बजेट पैतृक सम्पत्ति बाँड्ने दस्तावेज होइन : नेता कँडेल

सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले बजेट पैतृक सम्पत्ति बाड्ने दस्तावेज नभएको बताएका छन् । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको बाह्रौ बैठकमा प्रदेश सरकारले पेश गरेको बजेटमाथीको छलफलमा बोल्दै नेता कँडेलले वितरणमुखी बजेटले कर्णालीको विकास कहिले पनि हुन नसक्ने बताएका हुन् ।

‘बजेट भनेको प्रदेश निर्माण गर्ने विकास र समृद्धिको योजना हो । जसरी पैतृक सम्पत्ति वितरण गरे जस्तै गरी बजेटलाई वितरण गर्ने कुरा नै ठान्ने हो भने, कार्यकालमा त वितरण गर्नुहोला, तर कर्णालीवासीको अवस्था र स्थिती जे छ त्यसको सुधार कहिल्यै हुँदैन ।’ कँडेलले भने ।
काम नगरेर आफ्ना आसेपासेलाई पोसाउने खालको बजेटको कुनै औचित्य नहुने उनको भनाई छ । मुख्यमन्त्री तथा मन्त्रीहरुले आफ्नो जिल्लालाई प्राथमिकतामा राखेकोप्रति कँडेलले कडा प्रतिवाद गरेका थिए ।
असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले संसदमा आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट पेश गरेका थिए । उक्त बजेटमाथी आइतबारबाट छलफल सुरु भएको हो ।






