शिक्षिका हुनुमा गर्व गर्ने अमृता

सिर्जना बुढाथाेकी
सुर्खेत,२६ पाैष ।
बाल्यकालः
वि.सं. २०३५ सालको माघको महिना सुर्खेत जिल्लाको साविक गढी गा.वि.स वडा– ६ हालको वीरेन्द्रनगर–१४ मा भएको हो । मेरो बुवाले आफुलाई मनपर्ने नाम भन्दै मेरो नाम अमृता राखी दिनुभएको रहेछ । म सानै उमेरदेखि दाजुभाई र मेरा दिदीबहिनी भन्दा भिन्न थिएँ ।
म अलि सबैसंग घुलमिल हुने, भिडभाडमा जान मन गर्ने अनि समाजमा भएका क्रियाकलापमा संलग्न हुने र चासो राख्ने स्वभावकी थिएँ । मेरो बुवा समाजमा अलिकति अग्रज, राजनीतिक रुपमा पनि अग्रसर र समाजसेवीको रुपमा परिचित भएकाले पनि बुवाको स्वभाव यसमा गयो भन्ने गर्थे मेरा आफन्त र छिमेकीहरु ।

मेरी आमा भने शुद्ध गृहिणी हुनुहुन्थ्यो । हामी मध्यम वर्गीय परिवारका थियौ, बुवाको जागिर नभएपनि पहिलाका पुर्खादेखि रहेका खेतीकिसानी गरेरै राम्रैसंग गुजारा चल्थ्यो । मेरो परिवार पनि कृषि नै गरेर चल्थ्यो । हामी छोराछोरीले पनि बुवाआमालाई सघाउँथ्यौ काममा अनि बाँकी समय पढ्ने गथ्र्याै ।
त्यस्तो अभावनै भोग्नुपर्ने अवस्था त थिएन, तर अहिलेको छोराछोरी जस्तो हरेक ईच्छा अनि चाहना भने परिपूर्ति हँुदैन थिए । मैले गढीकै ने.रा.प्रा.वि.राम्चे भन्ने विद्यालयमा कक्षा एकदेखि ५ सम्म पढे । त्यसपछि सरस्वती मा.वि शिरुपाटा भन्ने विद्यालयमा मैले ६ कक्षा देखि ९ कक्षासम्म पढे । कक्षा ९ मा पढ्दै थिए, मेरो विवाहको कुरा चल्यो घरमा जुन समय म १६ वर्षकी मात्रै थिएँ ।

अहिले जस्तो बालविवाह, छिटो विवाह गर्नुका फाइदा, बेफाईदा जस्ता कुराको बारेमा जानकारीनै हामीलाई थिएन् । परिवारले जुन समयमा उचित ठान्यो त्यहि समयमा विवाह गर्ने र जे भन्यो तेहि मान्ने अवस्था थियो हाम्रो समयमा । यसरी मेरो विवाह भयो । मेरो श्रीमान्को नाम रुद्रप्रसाद सापकोटा हो ।
विवाहपछि नयाँ घर, नयाँ ठाउँ, नयाँ परिवेश र विद्यालय अनि साथीसंगी पनि भिन्नै हुँदा एक्लोपन महशुस भने हुन्थ्यो । अनि जुन छोरी हुँदा समय, पढाई हुन्थे त्यो बुहारी भएपछि अलि असहज भयो । मेरो परिवार बुझ्ने थियो मलाई विवाहपछि पुनः पढ्नका लागि साथ दियो र फेरि विद्यालयमा पुर्यायो ।
अमरज्योति मा.वि नेवारेमा पुनः कक्षा दशमा भर्ना भएँ । तर बुहारी भैसकेपछि घरको कामधन्दा, चुलोचौकोदेखि परिवारको रेखदेख अनि पढाई सबैसंगै लग्नुपर्ने अवस्थाले भने जस्तो पढाईलाई समय भने हुँदैन थियो । जसोतसो पढेर अमरज्योति मा.वि नेवारेबाट मैले एस.एल.सी राम्रै अंक ल्याएर पास गरे ।

समाजसेवा र रेडक्रसमा जोडिएः
मलाई सानै उमेरदेखि अलि जस लिने खालको, कसैले झट्ट हेर्दा देखिने खालको काम गर्नुपर्ने स्वभावको थिएँ । काम गर्न मन लाग्ने तर काम गरिसकेपछि फलानोले यो काम ग¥यो भन्ने खालको चर्चा मलाई चाहिने । भाईबहिनी भएकाले पनि मलाई सानातिना घरका काममा भने प्रेसर परेन तर घरमा देखिने खालको काम स्याब्बासी पाउने काम भने गर्नुपर्ने मलाई ।
सानै उमेरमा बुवाआमाले विवाह गरिदिए भन्ने ईख मनमा लिएर मैले विवाहले मेरो काम, मेरा ईच्छा अनि कर्म रोकिनु हुँदैन भन्ने सोचेर मैले समय मिलाएर कामहरु गर्दै गएँ । गढीमा रेडक्रसको उपशाखा गठन हुने भन्ने रैछ मैले पनि उतै जागिर गर्थे । मलाई त्यति बेलासम्म रेडक्रसका बारेमा केहि पनि जानकारी थिएन । उपशाखा गठनका लागि आजीवन सदस्य पचास जना चाहिने रहेछ ।

