको अभाव हुनु हो । एक हप्ताको समय सिमामा हाल सम्भावना रहेका खेलकुदमा पूर्वाधारमा ३६ वटा खेलहरु आयोजना गर्न सकस नै छ । प्रदेश सरकार तथा संघीय सरकारको सहयोग विना द्रुत ढंगमा पूर्वाधार निर्माण गर्न नसके कर्णालीले प्रतियोगिता अन्य प्रदेशमा आयोजना गर्नुपर्ने हुन्छ । वर्षौवर्ष पछि ठुलाखाले खेलकुद प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी पाएको कर्णालीले पूर्वाधार अभाव पछि अन्य प्रदेशमा खेल आयोजना गर्नु दुःखद् विषय हो । यसले कर्णालीको खेल जगत् र यससँग सरोकार राख्ने सबैलाई चिन्तामा पु¥याउने छ । हालकै अवस्थामा सबै खेल प्रदेशमै सञ्चालन गर्न नसकिने अवस्था पनि छ, न्युनतम मापदण्ड तथा सबै सामाग्रीको अभावकै प्रतियोगिता सञ्चालन गर्नु लज्जास्पद हो । त्यसैले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले प्रदेशलाई नै पूर्ण व्यवस्थापकको जिम्मेवारी दिनुपर्छ । यसका साथै प्रदेश तथा संघीय सरकारले यहाँ कर्णालीमा खेलकुदका पूर्वाधार निर्माणका लागि बजेट विनियोजन, समयमा निर्माण कार्य सम्पन्न तथा अन्य आवश्यक गतिविधि लगायतमा ध्यान दिन जरुरी छ ।






