धार्मिक पर्यटन प्रवर्द्धनका लागि पशुपति टु पञ्चकोशी अभियान

सुर्खेत । धार्मिक पर्यटन प्रवर्द्धनका लागि पशुपति टु पञ्चकोशी अभियान सुरु गरिएको छ । आइतबार पशुपतिनाथबाट अभियान सुरु गरिएको हो । कर्णाली प्रदेशको मुख्य धार्मिक क्षेत्र पञ्चकोशीलाई पशुपतिनाथसँग जोडेर धार्मिक पर्यटन प्रवर्द्धन गर्न यो अभियान सुरु गरिएको हो ।

पञ्चकोशी क्षेत्र रहेको दैलेखबाट निर्वाचित संघीय र प्रदेश सांसद तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको उपस्थितिमा अभियान सुरु गरिएको हो । अभियानका लागि फोटो पत्रकार भरतबन्धु थापा र दैलेख घर भई काठमाडौं बस्दै आएकाहरूको संस्था दैलेखी सेवा समाजले पहल गरेको हो ।

पशुपतिनाथको दर्शन गर्न आउने धार्मिक पर्यटकलाई पञ्चकोशीसम्म पुर्‍याउने लक्ष्यका साथ यो प्रवर्द्धनात्मक अभियान सुरु गरिएको हो । काठमाडौंबाट गाडीमार्फत देवघाट, लुम्बिनी, बाँकेको बागेश्वरी, सुर्खेतको काँक्रेबिहार र दैलेखको पञ्चकोशी क्षेत्र जोड्ने गरी अभियान सुरु गरिएको कर्णाली प्रदेशका सांसद घनश्याम भण्डारीले बताए । उनले प्रचार नहुँदा पवित्र धार्मिकस्थल पञ्चकोशी ओझेलमा परेको भन्दै यो अभियानले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरे ।

यस्तै दैलेख क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद दिक्पाल शाहीले यो धार्मिक रुटलाई हिल्सासम्म जोड्न सके अन्तर्राष्ट्रियस्तरमै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । दैलेखमा रहेका पाँचवटा पवित्र धार्मिकस्थल पञ्चकोशीको नामबाट परिचित छन् । यसमा प्रसिद्ध ज्वाला क्षेत्र पनि पर्छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *