एमालकोे प्रथम प्रदेश अधिवेशनमा सबैभन्दा बढी प्रतिनिधि सुर्खेतबाट छानिने

सुर्खेत ।
नेकपा एमाले कर्णाली प्रदेशको असोज १० गते उद्घाटन हुने प्रथम प्रदेश अधिवेशनका लागि सबैभन्दा बढी प्रतिनिधि सुर्खेतबाट छानिने भएका छन् । कर्णाली प्रदेशका १० ओटा जिल्लाबाट कुल ६ सय जना प्रतिनिधि छानिएर आउन लाग्दा सुर्खेतबाट मात्रै एक सय १२ जना प्रतिनिधि छानिएर आउन लागेका हुन् ।
सुर्खेतबाट खुल्लातर्फ ३० महिला, ५६ पुरुष छानिँदा दलिततर्फ नौ महिला र १८ पुरुष गरी एक सय १२ जना छानिने भएको प्रदेश पार्टी सचिव टेकराज पछाँईले जानकारी दिए । सुर्खेतमा आठ हजार पाचँ सय ५५ जना संगठित सदस्य रहेको र सोही आधारमा ती प्रतिनिधि छानिने भएका हुन् ।
यसैगरी जाजरकोटबाट ७५ जना प्रतिनिधि चयन भएर आउन लागेका हुन । जाजरकोटमा पाचँ हजार तिन सय ७६ जना संगठित सदस्य रहेको एमाले तथ्याङ्कमा उल्लेख भएअनुसार खुल्लाबाट महिला १८, पुरुष ३८ एवम् दलिततर्फबाट ६ महिला र १३ पुरुष प्रतिनिधि छानिएर आउन लागेका हुन् ।
यस्तै, दैलेखबाट खुल्लातर्फ २० महिला तथा ३९ पुरुष छानिनेछन् । दलिततर्फ पाँच महिला र ८ पुरुष गरी ७२ जना छानिनेछन् । दैलेखमा एमालेका संगठित सदस्यसंख्या ५ हजार ७ सय १ रहेको छ ।
सबैभन्दा कम प्रतिनिधि रुकुम पश्चिमबाट
सबैभन्दा कम प्रतिनिधि रुकुम पश्चिमबाट छानिने भएका छन् । कुल एक हजार सात सय ८५ जना संगठित सदस्य रहेको यो जिल्लाबाट ६ महिला र १२ पुरुष खुल्लाबाट आउनेछन् भने दुई महिला र तिन पुरुष दलिततर्फबाट आउनेछन् ।
मुगुमा एमालेका दुई हजार चार सय ७८ जना मात्रै संगठित सदस्य रहेका छन् । यो संख्याको आधारमा जिल्लाबाट खुल्ला महिलातर्फ आठ, पुरुषतर्फ १७ जना छानिँदा दलिततर्फ दुई महिला र ६ पुरुष गरी जम्मा ३२ जना प्रतिनिधि छानिनेछन् ।
हुम्लाबाट ४८ जना प्रतिनिधि छानिएर आउने भएका छन् । चार हजार एक सय ९२ जना संगठित सदस्य रहेको हुम्लामा १३ महिला २९ पुरुष खुल्लातर्फबाट आउनेछन् भने दलिततर्फबाट दुई महिला र चार पुरुष गरी कुल ४८ जना छानिएर आउने भएका हुन् ।
कालिकोटबाट ६५ जना प्रतिनिधि छानिएर आउने भएका छन् । जसमा १६ महिला, ३३ पुरुष खुल्लाबाट आउनेछन् भने दलिततर्फबाट पाचँ महिला र १० पुरुष गरी कुल ६५ जना छानिएर आउनेछन् । यहाँ चार हजार नौ सय ७८ जना संगठित सदस्य रहेका छन् ।
तिन हजार आठ सय ६६ संगठित सदस्य संख्या रहेको जुम्ला जिल्लाबाट ४६ जना छानिएर आउने भएका हुन् । सचिव पछाईका अनुसार १३ महिला, २५ पुरुष खुल्लाबाट छानिँदा दलिततर्फबाट दुई महिला र ६ पुरुष गरी ४६ जना छानिनेछन् ।
तिन हजार चार सय ३४ जना संगठित सदस्य रहेको डोल्पाबाट ३९ जना प्रतिनिधि आउन लागेका छन् । प्रदेश अधिवेशनकालागि ११ महिला, २३ पुरुष खुल्लाबाट र तिन पुरुष, दुई महिला दलिततर्फबाट आउन लागेका हुन् ।
सल्यानबाट ३८ जना सहभागी हुने भएका छन् । दुई हजार नौ सय ७८ जना संगठित सदस्य रहेको यो जिल्लाबाट महिलातर्फ आठ, पुरुषतर्फ २२ र दलिततर्फ महिला दुई र पुरुष ६ जना गरी ३८ जना प्रतिनिधि छानिएर आउने भएका हुन् ।






