२०८३ आश्विन १८ गते
×

Now Playing

 पुस्तक समीक्षा : कर्णालीको दस्तावेज हो, ‘दैलेखी लोकसाहित्य’

युवराज शर्मा । एक्काइसौं शताब्दीका हामी मानिसहरुले आफ्नो प्राचीन संस्कृति, साहित्य, कला र सभ्यतालाई असभ्य, असंस्कृत वा ग्रामीण साहित्य, संस्कृति, कला र सङ्गीत भनेर आधुनिक बन्न वा ती पुख्र्यौली सम्पदालाई चटक्कै बिर्सेर वर्तमानमा विश्व समूदायले सिर्जना गरेको रङ्गीन दुनियाँको क्षणिक आनन्दमा त्वम् शरणम् हुनुमा गौरवान्वित ठान्दै आफ्नो परम्परागत संस्कार, संस्कृति र साहित्य प्रति विमुख बनिरहेको बेला दैलेख जिल्लाको पहिचान बनेर रहेका लोकसाहित्यका विविध विधा उपविधाको संरक्षण र संवर्धन गर्ने हेतुले यो पुस्तक प्रकाशित भएको छ ।

लेखक नारायणप्रसाद तिमिल्सेनाले आफ्नो स्नातकोत्तर तहको अध्ययन पुरा गर्ने सिलसिलामा दैलेख जिल्लामा प्रचलित मागल गीतको सङ्कलन, वर्गीकरण र विश्लेषण शीर्षकमा शोध प्रवन्ध पत्र तयार गर्ने क्रममा सङ्कलन गरिएका थप सूचनाको सङ्ग्रहबाट यो पुस्तक जन्मिएको देखिन्छ । लोकसाहित्य विधासँग सम्बन्धित यस पुस्तकलाई दुल्लु नगरपालिका दैलेखले वि.सं. २०७७ सालमा (प्रथम संस्करण) प्रकाशन गरेको हो । यस पुस्तकलाई विषयवस्तुका आधारमा दुई खण्डमा विभाजन गरिएको छ । पुस्तकमा जम्मा पृष्ठ सङ्ख्या पाँच सय ३६ छ । जसमध्ये आवरण पृष्ठ बाहेक पूर्व खण्डमा १६ पृष्ठ, पहिलो खण्डमा ७२ पृष्ठ, दोस्रो खण्डमा तीन सय ६२ पृष्ठ र बाँकी पृष्ठमा सन्दर्भसामग्री र परिशिष्टहरू उल्लेख गरिएको छ ।

९९३७०७५६८८ आइएसविएन रहेको यस पुस्तकको मूल्य एक हजार एक सय ११ कायम गरिएको छ । पुस्तकको बाह्य पृष्ठ अर्थात् आवरणमा हुड्के नाचको चित्र अङ्कित छ । जसलाई दैलेखी स्रष्टा हरिहर अधिकारी “श्यामल”ले तयार गर्नु भएको हो । दैलेखी माटोमै जन्मिनुभएका अर्का स्रष्टा मधुसूदन गिरीले भूमिका र दुल्लु नगरपालिका दैलेखका तत्काली ननगर प्रमुख घनश्याम भण्डारीले प्रकाशकीय लेखिदिनुभएको छ ।

यस पुस्तकको पहिलो खण्डमा लोकसाहित्यको परिचय, लोकसाहित्य र लिखित साहित्यका बीचको समानता र भिन्नता, लोकसाहित्य र लोकसंस्कृतिको अन्तर सम्बन्ध, लोकसाहित्य र ज्ञानका अन्य शाखाहरू बीचको सम्बन्ध, लोकसाहित्यको ऐतिहासिकता र नेपाली लोकसाहित्यको अध्ययन परम्परा, नेपाली लोकसाहित्यको वर्गीकरण र विधागत परिचय तथा लोकसाहित्यको पुनर्मूल्याङ्कन र यसको नवीन अवधारणा शीर्षक अन्तर्गत लोकसाहित्यको सैद्धान्तिक अवधारणाका साथै ऐतिहासिक विकासक्रमका बारेमा विस्तृत चर्चा गरिएको छ ।