त्यो उपशाखामा उमानन्द भण्डारी भन्ने सर हुनुहुन्थ्यो उहाँले मलाई जसरी पनि तपाई सदस्य बस्दिनुपर्ने भयो भन्नुभयो । त्यो समयमा एक हजार ५० रुपैयाँ सदस्य बने शुल्क तिरेर सदस्य बन्नुपर्ने रहेछ । मलाई त्यहि पैसा पनि जुटाउनु समस्या भयो । भर्खरै जागिर खाएको, बालबच्चा सानै, पैसानै नहुने तर पनि मैले सदस्य बनाईदिनुस् म पछि पैसा दिन्छु भनेर एक महिनापछि पैसा दिए ।
तर त्यो दिनको समस्या होइन् आज मलाई रेडक्रसले यति बुझ्ने बनाएको छ कि मेरो जीवनको आधा सफलता त रेडक्रसले मलाई दिएको छ । सदस्य बनेको २ वर्षमा म सचिव भएँ । रेडक्रसका सिद्धान्त, हरेक गतिविधिहरु मलाई मन परेपछि मैले रेडक्रसका हरेक पाटोहरुको अध्ययन गर्दै गए । मैले दुई कार्यकाल सचिव भएरै चलाए । त्यसपछि जिल्ला आएँ । अहिले म प्रदेशको सदस्य छु । मलाई फर्वाड बनाउन मुख्य हात रेडक्रसकै छ ।
शिक्षिका यसरी भएः
मेरो माईती मात्रै होइन घरतिरको परिवारपनि मध्यम वर्गीय हो । मेरो श्रीमान् पनि पेशाले शिक्षक भएकाले मलाई पनि शिक्षिका हुनुमा सहायता मिलेको हो । वि.सं. २०५४ सालको चैत्र महिनामा एस.एल.सी दिएँ मैले र त्यसपछि २०५५ को असार १५ गते रिजल्ट आएको हो त्यहि समयमा मैले पास गरे ।
त्यसको पाँच दिनपछि २० गते मेरो छोरो जन्मियो । त्यसपछि त्यसको १० दिनपछि भदौ १ गते देखि मैले शिक्षिका पेशामा जोडिएँ । साविकको गढी वडा–२ रानीमत्तामा मैले काम शुरु गरे । त्यहाँ शिक्षिकाको लागि दरबन्दी खुलेको भन्ने थाहा पाएर म दश दिनको सुत्केरी मान्छे काम गर्न सुरु गरे ।
महाकाली प्रा.वि. रानीमत्तामा मैले आप्mनो काम शुरु गरे । यसरीनै काम गर्दै गर्दा मेरो छोरी पनि उतै जन्मिइन् । त्यसरीनै जागिरमै हुँदा मेरो कान्छो छोरा पनि जन्मियो र मेरो अहिले तीन वटा सन्तान छन्, दुई छोरा एक छोरी । काम, घर परिवार संगसंगै लैजादै मैले संघर्ष गरे ।
मेरो जीवनको एक अध्याय त्यहा पूरा भएको हो । त्यति ठूला समस्या त आजका दिनसम्म भगवानको कृपाले भोग्नुपरेको छैन तर सानातिना उतारचढाव भने जीवनमा सबैको आउँछन्, धैर्यताका साथ अगाडि बढ्नुपर्ने हुन्छ । पहिला आयोग थिएन २०५५ सालमा जुन बेला म जागिरमा थिएँ त्यो अस्थायी थियो त्यसरीनै मैले २०६३ सालसम्म जागिर खाएँ ।
अनि २०६३ सालमा मैले आयोगमा नाम निकालेर स्थायी भएँ । स्थायी भैसकेपछि म २०७१ सालको पुष महिनामा शिव मा.वि लाटिकोइली स्कुलमा एक जना मेडमले जागिर छोडेपछि यता सरुवा भएर आउने मौका पाएँ । अहिले मेरा छोराछोरी काठमाण्डौंमा पढ्दै छन् । ठूलो छोरा कम्प्युटर इञ्जिनियर हो, उनले पढेर सकिसके ।
छोरी बीबीएस दोस्रो वर्षमा पढ्दैछिन् र कान्छो छोरा पनि कम्प्युटर इञ्जिनियरनै पढि रहेका छन् । मेरो श्रीमान् पनि शिक्षक हो तर उहाँ अहिले मध्यपश्चिम विश्वविद्यालयमा अध्यापन गराउनुहुन्छ । अब मेरो जागिरबाट रिटायर्ड हुन मात्रै ४ वर्ष बाँकी छ । त्यसपछि मैले समाजसेवालाई नै अगाडि बढाउने योजना बुनेको छु।
छोराछोरी पनि आफ्नाे जीवनमा व्यस्त हुन्छन् । समाजमा समस्या परेका दुःखी गरिबको दैलोमा पुग्ने र सेवा गर्ने योजना बनाएकी छु। यसमा मेरो सन्तुष्टि मात्रै हुनेछ कुनै स्वार्थ हुने छैन् । मलाई सेवा गरेर राजनीति गर्नुपर्ने भन्ने छैन् । मेरो बालापनबाटै मनमा भएको सबैको सेवा गरौ भन्ने भावलाई पूरा गरेर आफु खुशी हुन चाहन्छु।
अमृता सापकाेटा, ( शिक्षिका )
वीरेन्द्ननगर- १४, सुर्खेत






