बौद्ध ग्रामीणले शुरु गर्यो सदस्यहरुमा उद्यमशिलता विकास अभियान

सुर्खेत, २८ चैत्र ।
बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर–९ ले दुई बर्षे कार्ययोजनासहित उद्यमशिलता विकास अभियानलाई अघि बढाएको छ । संस्थाले पहिलो चरणमा संस्थाका शाखा प्रमुखहरुलाई लक्षित गरी उद्यमविकास प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रम आयोजना गरेको हो ।
संस्थाको केन्द्रिय कार्यालयमा उद्यमशिलता विकास प्रशिक्षक प्रशिक्षण कार्यक्रम मंगलबारदेखी वीरेन्द्रनगरमा शुभारम्भ गरिएको छ । प्रशिक्षण चैत्र २८ देखि ३० गतेसम्म सञ्चालन हुनेछ । स्वावलम्बन विकास केन्द्र, काठमाण्डौको पहलमा नेपालभरीका लघुवित्त कार्यक्रम सञ्चालन गर्ने संस्था र सहकारी संस्थाहरु गरी १८ वटा संस्थाहरुको सहकार्य आउँदो दुई बर्ष भित्र मुलुक भरीमा करीब पाँच हजार सदस्यलाई उद्यमी निर्माण गर्ने अभियान शुरु भएको हो ।
सुर्खेत जिल्लामा स्थापित भएर कर्णालीका ४ जिल्ला सुर्खेत, दैलेख, जुम्ला र जाजरकोटका ग्रामीण क्षेत्रहरुमा सहकारीको माध्ययमबाट बित्तिय सुविधा उपलब्ध गराउँदै आएको बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाले स्थानीय स्तरमा लघु उद्यमशिलता विकास गर्नको लागि दुई बर्षे उद्यमशीलता विकास अभियानको शुरुवात गरेको हो ।

संस्थाको केन्द्रिय कार्यालयमा आयोजना गरीएको उक्त कार्यक्रमको उद्दघाटन कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय सुर्खेतका रजिष्टार खुम प्रसाद सुवेदीले गर्नुभएको थियो भने कार्यक्रमको सभापत्वि संस्थाका अध्यक्ष सिंह बहादुर गुरुङ्गले गर्नुभएको थियो ।
साथै उक्त कार्यक्रममा स्वावलम्वन विकास केन्द्र, काठमाण्डौका अधिकृत चन्द्रकान्त पण्डित विशेष अतिथि रहनुभएको थियो । कार्यक्रममा संस्थाका सचिव पासाङ्ग महत्तरा लगायत सञ्चालक समितिका सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।

कार्यक्रम शुभारम्भमा संस्थाका कार्यकारी प्रमुख बिशाल के.सी.ले कार्यक्रको उद्देश्य स्थानिय स्तरमा रहेको लघुउद्यमलाई व्यवस्थित र व्यावसायिकता प्रदान गर्नको लागि पहिलो चरणमा उद्यमशिलता विकास अधिकारी तयार गरिनेछ ।
उक्त प्रशिक्षकहरुले दोस्रो चरणमा उद्यमशीलता सम्बन्धि डाटा संकलन गरी सदस्यहरुका पेशा व्यावसाय अनुसार वर्गिकरण गरी एउटै पेशा व्यावसाय भएका उद्यमीहरुलाई २०÷२० जनाको समुह निर्माण गरी उद्यमशीलता विकास गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
कार्यक्रमको उद्दघाटन सत्रमा प्रमुख अतिथि कर्णाली प्रदेश, सहकारी रजिस्टार खुम प्रसाद सुबेदीले सहकारी संस्थाहरुले राज्यद्वारा दिएका निति नियम र निर्देशनको पालना गर्दै कार्यहरु गर्नुपर्ने, स्थानिय स्तरमा उत्पादन बृद्धि हुने क्रियाकलापमा केन्द्रित भई स्वरोजगार श्रृजना र लघुउद्यम विकास गर्नकालागि सहकारी संस्थाहरु योजनाबद्ध हिसाबले अघि बढनुपर्ने वताउनुभयो ।

त्यसैगरी कार्यक्रममा संस्थाका अध्यक्ष सिंह बहादुर गुरुङ्गले बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था २५ जना सेयर सदस्यहरुको एकबद्धताबाट शुरु भएको र हाल ६४००० सेयर सदस्यको सहकारी संस्थाको रुपमा रहेको बताउँदै बौद्ध ग्रामीणले स्थानिय स्तरमा स्वरोजगार श्रृजना गर्न र गरीवि न्यूनिकरण गर्नमा थुपै योगदान दिएको यस्तै कार्यक्रमका माध्ययमबाट अझै व्यवस्थित गरी अघि बढ्न सकिने बताउनुभयो ।