दोस्रो खण्डमा दैलेखी लोकसाहित्यको परिचय दिइएको छ । नेपाली लोकसाहित्यको विकास परम्परामा दैलेखको योगदानबारे चर्चा गरिएको छ । त्यसैगरी दैलेखी लोकगीतलाई ६ प्रकारमा (सामान्य लोकगीत, संस्कार गीत, व्रत÷पर्व तथा धार्मिक गीत, कर्मगीत, बालगीत र नृत्यगीत) मा विभाजन गरी उदाहरण सहित प्रष्ट पारिएको छ । सामान्य लोकगीत अन्तर्गत देउडा, ठाडीभाका, झ्याउरे र बाह्रमासे गीतको चर्चा गरिएको छ । त्यस्तै संस्कार गीत अन्तर्गत मागल, धमारी, कर्को अर्थात मृत्यु गीत बारेको विश्लेषण छ । व्रत, पर्व तथा धार्मिक गीत अन्तर्गत बिषुपर्व वानववर्ष गीत, तीजगीत, ऋषिपञ्चमी व्रतगीत, भैलो, देउसी, भोसी गीत, भैनी गीत, सुवा गीत, राइसुवा गीत, जैभम्भ अर्थात् जैबम्बगीत, श्रीपञ्चमी गीत, मकर गीत, फागु गीत, पडेली, भजन, हरिभजन, गायत्री भजन, धामी पतुर्दा गाइने देवगीत, वर माग्दा गाइने देव गीत, धामी पतुर्दा गाइने मागल गीत बारे ब्याख्या विश्लेषण गरिएको छ ।

त्यस्तै कर्म गीत अन्तर्गत रोपाइ गीत, असारे गीत, झम्कलडी गीत र राइझुमा गीतबारे चर्चा गरिएको छ । त्यसैगरी नृत्य गीत अन्तर्गत चाफुल्ला टिपन जाऊँ, रत्यौली गीत, झोडा गीत, सिँगारु गीत, पैसरी गीत, ख्याली, ढुस्को गीत, फागती गीत, दरीबाज र दरीखेल गीत, बौज्यू बौज्यू वियोग गीत र आत्म विलाप गीतबारे उदाहरण सहित ब्याख्या गरिएको छ । अन्तमा बालगीत अन्तर्गत घुघुती बासुती गीत, निदरी गीत, जहाज कस्तो हुन्छ ?, फाटफाट कुहिरो, छेपारी छिन गीत, उर्कुटीमुर्कुटी गीत, डुम गीत, कुम्भई रानी, चिँमुसीचिँ, ऐराको गीतका केही नमूना राखिएको छ ।
दोस्रो खण्डमै दैलेखी लोकगाथा अन्तर्गत सतीकलसाको गाथा, वाला राजा काशिरामको भारत, राजा जितारी मल्ल जालन्धरी मल्लको भारत, ढटाहा गाथा, बाँके रावलचना रौतेलीको गाथा, बालुन र वैजी गीतबारे ब्याख्या गरिएको छ ।

त्यसैगरी दैलेखी लोककथा अन्तर्गत राजा मान सारको कथा, जस्तालाई तस्तै, भाग्यमा भए खटिया उपर, लाउन्या मुल्यायाको कथा, भाग्यमानीको भूतै कमारो, कान्छो राजा बन्यो, शेरसिंह, चलमनी खाट, लवेद, उपकथा, टुहुरो केटो, मोतिचरी, भारवीको कथा, सुनकेशा मैयाको कथा, सुनकेशा रानीको कथा समेटिएका छन् । त्यसैगरी दैलेखी लोकनृत्य अन्तर्गत मारुनी, सोरठी, घाटुबारे उदाहरण सहित ब्याख्या गरिएको छ ।

दैलेखमा प्रचलित लोकोक्ति अन्तर्गत दैलेखी उखान (साइतर), दैलेखी गाउँखाने कथा, दैलेखी लोकगाली, दैलेखी लोकमन्त्र र झिट्टाबारे चर्चा गरिएको छ । दैलेखमा प्रचलित लोकपद्य अन्तर्गत लोक रामायण, खाँडो, सवाई, वंशावली र सिलोकबारे ब्याख्या गरिएको छ । नेपालीभाषा साहित्यको उद्गमथलोमा बसेका हामी कर्णालीबासी नेपाली साहित्यको अध्ययन गर्दा सदैव हेपिएको महशुस गर्दै आएका छौं ।

