पुस्तकालयले फेरिएको दैनिकी ‘जीवन’ पढ्दै कारागारका कैदीवन्दी

सुर्खत । ‘सचिव’ (नाम परिवर्तन) अहिले दिनहुँ जसो पुस्तक अध्ययन गर्छन् । २०७१ सालमा कर्तव्यज्यान मुद्दामा सजाय पाएका उनको आठ वर्ष सजाय भुक्तान भईसकेको छ । यस विच उनले धेरै पुस्तकहरु अध्ययन गरे । सुर्खेत जिल्ला कारागारमा सजाय भोगिरहेका उनी अहिले पुस्तकालय व्यवस्थापन समितिको सचिव समेत हुन् ।

कारागार भित्र रहेको पुस्तकालय व्यवस्थापन समितिमा ११ सदस्यीय कार्यसमिति छ । कारागार भित्र पुस्तकालय उनीहरु आफै व्यवस्थापन गर्छन् । पुस्तकालयमा करिव २५ हजार पुस्तकहरु छन् ।जीवनउपयोगी सन्देश तथा भावना बोकेका उपन्यास तथा पुस्तकहरु सचिवलाई ज्यादै मन पर्छ । उनले भने, ‘खासगरी जीवन दर्शन सम्बन्धीका किताव मलाई मन पर्छ । अहिलेसम्म एक सय वटा भन्दा धेरै पुस्तक पढीसकेहुँला ।’
पुस्तकालयमा पुस्तक मात्र उपलब्ध छैनन्, कैदीवन्दीका लागि आवश्यक पर्ने निवेदनका ढाँचाहरु समेत उपलब्ध छन् । कानूनी आवश्यकताका आधारमा अदालत, तथा कारागारको आन्तरिक प्रशासनलाई पेश गर्नुपर्ने निवेदनका ढाँचा पुस्तकालयमा पाइन्छन् । उनले भने, ‘अहिले नियमित पुस्तक अध्ययन गर्नेहरुमा हामी २०–३० जना छौँ । अरुहरुले कहिलेकाही मात्र पढ्नुहुन्छ । समग्रमा एक सय जना जतिले पुस्तक पढ्छन् होला ।’ कारागारमा कैदीवन्दीलाई पुस्तकसँगको पहुँच पुगेको चार वर्ष बढी समय मात्र भएको छ । २०७५ चैत्र २५ गते ‘कारागारमा पुस्तक’ अभियानले पुस्तकालयको स्थापना गराएको थियो । पुस्तकालय स्थापना अघि पनि कारागारमा पुस्तक पढ्नेहरुको संख्यामा कमी भने थिएन । तर प्रयाप्त मात्रामा पुस्तकहरु भने थिएनन् । आफ्नो अनुभव सुनाउदै सचिवले भने, ‘अहिलेको जस्तो कहाँ थियो र ? मधुपर्क, युवामञ्च जस्ता पुस्तकहरु हुन्थे । त्यो पनि हामी दुई–तीन चोटी पढ्थ्यौ । पत्रपत्रिकाहरु पनि सम्हालेर राख्थ्यौँ । बाढेर पढ्थ्यौँ ।’
भेटघाटमा पुग्ने आफन्तसँग सचिव लगायत उनका साथिहरुले किताव मगाउँथे । सिमित कितावहरु पालैपालो पढ्नुपर्ने वाध्यता थियो ।
उनले भने, ‘अव अहिले कितावले हामीलाई दिन बिताउन समेत सहयोग गरेको छ । किताव पढ्दा कारागारमा हाम्रो समय यत्तिकै खेर गएको जस्तो लाग्दैन ।’ सुर्खेत स्थित जिल्ला कारागारमा अहिले तीन सय ६१ जना पुरुष, ३९ जना महिला र पाँच जना आश्रित बालबालिका छन् । कारागार पुस्तक अभियान २३ चैत्र, २०७५ मा साहित्यकारसमेत रहेका तत्कालिन प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहको संयोजकत्वमा शुरु भएको थियो ।
पुस्तकालयमा नियमित पुग्छन् अभियानकर्मी
गत बुधवार कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकाल सहित अभियानकर्मीको टोली जिल्ला कारागारमा पुगेको थियो । कारागारमा पुस्तकहरुको अवस्था, पुस्तकमा पहुँच तथा थप आवश्यकता रहेका पुस्तकहरुका विषयमा अभियानकर्मीको टोलीले स्थलगत अवलोकन गरेको थियो । बुधवार मात्र होइन, अभियानलाई प्रभावकारी बनाउन अभियानकर्मीहरु नियमित रुपमा कारागार पुगिरहन्छन् ।
कारागारलाई किताव अभियान समितिका उप–संयोजक ज्योति कटुवालले भनिन्, ‘कैदीवन्दीहरुले पुस्तक अध्ययनमा निकै उत्साह जनाउनुभएको छ । अहिले प्रदेशभरका कारागारमा ४० हजार थान भन्दा धेरै पुस्तक पु¥याएका छौँ ।’ अभियान अन्र्तगत स्थापना भएका सबै पुस्तकालयमा सबै पुस्तकहरु छैनन् ।
तर पुस्तकहरुको मागलाई सम्बोधन गर्न अभियान समितिले ‘फेरबदल’को नीति अवलम्वन गर्दैछ । एउटा पुस्तकालयमा रहेका पुस्तकहरु अर्कोमा सार्दा पुस्तकहरुमा कैदिवन्दीको पहुँच बढाउन सकिने उप–संयोजक कटुवाल बताउँछिन् । कारागार किताव अभियानमा प्रहरी, पत्रकार, विभिन्न सामाजिक संघ संस्थाका पदाधिकारी लगायत आवद्ध छन् ।






