शान्ति सुरक्षा दिने सिडिओकै आवास गृह असुरक्षित

सुर्खेत । वीरेन्द्रनगर–७ स्थित घण्टाघर चोकदेखि उत्तर–पूर्व तर्फ जिर्ण अवस्थामा एक तले घर छ । हालको समयमा प्रयोग विहिन रहेको यो घर कसैको व्यक्तिगत नभएर जिल्ला प्रशासन कार्यालय (जिप्रका), सुर्खेतको कर्मचारी आवास गृह हो ।

यसअघि जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका लागि आवास गृहका रुपमा प्रयोग हुँदै आएको यो भवन घण्टाघर चोकमा वेवारिसे जस्तै बनेको छ । सम्भवत् सुर्खेतका लागि पहिलो पक्की भवन सहितको आवास गृह रहेको यो घर वीरेन्द्रनगरमा वसोवास तथा सरकारी कार्यालयहरुको स्थापनाको साक्षी बनेको छ ।

भवनमा प्रवेशका लागि जोकोहिलाई पनि सहज छ । मर्मतको आवश्यकता रहेका भवनका ढोका–झ्याल हरेक समय खुल्लै हुन्छन् । वर्षात्को समयमा पानी भित्रैसम्म पस्छ । भवनले मर्मत तथा सदुपयोग कुरेको वर्षौ भईसकेको छ ।

वीरेन्द्रनगरको तत्कालिन वसोवास योजनामा समेत यो भवन स्पष्ट देखिन्छ । वि.सं. २०४५ साल अघिसम्म जिल्ला प्रशासन कार्यालय यस भवनको पूर्व तर्फ केहि मिटरको दुरीमा थियो । २०४५ सालमा मुख्य ईन्जिनियर द्वारिकाप्रसाद गोर्खालीले कोरेको वीरेन्द्रनगर नगर योजना अन्र्तगत सरकारी क्षेत्र प्लट विभाजन नक्सामा समेत यो भवन अवस्थित छ । गोर्खालीको संयोजकत्वमा रहेको पाँच सदस्यीय सुर्खेत उपत्यका भौतिक परियोजना टोलीले २०४५ असार १० गते उक्त नक्सालाई अन्तिम स्वरुप दिएको थियो ।

वीरेन्द्रनगरमा सरकारी क्षेत्र प्लट विभाजन नक्साका लागि गोर्खालीको संयोजकत्वमा रहेको सुर्खेत उपत्यका भौतिक परियोजना टोलीमा सिनियर प्लानर बालकृष्ण श्रेष्ठ, सिनियर जियोग्राफर प्लानर प्रद्युम भट्टराई, आर्किटेक्ट शरदरत्न शाक्य, ड्राफ्टगर्ल आशा प्रधान रहेका थिए ।

कर्मचारी आवास गृहबाट केहि मिटरको दुरीमा रहेको अर्को भवनबाट प्रशासनका कामकाज चल्ने गथ्र्यो । कामकाज सकेपछि प्रमुख जिल्ला अधिकारीका लागि यसै भवनमा आवासको व्यवस्था गरिएको थियो ।

सुर्खेत उपत्यका भौतिक परियोजना टोलीले नक्सामा यस घरलाई समावेश गर्दासम्म सुर्खेतमा १३ औं प्रमुख जिल्ला अधिकारी कार्यरत थिए । २०४५ वैशाखदेखि २०४७ साल वैशाख महिनासम्म सुर्खेतका प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत रहेका शम्भुशम्शेर राणाका समयमा परियोजना टोलीले यस घरलाई जिल्ला प्रशासन कार्यालयको आवास गृहका रुपमा नक्सांकन गरेको थियो । सो समय अघि पनि प्रमुख जिल्ला अधिकारीहरु यस आवास गृहमा बस्ने गर्थे । तर कहिलेबाट सुर्खेतका प्रमुख जिल्ला अधिकारीले यस आवास गृह प्रयोग गरेको भन्ने विषयमा भने कुनै यथार्त जानकारी भने छैन ।

वि.सं. २०२४ सालमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा स्थापना भएको थियो । सो समयमा राजपत्र द्धितीय श्रेणीका रामसिंह ठकुरी सुर्खेतको पहिलो प्रमुख जिल्ला अधिकारी थिए । उनी २०२४ सालदेखि २०२५ सम्म जिल्लामा प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत रहेको जिल्ला प्रशासन कार्यालय, सुर्खेतको तथ्यांक छ ।

हाल प्रमुख जिल्ला अधिकारी रहेका नारायणप्रसाद सापकोटा सुर्खेतका लागि ५८ औं प्रमुख जिल्ला अधिकारी हुन् ।

एक कठ्ठा १८ धुर जग्गा

जिल्ला प्रशासन कार्यालयलाई आवास गृहका लागि उक्त जग्गा उपलब्ध गराइएको २०४५ साल अघि नै हो ।

मुख्य ईन्जिनियर द्धारिकाप्रसाद गोर्खाली सहितको टोलीले कोरेको सरकारी क्षेत्र प्लट विभाजन नक्सामा प्रशासनका लागि एक कठ्ठा १८ धुर जग्गा छुट्टाइएको छ । यो जग्गा प्रमुख जिल्ला अधिकारीलाई आवास गृहका लागि मात्र छुट्टाइएको थियो । यसवाहेकको जिल्लामा प्रशासनको कार्यालय स्थापना भएको थियो ।

हालको समयमा बाटोको जग्गा छुट्टाएरपनि ६ सय ६० वर्गमिटर जग्गा (एक कठ्ठा १८ धुर) जग्गा कर्मचारी आवास गृहका लागि अझैपनि उपलब्ध छ । भवन जिर्ण बनेपछि सुर्खेत उपत्यका नगर विकास समिति मातहत रहेको अहिले यो जग्गा समेत प्रयोग विहिन छ ।

मुख्य ईन्जिनियर गोर्खालीको टोलीले आवास गृहका लागि उत्तर दक्षिण तर्फ २० मिटर र पूर्व पश्चिम तर्फ ३३ मिटर जग्गा छुट्टाएका थिए । यि दुवै तर्फ जग्गालाई बाटोले छोएको छ ।

‘सामुदायिक सेवा भवनमा प्रयोग गर्नुपर्छ’

सुर्खेतमा प्रशासकको निवासका रुपमा स्थापना भएको यो घर जिर्ण अवस्थामा देख्दा पूर्वशिक्षक कुमारबहादुर ढकाल दुःख व्यक्त गर्छन् । जिल्लामा पहिलो पटक बनेको पक्की घरले यहाँको इतिहास बोकेको उनको भनाई छ ।

उनले भने, ‘२०२५–२६ सालतिर तत्कालिन भेरी अञ्चलका सहायक अञ्चलाधीश दानबहादुर शाक्यले यो घर बनाएका थिए । पछि नगर योजनाले सरकारी जग्गा अधिग्रहण गर्दै जिल्ला प्रशासनलाई छुट्टाएपछि दर्जनौँ प्रमुख जिल्ला अधिकारीहरु बस्न थालेका हुन् ।’

सरकारी कर्मचारीले प्रयोग गरी अहिले वेवारिसे अवस्थामा छाड्दा यसको सदुपयोगमा स्थानिय तह तथा प्रदेश सरकारले समेत ध्यान दिन नसकेको उनको भनाई छ ।

यत्तिकै छाडिनुभन्दा यसलाई सामुदायिक सेवा भवनका रुपमा विकास गरिनुपर्ने उनले सुझाव दिए । उनले भने, ‘यसमा पुस्तकालय समेत स्थापना गर्न सकिन्छ । यो क्षेत्र नागरिकहरुको चहलपहल भएको स्थान हो । पुस्तकालय वाहेक जुन विषयमा भएपनि यसलाई सामुदायिक सेवा भवनका रुपमा विकास गर्न सकिन्छ ।’

सुर्खेतकै ईतिहास बोकेको यो घर हाल वेवारिसे अवस्थामा छाडिनु दुःखद् रहेको उनको भनाई छ ।

‘जग्गा अतिक्रमण रोकेका छौं’

जिल्ला प्रशासन कार्यालय, सुर्खेतसँग हाल कार्यालय सञ्चालन तथा प्रमुख जिल्ला अधिकारीको निवासका लागि एकै स्थानमा भवन तथा जग्गा उपलब्ध छ । घण्टाघर चोकमा रहेको जग्गा भने यसअघि प्रयोगमा आएको जग्गा हो । अव भने जिल्ला प्रशासन कार्यालय, सुर्खेतका लागि उक्त जग्गा पुनः प्रयोगमा आउन सक्ने विषयमा भने कुनै आगामी योजना देखिदैन ।

‘उक्त जग्गा र भवन पुनः प्रयोगका लागि कुनै योजना छ ?’ भन्ने युगआह्वानकर्मीको प्रश्नमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले हालसम्म कुनै योजना नरहेको जानकारी दिए । उनले भने, ‘अहिले उक्त भवन प्रयोगमा त छैन । तर प्रशासनको संरक्षणमा भने रहेको छ । खाली स्थान भएमा अतिक्रमण समेत हुनसक्थ्यो । अहिले संरक्षणमा छ ।’

यता सुर्खेत उपत्यका नगर विकास समितिका सदस्य सचिव तथा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी समेत सरकारी कार्यालयका लागि छुट्टाइएको उक्त घर÷जग्गाको भविष्यमा सदुपयोगका वारेमा जानकार छैनन् । हालसम्म नगर विकास समितिले सरकारी कार्यालयका लागि दोह्रोरो पर्नेगरी छुट्टाइएका जग्गा लगायतका विषयमा भने हालसम्म कुनै निर्णय नगरेको उनको भनाई छ ।

शान्ति सुरक्षा दिने सिडिओकै आवास गृह असुरक्षित

बिल नभएको अवैध सामान बरामद

१० औं राष्ट्रिय खेलकुदमा ध्यान देऊ !