सुर्खेतबाट १५ महिनामा १५ हजार बढीले लिए राहदानी, रोजगारीका लागि धेरै

सुर्खेत । पछिल्लो समय सुर्खेतबाट वैदेशिक रोजगारी तथा उच्च शिक्षा अध्ययनका लागि विदेशिन चाहनेको संख्या बढ्दै गएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट गत वर्ष २०७९ को वैशाखदेखि २०८० को असार २९ गतेसम्म १५ हजार आठ सय आठ जनाले राहदानी लिएका छन् । चालु वर्षको बैशाखदेखि असार २९ सम्मको तीन महिनाको अवधिमा मात्रै तीन हजार एक नौ जनाले राहदानी लिएको सुर्खेत प्रशासनको तथ्यांक छ । यो संख्या सुर्खेत प्रशासनबाट मात्रै राहदानी लिनेहरुको हो । योभन्दा धेरैले काठमाडौंबाट राहदानी बनाउने गरेका छन् । वैदेशिक रोजगारी र अध्ययनका लागि तत्काल जान चाहनेहरुले काठमाडौं र अलि ढिला गरी जानेहरुले जिल्लाबाट राहदानी लिने गरेका छन् ।

राहदानी बनाउँनेहरुमा अधिकांश वैदेशिक रोजगारी, त्यसपछि उच्च शिक्षा अध्ययन र भ्रमणमा जान चाहनेहरु रहेको प्रशासनले जनाएको छ । यो विद्युतिय राहदानी वितरण सुरु भएयता १५ महिनाको अवधिमा सुर्खेत प्रशासनबाट राहदानी बनाउँनेहरुको संख्या हो । स्वदेशमा रोजगारीको अवसर नभएको भन्दै दैनिक वैदेशिक रोजगारीका लागि राहदानी बनाउन धेरैजसो युवायुवतीहरु आउने गरेको राहदानी शाखाका खरिदार देवबहादुर ठाडामगर बताउँछन् । रोजगारीसँगै उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, बेलायत लगायतका देशहरुमा जाने युवायुवतीको संख्यामा समेत बृद्धि भइरहेको उनको भनाई छ ।

राहदानी लिनेहरुमा महिलाको तुलनामा पुरुष बढी रहेको प्रशासनले जनाएको छ । यो अवधिमा राहदानी वितरणबाट झण्डै सात करोड ९० लाख ४० हजार राजश्ज संकलन भएको छ ।
सुर्खेतमा यति मात्रै होइन रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेहरुको संख्यासमेत बढ्दो छ । श्रम तथा रोजगार कार्यालय सुर्खेतको वार्षिक प्रगति विवरणका अनुसार २०७८ मा वैदेशिक रोजगारीबाट फर्किएका एक हजार सात सय १५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । जसमा एक हजार ६ सय २१ जना पुरुष र ९४ जना महिला रहेका छन् । कार्यालयले त्यसयताको तथ्यांक भने अद्यावधिक गरेको छैन ।

१७ हजार महिला र ७७ हजार पुरुष विदेशमा

रोजगारी तथा विविध कारणवश कर्णाली प्रदेशका ६२ हजार ७ सय २८ परिवारका सदस्य अन्य मुलुकमा बसोबास गर्दै आएका छन् । जसमध्ये ९४ हजार ३ सय २० जना नागरिक विदेशमा बसोबास गर्ने गरेका छन् । राष्ट्रिय तथ्यांकका आधारमा यो संख्या ज्यादै न्यून भने हो । राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालभरबाट कुल २१ लाख ९० हजार पाँच सय ९२ जना विदेशमा रोजगारी तथा अन्य कारणले बसोबास गर्दै आएको देखिन्छ । नेपालभरको तुलनामा कर्णालीबाट विदेशिनेमा कुल चार दशमलव ३१ प्रतिशत छ ।
यसअघि २०६८ को जनगणनाका अनुसार कर्णाली प्रदेशबाट ६७ हजार पाँच सय ८२ जना विदेशमा बसोबास गर्दै आएका थिए । विगत १० वर्षको समयमा यो संख्या बढेर ९४ हजार पुगेको छ ।

१० वर्षको समयमा थप ३५ हजार पाँच सय ७९ जना कर्णालीबाट विभिन्न कारणले विदेशिएका छन् । कर्णालीबाट विदेशिएकामा पुरुषको संख्या ७७ हजार दुई सय ७८ जना छ, भने महिलाको संख्या १७ हजार ४२ रहेको तथ्यांकले जनाएको छ ।कर्णालीमा रोजगारीको अवस्था कुल जनसंख्याको ४२ दशमलव पाँच प्रतिशतले ६ महिनाभन्दा बढी रोजगारी पाउँने गरेका छन् । यस्तै, १४ दशमलव एक प्रतिशतले ६ महिना, १२ दशमलव सात प्रतिशतले ती महिनाभन्दा कम र ३० दशमलव आठ प्रतिशतले कुनै पनि काम नगरेको तथ्यांकले देखाएको छ ।
काम गरेको समय काम नगरेको समयभन्दा बढी भएमा बेरोजगार मानिन्छ ।

१३ हजारले लिए श्रम स्वीकृति

कर्णालीमा धेरै संख्यामा रोजगारीका लागि भारत जाने गर्छन् । वैदेशिक रोजगार विभागले प्रकाशन गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदन सन् २०२१–२०२२ लाई स्रोत जनाउँदै नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय सुर्खेतले कर्णाली प्रदेशबाट भारतबाहेक रोजगारीका लागि तेस्रो मुलुक जाने १३ हजार चार सय २६ जनाले नयाँ श्रम स्वीकृति लिएको जनाएको छ ।

राष्ट्र बैंकको प्रादेशिक आर्थिक अध्ययन प्रतिवेदन २०७९ का अनुसार वैदेशिक रोजगारीबाट फर्कने श्रमिकको संख्या १७ हजार ३ सय ९८ छ । वैदेशिक रोजगारीबाट फर्कने श्रमिकहरूमध्ये अधिकांशले पुनः श्रम स्वीकृति लिने गरेका छन् । केहीले वैदेशिक रोजगारीबाट सिकेका सीपलाई स्वदेशमै उपयोग गरी स्वरोजगार कार्यमा संलग्न रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रदेशको जनसंख्याको ठूलो हिस्सा रहेको युवा जनशक्तिलाई आवश्यक व्यवहारिक सीप तथा क्षमताको विकास गर्न तालिम केन्द्र स्थापना गरी सीप, क्षमता र दक्षताअनुसारको रोजगारी सिर्जना गरी प्रदेशमै अधिकतम परिचालन गर्नतर्फ राज्यले ध्यान दिनुपर्ने राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा भनिएको छ ।

सुर्खेतबाट १५ महिनामा १५ हजार बढीले लिए राहदानी, रोजगारीका लागि धेरै

YUGAAWHAN NATIONAL DAILY (2080-03-30)

सुर्खेतबाट १५ महिनामा १५ हजार बढीले लिए राहदानी, रोजगारीका लागि धेरै

 पुस्तक समीक्षा : कर्णालीको दस्तावेज हो, ‘दैलेखी

Leave a comment

Your email address will not be published. Required fields are marked *