नेपाली लोकसाहित्यमा यस क्षेत्र बाहेकका विद्वानहरुको वाहुल्यता रहेको हुँदा देशभित्रकै भएर पनि वाह्य र अन्तर्राष्ट्रिय अध्ययनको हस्तक्षेपमा कर्णालीको लोकसाहित्य सदिऔंदेखि दविदै आएको छ । बाहिरबाट आएका अध्येताले विषयको गाम्भीर्यलाई नबुझी अड्कलका आधारमा यहाँको लोकसाहित्यको विवेचना गर्दा लोकसाहित्यले आफ्नो जीवन र पहिचान दुवै गुमाएको देखिन्छ भन्ने सन्देश यस पुस्तकले दिन खोजेको छ ।

यस पुस्तकले लोकसाहित्यको विधागत र समाजमा प्रचलित मान्यता अनुरुप परिचय दिएको छ । लोकसाहित्यका विविध रुप जो हाल लोपोन्मुख हुँदैगएका छन् तिनका बारेमा यस पुस्तकबाट यथेष्ट जानकारी लिन सकिन्छ । हाल प्रचलित लोकसाहित्यको अध्ययन परम्परासँग यस पुस्तकले दैलेखी लोकसाहित्यका विविध विधालाई जोडेर नेपाली लोकसाहित्यको भण्डार भर्न सघाएको छ ।
यस पुस्तकले दैलेखको मात्र नभई समग्र कर्णाली प्रदेशकै प्रतिनिधित्व गरेको छ । यहाँका हराउनै लागेका सांस्कृतिक र साहित्यिक सम्पत्तिको जगेर्ना गर्दै भावी पुस्ताकालागि समेत अध्ययन अनुसन्धान गर्ने बाटो खोलिदिएको छ ।
यसर्थ कर्णालीवासी लगायत समग्र नेपाली पाठकहरु जो लोककला र लोकसाहित्य प्रति चासो राख्छन् तिनका लागि यो पुस्तक महत्वपूर्ण छ । नेपाल सरकारद्वारा प्रदान गरिने प्रतिभा पुरस्कार तथा सम्मानका लागि २०७९ सालमा कर्णाली प्रदेशबाट संस्कृति तर्फको प्रतिभा सम्मान दिलाउन सफल कृतिको नामकरण दैलेखी लोकसाहित्य राखेर लेखकले आफ्नो जन्मभूमिप्रतिको सद्भाव प्रकट गरेको भएपनि यसले दैलेखी माटो र पानीलाई मात्र आत्मसात् गरेको नभई समग्र नेपाली लोकसाहित्यकै प्रतिनिधि कृतिका रुपमा आएको छ ।
अन्तमा सम्भवतः यो पुस्तक दैलेखी लोकसाहित्यका बारेमा सुक्ष्म अध्ययन गरी लेखिएको पहिलो पुस्तक हो । यसले लोकसाहित्यको अध्ययन गर्न रुचाउने, गरिरहेका वा भावी अध्येताहरुकालागि मार्गदर्शन दिनेमा मैले विश्वास लिएको छु । लामो समय लगाएर चलनचल्तीमा यदाकदा रहेका तर हराउनै लागेका तथा अभिलेखीकरण नभएका यस्ता मौलिक विधामा कलम चलाई दस्तावेजीकरण गरी पुस्तकको रुप दिई नेपाली लोकसाहित्यकालागि ठूलो गुन लगाउनुभएका लेखक नारायणप्रसाद तिमिल्सेनाप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै समीक्षाको यहीँ बिट मार्छु । अस्तु ।

पुस्तकः दैलेखी लोकसाहित्य
प्रकाशकः दुल्लु नगरपालिका, दैलेख
प्रकाशन मितिः २०७७

 पुस्तक समीक्षा : कर्णालीको दस्तावेज हो, ‘दैलेखी लोकसाहित्य’

सुर्खेतबाट १५ महिनामा १५ हजार बढीले लिए

 पुस्तक समीक्षा : कर्णालीको दस्तावेज हो, ‘दैलेखी लोकसाहित्य’

YUGAAWHAN NATIONAL DAILY (2080-03-31)

Leave a comment

Your email address will not be published. Required fields are marked *